नेपालको धेरैजसो जातजाति र समुदायमा भोजको विशेष महत्व छ। झन् मधेसमा त भोजको रौनक र भोजसँग सम्बन्धित रोचक प्रसंगहरू कति छन् कति। एउटा यस्तै भोजको प्रसंग आज पनि चल्ने गर्छ बेलाबेला तराईको एउटा सिमान्तिकृत गाउँमा।
एउटा धनाढ्य उपल्लो जातको पूर्व-प्रधानपञ्चको देहान्तपछि श्राद्धको भोज थियो त्यो। त्यो भोजको निम्तालु को थिएन होला। त्यति बेलाको अञ्चलाधीश, सरकारी सेवाका बडाहाकिमहरू, सयौँ प्रधानपञ्च त्यो भोजका विशेष पाहुना थिए।
वरिपरिका दसौँ गाउँका आफ्ना जातिका समुदायलाई निम्ता पठाइएको थियो। यसका साथै यो भोजको विशेषता के थियो भने यसमा त्यस गाउँ प्रत्येक जाति र वर्णका व्यक्तिलाई निम्ता गरिएको थियो। मधेसका कति गाउँहरूमा आज पनि ठूलाबडाको देहान्तमा गाउँका सबै जातिलाई निम्ता गरेर भोज खुवाउने चलन छ।
तेह्रौँ दिनको श्राद्धकर्म सकेर भोज खुवाउने कार्य जोडतोडले चलिरहेको थियो। आँगन भित्रको ठाउँमा र वरन्डाहरूमा ठूलाबडा व्यक्तिहरूलाई खुवाइँदै थियो। त्यसैगरी आफ्नो र छरछिमेकहरूको घर बाहिरको ठाउँहरूलाई सफा पारी अन्य जातिहरूका लागि बसेर खाने व्यवस्था मिलाइएको थियो। त्यही मध्येको कुनै ठाउँमा बसेर खान आफ्नो पालो कुर्दै थिए त्यही गाउँको एक कुनामा सानो झुपडी भएका बुद्धु मुखिया।
बुद्धु मुखियाको आर्थिक अवस्था सधैँ आजको जस्तै थिएन। कोसी किनारमा पुर्खौली घर भएका मुखियासँग कुनै समय आफ्नै तीन कठ्ठाको घडेरी बाहेक दुई बाली लाग्ने मोटामोटी एक बिगाहा जागा थियो। तर केही वर्षअगाडि आएको कोसीको बाढी उनको घर र खेत भएर बग्यो।
आजको दिनमा बालुवाको रासमा आफ्नो खेत कहाँ थियो भनी छुट्याउन गाह्रो पर्छ मुखियालाई। त्यो बाढीको घटनापछि आफ्ना एकजना आफन्त पर्नेको सहारामा अहिले बस्दै आएको गाउँ आइपुगेका छन् बुद्धु मुखिया स-परिवार। बस्नलाई आफन्तकै घर नजिक बाटो छेउमै एउटा झुपडी बनाएका छन् भने गुजारा गर्नका लागि कहिले माछा मार्ने गर्छन् भने कहिले ज्याला मजदुरी गर्छन्।
ठूलोबडाकै घरमा भोज खान पाइने भएसी आज बुद्धु नि मख्ख भएर आफ्नो पालो कुर्दैछन्। भोज खानलाई नै नजिककै गाउँबाट बोलाएको आफ्नो सम्धीसँग गफिँदै छन् उनी। अरु सब अहिलेलाई ठिकठाक देखिए पनि एउटा समस्याले बुद्धुलाई पिरोलिरहेको छ, त्यो हो उनको खाली खुट्टा।
पुस-माघको जाडो याममा खाली खुट्टा उभिरहँदा उनी आफ्नो पैताला कठाङ्ग्रिएको महसुस गर्दै थिए। घरमा पसेको बाढीले चप्पल बगाएसी अर्को जोडी चप्पल किन्न नसकेको मुखियालाई चप्पल नभएको पीर आजजस्तो कहिले भएको थिएन। यसको एउटा कारण बुद्धुको नजिकै खाना खान गएका मान्छेहरूले फुकालेर राखेको यत्रतत्र सर्वत्र छरिएका चप्पलहरू पनि थिए।
