सुन्दर अनुहार। मिलेको शरीर। टक्क हेर्दा हिरोभन्दा केही फरक नपर्ने,हल्का गालामा दाह्री अनि मिलेका दाँत। ऊ हाँस्दा पनि असाध्यै सुन्दर देखिन्थ्यो।
साथीहरू जिस्क्याउथे। 'कस्तो सेक्सी छ के तेरो ब्वाइफ्रेन्ड।'
मख्ख पर्थ्यें म।
ऊ पनि अग्लो म पनि अग्ली नेपाली हाइट। हाम्रो जोडी देखेर हामी दुबैका साथीहरू खुलेर तारिफ गर्थे। दुबै मख्ख हुन्थ्यौं। मिल्ने साथी रमिलाको घर जाँदा पहिलो पटक रमिलाले मेरो दाइ हो भनेर चिनाएकी थिई।
मैले त दाइकै सम्बोधन गरेकी थिएँ उसलाई। त्यही थियो एक अर्कालाई पहिलो पटक देखेको।
समय बित्दै गयो म रमिलाको घर पढ्न गइरहन्थें। उसकै घर छेउमा जोडिएको घरमा भाडामा बस्दो रहेछ ऊ।
हामी छतमा बसेको बेला रमिलासँग बोल्ने बहानामा मसँग आफ्नो परिचय दिएको थियो।
प्रदीप। नाम त अस्ति पहिलो पटक भेटेको दिन रमिले भनेकी थिई। पढाइसँगै कुनै एक कम्पनीमा काम गर्दो रहेछ।
झट्ट हेर्दा असाध्यै सुन्दर देखिने प्रदीप कुरा गर्न पनि उत्तिकै सिपालु लाग्यो।
एकछिन हामीसँग बोलेर ऊ कसैसँग फोनमा कुरा गर्नमा ब्यस्त भयो।
'कस्तो हेन्सम् है रमी तेरो दाइ?'
ऊ जिस्क्याउँदै थिई।
'तलाई मनपर्यो? कुरा राख्दिऊँ त?'
म हाँस्दै 'भन्देन यार। म त देख्दै फिदा भइसकें। हेर्दा हेर्दै' ऊ पनि हाँसी।
'तँलाई पढ्ने बेला चारतिर सोच्छेस्?' किताबले मेरो टाउकोमा हानी।
मुखले टोकेको पेन निकाल्दै भनें 'जिस्काको पनि सिरियस लिन्छस् के तँ? अब उहाँसँग लब पर्यो भने। हाम्रो फर्स्ट बेन्चमा बसेर पछाडि केटा जिस्क्याउने प्लान चकनाचुर हुँदै न त?'
दुबै जना गलललल हाँस्यौं।
हामी हाँसेको देखेर फर्की फर्की हेरिरहेको थियो प्रदीप।
छेउमा आएर रमिलाई सोध्यो।
'ए रमि कुकुरको पुच्छर बांगो देखेर हाँसेको हो?' रमि र म मुखामुख गरेर लडीलडी हाँस्यौं।
पल्लो छतबाट एकछिन त हामी हाँसेको देखेर अकवक्क भएको थियो। त्यसपछि ऊ तलतिर लाग्यो, हामी भने सम्झी सम्झी हाँसिरहेका थियौं।
त्यो दिन त निकै सम्झिन लायक नै बन्यो।
रमि र म पढेको स्कुल फरक भए पनि छोटो समयमा नै ऊ र म एकदमै घनिष्ट बनिसकेका थियौं।
मलाई केही किन्दा उसलाई पनि किनिदिन मन लाग्य्थो,मलाई जति छुट हुन्थ्यो एता उता हिँडडुल गर्न उसलाई त्यति हुँदैन थियो।
