पुग्न मन छ यी सहरका कोलाहलबाट
निश्चित शून्यताको एकान्तमा
केही बेग्लै परिवेशको परिकल्पनासँगै
एक्लै एकान्त मौनताको मोल खोज्न
मलाई हेर्न मन छ हावाको त्यो हल्का स्वरुप
मलाई जल्न मन छ जसरी जलाउँछ निःस्वार्थ चिता सरी
अहंकारको आगोमा जलेका अहंकारीको चिता हेर्दै
खोज्ने छु तिम्रो बचेका अवशेषहरूमा अहंकारी अस्तुहरू
जब म पानीका पाताला छालहरूले बगाएका ठूला पहाडका अवशेष हेर्नेछु
तब जान्ने छु जीवनको वास्तविक रुप
जब म भोकाएका निमुखाले खाएका पाउरोटीको टुक्रा देख्दछु
तिनका आँखाले देखाउने छन् मलाई सन्तुष्टिका स्वरुप
हिँड्दाहिँड्दै बिसौनीमै छुटेको मानवताको
त्यो रुपको भान तब पाएँ
जब एम्बुलेन्सको आवाजले खोस्री ननसकेको सहरको बाटो देखेँ
लाटा सरी हिँडिरहेका बाठा देखेँ
मैले धेरैथोक देखेँ मेरो एकान्तमा
भोकले खरेका, रोगले थलेका पाएँ
म त, मेरो दु:ख त तिनका सामु शून्य रहेछ
मेरो ज्ञान त अपूग रहेछ।