रातको अँध्यारोमा अरुबाट नजर लुकाई एक-एक चप्पल निहारिरहेका थिए मुखियाले। एकातिर यति धेरै चप्पलबाट एक जोडी चप्पल मैले लगाएर हिँडेमा कसले पो थाहा पाउला भन्ने सोच आउँदै थियो भने अर्कातिर आजसम्म नगरेको चोरी गर्नु हुन्न भने सोच नि उत्पन्न हुँदै थियो।
अन्त्यमा अभावले इमानमाथि विजय हासिल गर्यो र बुद्धु मुखियाले खाना खाइसकेपछि कसैले नदेख्ने गरी आफ्नो खुट्टासँगै एक जोडी चप्पल लैजाने निर्णय गरे।
आफ्नो पालो आइसकेपछि बुद्धु मुखिया आफ्नो जातिभाइसँग बसेर भोज खाए। गाउँकै सबभन्दा धनी र नामी परिवारले आयोजना गरेको भोज थियो जुन कुरा भोजमा पस्किएको परिकार, र अन्य व्यवस्थापनले पनि पुष्टि गर्थ्यो। आज धेरैपछि उत्कृष्ट परिकारहरू अघाउन्जेल खान पाएकोले होला मुखिया केहीबेर भावुक पनि भए।
चप्पल चोर्ने कि नचोर्नेमा फेरि अलमलमा परे। तर उनको कठ्याङ्ग्रिएको खुट्टाले उनको भरिएको पेटबाट तातो अनुभूति गर्न सकेन। उनले एकचोटि सोचे पनि कि यस्ता धनीहरूले यसरी एक साँझ भोज खुवाउनु भन्दा त्यही रकमले हामीजस्ता गरिब असहायलाई आवश्यक वस्तुहरू दान गरिदिने भए सायद यिनका पूर्खाले चीर शान्ति पाउँथे होला र मैले आज चप्पल चोर्नु पर्ने नि थिएन होला।
भोज खाइसकेपछि हातमुख धोएर उनी पनि अरु निम्तालु सरह आफ्नो चप्पल लाउने गरी सबैले चप्पल फुकालेर राखेको ठाउँतिर लागे। जिन्दगीमा कहिले केही नचोरेको मुखियाको मुटु ढक-ढक धड्किरहेको थियो। पुसको जाडोमा पनि यिनले आफ्नो हत्केलामा पसिना महसुस गरे। तर पनि उनी आफ्नो लक्ष्यबाट डगमग भएन।
आफूलाई पछि राख्दै खुट्टालाई मात्र अघि सार्दै मुखियाले आफ्नो बायाँ खुट्टा चप्पलको जमातबीच पुर्याए। आफूलाई ठिक्कको हुने गरी एउटा चप्पल फेला पारिसकेपछि उनको बायाँ खुट्टा चप्पलसहित फर्कियो र त्यही जोडीको चप्पल लिन दायाँ खुट्टा अघि सर्यो र त्यो पनि सफल भएर नै फर्कियो।
खुट्टाले चप्पल पाइसकेपछि मुखिया एक मिनेट नि त्यहाँ बस्न चाहेनन्। कसैले थाहा पाए घोर बेइज्जत हुने र गाउँ नै छोड्नु पर्ने अवस्था बारे उनी जानकार थिए। उनी आफूसँगै भोज खान आएका आफ्ना सम्धीलाई जाउँ-जाउँ ढिलो भयो भन्दै आफ्नो घरतिर लागे।
घर पुग्दा समेत मुखिया सामान्य भइसकेका थिएनन्। उनको मुटुको चाल तीव्र नै थियो भने मुहारमा खलबलाहट स्पष्ट देखिन्थ्यो। उनले कुरा आफूमा मात्र सीमित राख्न सकेनन् र आफ्नो सम्धीलाई बेलिविस्तार लगाए।
सम्धीलाई सुनाउने क्रममा उनको दिमागमा एउटा जुक्ति समेत फुर्यो। यो चप्पल उनले लगाउनैका लागि चोरेका थिए तर उनलाई हेक्का रहेन कि उनी चप्पल लगाएर हिँलड़ुल गर्दा समातिन सक्थे। उनलाई फुरेको जुक्तिअनुसार उनले आफूले चोरेको चप्पलसँग सम्धीको चप्पल साट्ने निधो गरे। यसरी उनको चोरी समातिन सक्ने सम्भावना सधैँको लागि सकिन्थ्यो।