कलेज सकेर ऊ स्कुले बच्चाहरूलाई घरमै ट्युसन पढाउथी। एकदमै मेहनत गर्थ्यी त्यै पनि म जति पढ्न सक्दिन थिई।
सायद घरको व्यवहार र भारले थिचेको थियो उसलाई।
कतै घुम्न जाँदा ऊसँग त्यति पैसा हुँदैन थियो। त्यसैले मैले नै खर्च गर्न अघि सर्थ्यें। त्यै भएर पनि होला उसको मलाई असाध्यै माया लाग्थ्यो।
ऊ मेरो घर त्यति आउन नपाउने हुँदा मै जान्थें उसकोमा।
उसले ट्युसन पढाउन्जेल छेउमा बसेर हेर्थ्यें अनि सकेपछि चिया खाँदै छतमा बसेर पढ्थ्यौं।
कैले कैले हामीले पढेको,गफ गरेको अनि हाँसेको लुकीलुकी हेरिरहेको हुन्थ्यो प्रदीप। तर म नदेखेझैं गरिदिन्थें। किनकी रमिको ममीले यो सब थाहा पाउनुभयो भने आइन्दा मलाई आउनै दिनुहुन्न त्यै भन्थी रमि।
एकदमै डराउथी ममीदेखि।
गफ गरेको बेला ममी छतमा आउनुभयो भने घोप्टो परेर पढेको जस्तो गर्थ्यौं। कैले कैले ममी छतमा आएको बेला प्रदीपलाई देख्दा हाँमीलाई तल गएर पढ् भनेर कराउनु हुन्थ्यो।
ऊ पनि नसुनेझैं ऊता फर्केर बसेको हुन्थ्यो। एकदिन मैले रमिलाई सोधें- सुन न तेरो प्रदीप दाइ सधैं हाँमी बसेर पढेको बेला किन आउँछ छतमा?
ऊ भन्थी- तँलाई मन पराउनु हुन्छ त्यै भएर।
'चिन्नु न जान्नु घचेडी माग्नु के खान मन पराउनु नि मलाई?' म अलि सन्किएँ।
ऊ थप्थी- के थाहा मलाई? गएर सोध् न आफैं..?
म बोल्दिनँ थिए त्यसपछि।
तर मनमनै हो कि क्याहो जस्तो पनि लाग्थ्यो। फेरि सोच्थें बोल्दैमा काँ मन पराएको हुन्छ र? तर पनि मनमा हल्का चिसो चैं थियो, हुन नि सक्छ भनेर।
११ को परीक्षा नजिकिँदै थियो कलेज घर अनि कैले रमिकोमा पढ्न जाने यो चक्र चलिरहेको थियो।
एकदिन घरमा सबैसँग बसेर चिया खाँदै टिभी हेरेर बसेकी थिएँ।
फोनको घन्टी बज्यो, नजिकै बाबा बस्नुभएको भएर उहाँले उठाउनु भयो।
'सन्ध्या तिम्रो फोन'
लाग्यो रमिले गरी अरू त मलाई फोन गर्ने मान्छे नै थिएन।
'अँ भन रमि'
उताबाट लोग्ने मान्छेको आवाज आइरहेको थियो।
'हेलो..सन्ध्या म प्रदीप चिन्यौ मलाई..?' स्वर सुन्ने बित्तिकै चिने।
तर हजुर मात्र भनें।
उसले थप्यो 'रमिसँग तिम्रो नम्बर मागेको थिएँ बोल्न मन लागेर तर घरमा सबै हुनुहुन्छ जस्तो लाग्यो पछि बोल्छु हस्?'
