मेरो गाउँ अझै उस्तै छ जस्तो लाग्छ
जहाँ आजभन्दा धेरै पहिला मैले छोडेको थिएँ
कुनै व्यवस्थाले पनि परिवर्तन ल्याउन सकेको छैन होला
ती गरिब अनि निमुखाको जीवनमा
न त कुनै शिक्षामा नै प्रगति गरेको छ होला मेरो गाउँको जनताले
न त आर्थिक उन्नति नै भएको छ होला ती जनताको
न त नैतिक शिक्षा कुनै पाठ्यक्रममा थपिएको छ होला
तर म गलत रहेछु
जब म मेरो गाउँ पुग्छु
अनि देख्छु आफ्नै आँखाले
तर पनि मेरो गाउँको प्रगति भएको छ
मेरो गाउँको विकास द्रुत गतिमा भएको छ
यत्रतत्र विकाससँगै उपलब्धी हात लागेको छ
जताततै बाटो पुगेको छ
कच्ची नै किन नहोस
घर-घरमा पानीको धारा पुगेको छ
पानी होस या नहोस
जताततै बिजुली पुगेको छ
तार नै मात्र टाँगिएर पनि किन नहोस
सिँचाइका लागि आधुनिक आकाशे पानी संकलनका लागि
ठाउँ-ठाउँमा पोखरी, ड्याम तयार गरिएको छ
पानी संकनल होस या नहोस
केटाकेटीदेखि बुढाबुढी सबैको हातमा मोबाइल छ
डाटाको सहयोगबाट प्रशस्त इन्टरनेट सेवा उपलब्ध छ
चाहे खल्ती रित्तो होस या सापटी होस
प्रत्येक युवासँग मोटरसाइकल छ
लाइसेन्स होस या नहोस
धाराको पानी बगेर खेर गएको छ
बोतलको पानी पिउन योग्य होस या नहोस
वनजंगल हरियाली भएको छ
रुखहरू काटिन्न दाउराको लागि
न त गुइँठा नै जम्मा गर्नुपर्ने झन्झट
वातावरण स्वच्छ भएको छ
घरघरमा ग्यासचुलो छ
ग्यास होस या नहोस
गरिब जनता भोका छैनन्
बरु बेरोजगार छन्
फुर्सदिला भने पटक्कै छैनन्
किनकि
फेसबुक, टिकटक, इन्स्टाग्राम अनि युटुबमा व्यस्त छन्
र त लाग्छ
अनि अचम्म लाग्छ
मेरो गाउँको विकास त द्रुत गतिमा पो भएको रहेछ।