उनको सम्धीले पनि नयाँ चप्पल पाउने भएसी उनलाई पनि यो प्रस्तावसँग कुनै आपत्ति थिएन। बिहान सम्धी जाँदा चप्पल गाउँ नकटुन्जेल कालो झोलामा बोकेर लाने र त्यसपछि मात्रै लगाउने उनीहरूले सल्लाह नि गर्न भ्याए र त्यही अनुरुप मुखियाले एउटा कालो प्लास्टिकको झोला पनि खोजेर ठिक्क पारे। त्यसपछि मात्र उनीहरू आ-आफ्नो स्थानमा सुते।
बिहान सम्धीलाई जान हतार थियो, त्यसैले हातमा चप्पल भएको कालो झोला भिरेर उनी उठ्न साथ निस्किहाले। आफ्नो चप्पल सम्धीको लागि छाडेकोले उनको खुट्टामा चप्पल थिएन। घरबाट केही पर पुगेका मात्र के थिए उनले गाउँलेहरू चप्पल बारे नै गाइगुई गरेको मेसो पाए।
हिजो राति पल्लो गाउँबाट भोज खान आएको प्रधानपञ्चको चप्पल चोरी भयो अरे, उनी राति असाध्यै रिसाएका थिए अरे, भोज आयोजना गरेको घरले उनलाई आफ्नै घरबाट एउटा चप्पल दिएर पठाए अरे जस्ता कुरा सुने। यसका साथै उनले चप्पल चोर पत्ता लगाउने लाई ५० रुपैयाँ इनाम र त्यो चप्पल समेत दिने भनेर घोषणा समेत भएको जानकारी त्यही भीड मध्येका एकजनाबाट थाहा पाए।
चप्पलसहित दुई रुपैयाँको एक बट्टा बिडी पाउने समयमा ५० रुपैयाँ पाउने भएसी उनले आफूलाई हिजो आयोजना बहेको घरतिर डोर्याए। घरको मूलीलाई बसाएर आफ्नो सम्धीले चप्पल चोरेको तर आफ्नो आत्माले यो कुरालाई राम्रो नमानेकोले सम्धी नउठ्दै आफू चप्पल लिएर आइपुगेको जानकारी गराए।
पूर्व घोषणा गरिएअनुरुप उनले चप्पल र ५० रुपैयाँ समेत पाए। सम्धीसँगको सम्बन्ध नराम्रो नहोस् भनेर आफ्नो नाम बाहिर नल्याइदिनु होला भनी बिन्ती गर्दै उनी आफ्नो गाउँतिर लागे।
कोसीमा बग्ने लागेकोलाई गाउँमा शरण दिएको त चोर पो रहेछ भनेर गाउँभरि खैलाबैला मच्यो। एक हुल मान्छे उनको घर पुगे। कतिले गाउँ निकाला गर्नुपर्छ भने त कसैले गाउँ निकाला नै नगरे पनि केही न केही सजाय दिइनु पर्छ भने।
अन्त्यमा बुद्धु मुखियाको परिवारलाई कुनै पनि सामाजिक भोजमा समावेश नगर्ने निर्णय भयो। तर त्योभन्दा नि दुर्भाग्यपूर्ण के रह्यो भने त्यस दिनदेखि बुद्धु मुखियाले एउटा नयाँ नाम पाए, उनलाई सबैले चप्पल चोर भनेर नै बोलाउँथे। उनी मात्र हैन उनको श्रीमती र दुई छोरा र बुहारीहरूले पनि यही नाम पाएका थिए।
समयसँगै मानिसहरूले त्यो घटना भुल्ने छन् र आफूहरूलाई चप्पल चोर भन्न छाड्ने छन् भन्ने विश्वास बुद्धुलाई थियो।
दिन, महिना, साल फेरियो तर बुद्धु र उनका परिवारलाई बोलाउने नाम भने फेरिएन। उनीहरूको परिवार ठूलो भएर नातिनातिनीहरूको समेत आगमन भएको थियो। कान्छो नातिको नाम उनले सुन्दर मुखिया राखेका थिए। त्यही सुन्दर मुखिया पाँच वर्षको हुँदा बुद्धु मुखियाले संसार छाडे। बुढेसकालमा समेत उनले आफ्ना परिवारका सदस्यलाई सके यो चप्पल चोरको कलंक मरणोपरान्त भए नि आफ्नो टाउकोबाट हटाउने प्रयास गर्नु भन्ने गरेका थिए।
बुद्धु बितेको पनि १०-१२ वर्ष भइसकेको थियो। सुन्दर मुखिया १७-१८ वर्षमा पाइला टेक्दै थिए। उनका परिवार चप्पल चोर भन्नेहरू घट्दै गएता पनि कुनै सामान्य वादविवाद हुँदा नि सबैले सुन्दरको परिवारका सबैलाई चप्पल चोर भनेर आज गिज्याउँथे।
यो कुरा सुन्दरलाई पटक्कै मन परेको थिएन। उनलाई गाउँ बस्न मन लाग्न छोडेको थियो। तर गरिबी र अभावले २-३ कक्षा पढ्दा नै स्कुल जान छोडेका सुन्दरसँग कहाँ जाने होला, कस्तो काम पाइएला भन्ने प्रश्नहरूको उत्तर नहुँदा उनले गाउँ छाड्न सकेका थिएनन्। एक दिन छिमेकी सँगको सानो विवादमा फेरि चप्पल चोरकै कुरा निस्केपछि उनी काठमाडौँ गएर आफ्नो भविष्य खोज्ने भनेर त्यहीँ दिन गाउँ छाडे।
साउन/भदौको महिना भएकोले केही दिनयता माछा बेचेर उनले तीन हजार रुपैयाँ जति जम्मा पारेका थिए। उनलाई थाहा थियो यो पैसाले उनलाई काठमाडौँसम्म पुर्याउन सक्छ।
उनी गाउँबाट राजविराजको लागि चल्ने सानो जिप चढेर राजविराज पुगे। राजविराजबाट काठमाडौँको लागि गुड्ने नाइट बसमा उनले झ्याल तिरको सिटको टिकट काटे। बस ७ बजे छुट्ने भएकोले त्यस अगावै उनले खाना खाएर आफ्नो सिटमा गएर बसे। यो उनको पहिलो नाइट बस र काठमाडौँको यात्रा थियो। त्यसैले उनमा रोमान्च, कौतूहलता र भयको वेग चलिरहेको थियो। गाडी निर्धारित समयमा गुड्यो।
बस गुडेको लगभग ३ घण्टा भइसकेको थियो। ढल्केवरमा केही बेर रोकेर बस अगाडि के बढ्न लागेको थियो, उताबाट अनियन्त्रित भइ आएको कार बसमा ठोक्कियो। बसभित्र कोलाहल मच्चियो तर एकछिनपछि हेर्दा बस निम्न गतिमा रहेकोले होला २/४ जनालाई सामान्य चोटपटक लाग्नु बाहेको कसैलाई केही बाहेको थिए।
तर उता कार भने उछिटिएर खेतमा गएर पल्टेको थियो। ट्राफिक प्रहरी आइपुगेको थियो र कानुनी प्रक्रिया अगाडि बढाउन बसलाई आफ्नो जिम्मामा लिन आँटेको थियो भने यात्रुहरूलाई गन्तव्यमा पुर्याउन अन्य व्यवस्था गरिँदै थियो।
यता सुन्दरको मन भने कारमा सवार मानिसहरूको अवस्था के होला भन्ने तिर नै थियो। के गर्ने कसो गर्ने भन्ने बारे एकछिन अलमल परेपछि उनी कारमा भएका मानिसहरूको केही सहायता गर्न सकिन्छ कि भनेर उतै तिर लागे।
कारमा जम्मा दुई जना सवार थिए। पछाडि बसेका मानिस अर्धचेत अवस्थामा थिए भने गाडी चालक होसमा थिए र फोन गर्नमा व्यस्त देखिन्थे। उनले आफूले एम्बुलेन्सलाई फोन गरेको र जुनसुकै समयमा आइपुग्ने बताए।
उनले त्यहाँ जम्मा भएकाहरूसँग ती अर्धचेत व्यक्तिलाई गाडीबाट निकाल्न सहयोग मागिरहेका थिए। तर कोही अगाडि बढ्न मानेका थिएन। सुन्दर अघि सरे र चालकले भने जसरी गरेर ती व्यक्तिलाई गाडी बाहिर ल्याए।
त्यतिकैमा एम्बुलेन्स आइपुग्यो। सुन्दर पनि कार चालकसँग एम्बुलेन्समा सवार भए। हस्पिटल पुग्न साथ अर्धचेत व्यक्तिलाई आकस्मिक कक्षमा भर्ना गरियो भने चालकलाई सामन्य मल्हमपट्टी गरियो। सुन्दर त्यहीको एउटा बेन्चमा बसेर सब नियाली रहेका थिए र बेलाबेला नर्सले अह्राएका काम पनि गरिरहेका थिए।
भर्ना भएको १-२ घण्टापछि डाक्टरले अर्धचेत व्यक्ति खतरामुक्त रहेको र बिहानसम्ममा कुरा गर्न लायकको हुने भनेपछि चालकसँगै सुन्दरको मुहारको रंग फेरियो। उनीहरू सँगैको चमेना गृहमा चिया खाँदै गफिन थाले। त्यो अर्धचेत व्यक्ति ठूला उद्योगहरूको मालिक रहेको कुरा सुन्दरले चालकबाट जानकारी पाए। आफ्नो गन्तव्य भुलेर सहयोग गरेकोमा चालकले सुन्दरलाई धन्यवाद पनि दिए। उनले बिहान आफ्नो मालिकलाई भेटेर मात्र जान सुन्दरलाई अनुरोध पनि गरे।
रातको तीन बजिसकेको थियो। त्यही रहेको एउटा बेन्चमा सुन्दर पल्टिए र अर्कोमा चालक। विगतका ५-६ घण्टा भएको घटनाहरू सुन्दरका आँखाअगाडि आउन थाले। अब त उनीसँग काठमाडौँ पुग्ने पैसा पनि पुग्दैन होला भन्ने कुरा सोचेर सुन्दरलाई नमज्जा लाग्यो। अब जे होला बिहान देखाजाला भनेर सोच्दा सोच्दै सुन्दर कुन बेला निदाए पत्तै पाएन।
बिहान भयो, उठ भनेर कसैले ज्यान हल्लाएर बोलाएपछि मात्र सुन्दर झल्यास ब्युँझिए। उठाउने मान्छे त्यही चालक रहेछ।
'मालिकलाई होस आइसक्यो, मैले तिमीले गरेको सहयोगको बारेमा भने उहाँ एकदम प्रभावित हुनुभयो र तिमीलाई भेट्न आँतुर हुनुहुन्छ जाउँ भित्रै,' यी सब कुरा चालकले एक श्वासमा भन्न भ्याए।
सुन्दर चालकसँगै भित्र गए। चालकको मालिक ओछ्यानमा अडेस लागेर ओछ्यानसँगै रहेको टेबलमा राखिएको प्लेटबाट काटिएर राखिएको फलफूल खाँदै थिए, सुन्दरले दुवै हात जोडेर नमस्कार गर्दै तपाईंलाई सकुशल देखेर मलाई एकदम खुसी लागेको छ भने।
ती व्यक्तिले पनि नमस्कार फर्काए। 'हिजो तपाईंले सहयोग नगरेको भए र मलाई समयमै यहाँ नल्याई पुर्याएको भए, के थाहा आज म यस्तो अवस्थामा नहुन पनि सक्थेँ,' कृतज्ञता व्यक्त गर्दै ती व्यक्तिले भने।
'ल तपाईंको बारेमा सुनौँ न बरु, के गर्नु हुन्छ? घर कता हो तपाईंको? हिजो त्यो समयमा कहाँबाट आइपुग्नु भयो?' ती व्यक्तिले यी सबै प्रश्न एकैसाथ राखे।
'मेरो नाम सुन्दर मुखिया हो। मेरो घर सप्तरी जिल्लामा पर्छ। म सामान्य परिवारको अति सामान्य मान्छे हुँ। हिजो म घर छाडेर कामको खोजीमा काठमाडौँ जाँदै थिएँ। म चढेकै बससँग तपाइईं सवार कार ठोकिन्न पुग्यो र म केही सहयोग गर्न सकिन्छ कि भनेर तपाईंको कारसम्म पुगेँ र यहाँसम्म आइपुगेँ।'
'ओहो! कामको खोजीमा पो हिँड्नु भा'थ्यो, ल केही छैन, कामको बन्दोबस्त म मिलाउँछु,' ती व्यक्तिले सुन्दरलाई भने, 'मेरा सिमेन्ट, चाउचाउ र चप्पलको गरी तीन वटा उद्योग छन्, ल भन्नुस् कुनमा काम गर्न रुचाउनु हुन्छ?'
सुन्दरलाई एकछिन पत्यार लागेन। आफू सपनामै भएजस्तो लाग्यो तर उनी वास्तविकतासँग अवगत थिए। उनले आफ्नो हजुरबुवालाई सम्झे। उनको परिवारलाई गाउँलेले दिएको चप्पल चोरको नामलाई सम्झे। सायद चप्पलकै माध्यमबाट हो कि उनले आफ्नो परिवारमाथि लागेको दाग मेट्न सक्ने भनी ठानेर उनले मनमनै पाएको खण्डमा चप्पल कारखानामै काम गर्ने निर्णय गरेँ।
दुवै हात जोडेर ती व्यक्तिसँग भने, 'हजुर, हुन त मैले कुनै लोभ राखेर सहयोग गरको हैन, र यसरी यहाँ तपाईंसँग मलाई काम माग्न नि अप्ठ्यारो लागिरहेको छ तर यदि हजुरले साँच्चीकै भन्नुभएको हो भने मलाई चप्पल कारखानामा काम लगाइदिनुस्। केही सीप सिक्न सक्ने शाखामा काम गर्न पाए झनै आभारी हुने थिएँ।'
'हाम्रो चप्पल कारखानाको म्यानेजरलाई फोन गरेर एकजना भाइ आउँदै छ चप्पल डिजाइन शाखामा, आजैको मितिदेखि काममा लगाउन र भाइको खाने बस्ने व्यवस्था गर्न पनि भन,' ती व्यक्तिले आफ्ना चालकतिर हेर्द भने। उनले सुन्दर भाइलाई बाटो खर्च दिएर ततकाल वीरगंजमा रहेको कारखाना पुग्ने बसमा बसाउन पनि निर्देशन दिए।
उनले सुन्दर तिर हेर्दै भने, 'अप्ठ्यारो नमानेर मजाले काम गर्नुस्, जति छिटो काम सिक्नुहुन्छ त्यति नै छिटो अगाडि बढ्नु हुन्छ। मैले उता सबै बताइसकेँ, निर्धक्क भएर जानुस्।'
खाना खाएर सुन्दर गाढी चढे। उनी कारखानाको गेटमा पुग्दा साँझ परिसकेको थियो। उनले त्यहाँको पालेलाई आफू आउनुको कारण बताए। ती पालेले उनलाई प्रमुख डिजाइनरकहाँ पुर्याए। ती डिजाइनरले सुन्दरको खाने व्यवस्था कारखानाभित्रै रहेको चमेना गृहमा गरेको रहेछ भने बस्ने व्यवस्था अन्य कर्मचारी सरह गरिदिएको रहेछ। खाना खाएर सुन्दर ओछ्यानमा पल्टेर गत २ दिनमा घटेको घटनाहरू सम्झिँदै सपना हो कि बिपना भन्नेमा गन्थन मान्थन गर्दै निदाए।
अर्को दिन बिहानदेखि सुन्दर काममा लागे। प्रमुख डिजाइनरको निगरानीमा उनले काम गर्दै गए या भनौँ सिक्दै गए। उनको काममा लगन देखेर प्रमुख डिजाइनर साह्रै प्रभावित थिए र धेरैभन्दा धेरै सिकाउने कोसिस गर्थे। अलि पैसा कमाउनासाथ सुन्दरले युट्युब चल्ने मोबाइल फोन किने। कारखानाभित्र बिहान बेलुका फ्रीको इन्टरनेट पाइन्थ्यो। सुन्दर नयाँ-नयाँ चप्पलको डिजाइनहरू हेर्थे र त्यसकै आधारमा आफैले नयाँ डिजाइनहरू तयार पारेर डिजाइनरलाई देखाउँथे। उनको सुझाव बमोजिम अझ सुधार गर्थे।
केही समयमै सुन्दर डिजाइन शाखाको दोस्रो ठूलो ओहोदामा पुगी भ्याएका थिए। कम दामका चप्पलहरू अब सुन्दरकै डिजाइन अनुरुप तयार हुन थाले। सुन्दरलाई काममा लगाउने मालिक पनि सुन्दरको प्रगति र लगनबाट निकै प्रभावित थिए।
समय बित्दै गयो, सुन्दर निखारिँदै गए। सुन्दरले चप्पल कारखानामा काम गर्न थालेको पनि एक वर्षभन्दा बढी भइसकेको थियो। फागुन महिनाको समय थियो र जाडो घटेर विस्तारै गर्मी बढ्न थालेको थियो। विशेष गरी तराईका मानिसहरू अब जुत्ताको सट्टा चप्पल लगाउन थालेका थिए। सुन्दरले कम गर्ने कारखाना जुत्ताभन्दा बढी चप्पलको लागि चिनिन्थ्यो। चप्पलको बढ्दो मागले उनीहरूलाई भ्याई नभ्याई थियो।
देश संघीयतामा प्रवेश गरेको धेरै भएको थिएन। सबै तहको चुनाव सकेर प्रदेश सभा र स्थानीय तहहरू गठन भएका थिए। तत्कालीन प्रदेश नम्बर २ (हालको मधेस प्रदेश) को मुख्यमन्त्रीले आफ्नो प्रदेशभित्र रहेका उद्योगहरूको प्रवर्द्धन गर्न एउटा जुक्ती निकालेका थिए। उनले प्रदेश सभाका सम्पूर्ण सदस्यलाई गर्मी बढेसँगै आफ्नै प्रदेशको उद्योगमा उत्पादित चप्पल नासो दिने तैयारी गरेका थिए।
त्यसका लागि उनले सुन्दरले काम गर्ने चप्पल कारखाना छनौट गरेका थिए। त्यस कारखानाका मालिक मुख्यमन्त्री भएर पनि होला उनलाई यो छनौट गर्न सजिलो भएको थियो। उनकै एक मात्र सर्त भनेको चप्पल अलि मौलिक र पृथक देखिनु पर्छ।
कारखानाकै प्रतिष्ठाको सवाल भएकोले मालिक उत्साहित र गम्भीर दुवै देखिन्थे। त्यसमाथि अर्को बज्रपात त के आइपर्यो भने मुख्य डिजाइनर यही बेलामा परिवारमा शोक परेर बिदामा बसेका थिए। उनीसँग फोनमा लिएको सल्लाह र मालिकको सुन्दरप्रति रहेको विश्वासले गर्दा ती चप्पलहरूको डिजाइनदेखि लिएर सम्पूर्ण कामको जिम्मा सुन्दरले पाए।
सुन्दरले धेरै पहिलेदेखि बनाएर राखेको उनलाई उत्कृष्ट लाग्ने एक डिजाइन मालिकलाई देखाए र त्यही डिजाइन नै उत्कृष्ट हुनेमा सबैलाई सहमत गराए। त्यो चप्पलको खासियत के थियो भने त्यसका प्रत्येक सिलाइ हातले गर्नु पर्ने हुन्थ्यो। सिलाइको काम चाँडै सक्नका लागि अस्थायी रूपमा केही मान्छेहरू थपिए।
त्यसमा सुन्दरले आफ्ना टोलका केही मान्छेहरूलाई पनि बोलाउन भ्याए। तिनीहरूलाई केही दिने तालिम दिइयो र काममा लगाइयो। नभन्दै चप्पलहरू तयार हुन लागे र मुख्यमन्त्री कार्यालयबाट प्राप्त समय सीमाभित्रै सबै चप्पलहरू तयार पारी पठाउने काम भयो।
मुख्यमन्त्री कार्यालयबाट मन्त्री, प्रदेश सांसद, माताहतका कर्मचारीहरूलाई चप्पल वितरण भयो। प्रदेश सभाको एक बैठकमा मुख्यमन्त्रीले चप्पल हाम्रो आफ्नो प्रदेशको उत्पादन भएकोले यो चप्पल तपाईंहरूलाई कस्तो लाग्यो त्यो सम्बन्धी कुराहरू सामाजिक संजालमा राखिदिन र कारखानाको पनि नाम उल्लेख गरिदिन अनुरोध गरे।
त्यही दिनदेखि चप्पलका बारेमा कुराहरू आउन थाले। सबैले डिजाइन र आरामका हिसाबले चप्पल उत्कृष्ट रहेको बताइरहेका थिए। कतिले यस्तै चप्पल अर्डर गर्न के गर्ने भनेर सोध्न थालेका थिए। फाट्टफुट्ट मान्छेहरू कारखाना पुगेरै चप्पलको अर्डर दिन थालेका पनि थिए। यो सबै घटनाक्रमलाई मध्यनजर गरेर कारखाना प्रशासनले अनलाइन चप्पल अर्डर गर्न सकिने व्यवस्था मिलाए। आएको अर्डर अहिलेको कामदारले परिपूर्ति गर्न सक्ने सम्भावना नै थिएन।
सुन्दरको दिमागमा एक जुक्ति आयो। उनले आफ्ना मालिक समक्ष यी विशेष चप्पलको सिलाइको सम्पूर्ण जिम्मा आफूलाई दिन अनुरोध गरे। आफूले तयार भएको चप्पल आफ्नै गाउँ पठाउने, र त्यहाँबाट सिलाएर चप्पल यहाँ पठाउने प्रस्ताव उनले राखे। यसो गर्दा यहाँ कामदारहरूको खाने, बस्ने व्यवस्था पनि नामिलाउनु पर्ने भएकोले मालिक पनि उनीसँग सहमत भए।
अस्ति सुन्दरले बोलाएका आफ्ना टोलका मान्छेहरूका सहायताले टोलका अरु महिला, पुरुष सबैलाई सिलाइ सम्बन्धी तालीम दिन थालियो। केही दिनमा सिलाइका लागि चप्पलहरू पुर्याइए। काम धमाधम चल्न थाल्यो। चप्पलको माग दिन दोगुना रात चौगुनाले बढ्न थाल्यो।
सुन्दरका टोलका मान्छेहरूलाई भ्याइनभ्याइ थियो। आफ्ना थोरै भएको खेतमा काम गर्न बाहेक उनीहरूले ज्यालामजदुरीमा काम गर्न छाडेका थिए। आसपासका गाउँ मान्छेहरू त्यो गाउँ घुम्न आउन थाले। कतिले विपन्न महिला-पुरुषहरूले सीप आर्जन गरेर कसरी आफ्नो जीवनको मुहार फेरे भनेर स-साना भिडिओ, अन्तर्वार्ता युट्युबमा पनि राख्न भ्याए। सुन्दरलाई त झन् यो अनलाइन मिडियाले गर्दा भ्याइ-नभ्याई थियो।
समग्रमा भन्दा बिसौँ वर्षदेखि चप्पल चोरको नामले अपमान खेपेका त्यो टोलको दिन फेरिएको थियो। त्यो चप्पल चोर भनेर चिनिने मोहल्ला अब बोलीचालीमा चप्पल टोल भएको थियो। सुन्दर आफ्ना हजुरबालाई बारम्बार सम्झिरहेका थिए र मनमनै 'बा, तिमीले भूलबस गरेको गल्तीले लागेको कलंकको दाग आज तिम्रो नातीले मेटेको छ, तिम्रो आत्माले अब पक्कै शान्ति पाउला बा' बरबराइरहेका थिए।
यता दोस्रो स्थानीय तहको चुनाव नजिकिँदै थियो। जुनसुकै पार्टीका लागि पिछडा वर्गको भोट महत्वपूर्ण ठानिन्थ्यो। सबै पार्टीले सुन्दरका टोलका मानिसहरू लगायतका अन्य पिछडाहरूको भोट कसरी सुरक्षित गर्ने भन्ने बारे अनेक तिगडम निकाल्न लागेका थिए।
निवर्तमान वडा अध्यक्ष त्यो मामिलामा कम थिएन। उनले वडा समितिको बैठक बोलाएर युवा उद्यमी सुन्दर मुखियालाई दोसल्ला र नगदसहित सम्मान गर्ने, सुन्दरको घर भएको टोललाई चप्पल टोल भनेर नामांकन गर्ने र त्यही अनुसारको बोर्ड राख्ने निर्णय गराए। भोलिपल्टै सुन्दरलाई सम्मान गरियो र सुन्दरकै घरअगाडि 'चप्पल टोल' लेखेको बोर्ड पनि राखियो।
गाउँपालिका अध्यक्ष छुट्टै दलको प्रतिनिधित्व गर्थे तर ती पनि कम तिगडमबाज थिएन। तिनले पनि सुन्दरलाई नगदसहित सम्मान गर्ने, सुन्दरलाई प्रमुख वक्ता बनाएर युवा उद्यमीसँग एकदिन भनेर अन्तरक्रिया कार्यक्रम गर्ने, र गाउँपालिकाबाट सुन्दरको गाउँतिर जाने मोडमा अर्को बोर्ड राख्ने निर्णय पनि गराए।
निर्णय गराएको केही दिनमै चप्पल टोल जाने गाउँको मोडमा एउटा ठूलो सेतो बोर्ड गाडियो र त्यसमा बहुतै कलात्मक अक्षरमा लेखियो 'चप्पल टोल जाने बाटो'।