मैले 'हस्' भनेर राखें।
'कस्ले गरेको?'बाबाले सोध्नुभयो।
म अकमकिँदै थिएँ।
'ए रमिको दाइ'
'अनि रमिको दाइले तँलाई फोन गर्नुपर्ने के परेछ त्यस्तो?' आमा बोल्नुभो। रिसाउँदै आमालाई भनें, 'रमि बिरामी भैछे त्यै भएर रैछ। बाबा' आमालाई हेर्दै हुनुहुन्थ्यो।
म सरासर तल कोठातिर झरेँ।
अस्ति एकदिन म रमिकोमा बस्न गएकी थिएँ। झमक्कै साँझ परिसकेको थियो बेलुकाको खाना खाइसकेपछि बाहिर धारामा रमि र म भाडा माझ्दै थियौं। छेउमा उसको ममि बाती काट्दै हाम्रो गफ सुनिरहनु भएको थियो।
पल्ला घरको गेटमा कोही लडेको आवाज आयो म र रमि जुरूक्क उठेर हेर्यौं। प्रदीप थियो। ऊ एकदमै मातेर रल्लु भएर गेटको ढोका खोलेपछि थामिन नसकेर भुइँमा पछारिएको रहेछ।
आमा मुरमुरिँदै हुनुहुन्थ्यो,'यस्ता जड्याहालाई दाइ बनाकी छे नबना भनेको मानिन। दाइ बनाउन लायकको छैन। मोरो जैले मातेर आउँछ।'
म त छक्क परें।
यस्तो राम्रो मान्छे भनेको त बेकामे पो रैछ …।
'जाँड खाको बेला मात्रै हो के ममी अरू बेला दाइ राम्रो हुनुहुन्छ' रमीले थपी। 'चुप लाग राम्रो मान्छे रक्सी खाँदा पनि राम्रो नखाँदा पनि राम्रो हुन्छ। राम्रो मान्छेले कैले यसरी धोक्दैन' रमि चुप लागी।
मैले त केही भन्ने कुरै भएन।
त्यो दिन त त्यतिकै बित्यो मनमा चाहिँ कस्तो खालको मान्छे रैछ भन्ने लागिरहेको थियो।
सुत्ने बेला रमि भन्दै थिई।
'हुन त त्यो दाइको अरू पनि गर्लफ्रेन्ड छन् अरे। मैले सुनेको तर फेरि अस्ति मलाई तिम्रो साथी सन्ध्याको ब्वाईफ्रेन्ड छ कि छैन, मलाई कस्तो मनपर्छ भन्दै हुनुहुन्थ्यो। तेरो नम्बर मागेर हैरान पारेपछि मैले दिएकी थिएँ।'
कल गरेको थियो पनि भन्न मन लागेन म मौन नै रहेँ।
समय बितिरहेको थियो। हाम्रो परीक्षा पनि सकियो।
एकदिन रमिले घरमा बोलाई। घर बस्दाबस्दा अल्छी भएकी मैले हुन्छ भनिहालेँ।
उसको घर पुग्दा ममी-बाबा कतै जानुभएको रहेछ। ऊमात्रै थिई घरमा।
म पुग्ने बित्तिकै मोबाइलमा कसैलाई मेसेज गरी। मैले खासै मतलब गरिनँ।तर त्यसको १०/१५ मिनेटपछि प्रदीप रमिको घर आयो।मलाई हल्का शंका त भएको थियो तर होइन होला भन्ने लागेको थियो।म रमिको कोठामा बसेकी थिएँ। त्यही आएर छेउमा बस्यो।मलाई एकदमै अप्ठ्यारो महसुस भयो।
त्यत्तिकैमा रमि बोली-गफ गर्दै गर्नु है! म चिया बनाएर ल्याउँछु। जुरूक्क उठेर गई। म किताब पल्टाएर हेरेजस्तो गरेँ। मेरो हातको किताब तानेर टेबुलमा राख्यो र हात समात्यो।
म अलि डराएँ।
'नडराऊ मैले मान्छे खाने गरेको छैन'..रुन्चे हाँसो खिस्स दाँत देखाएँ।
भन्दै थियो, 'हेर सन्ध्या म तिमीलाई एकदमै मन पराउँछु। म त घरमा पनि भन्न तयार छु। यदि तिमी चाहन्छौ भने र मेरो विश्वास गर्दिनौ भने..।'
म केही बोलिनँ।
बोलौ पनि के बोलूँ।
उसको हातबाट हात फुस्काएर बाहिरतिर लाग्दै थिएँ रमि चिया बोकेर भित्रै आई।
म अर्कोतिर बसेँ।
'अनि दाइ सन्ध्येसँग कुरा गर्नुभयो?' खित्त हाँसी।
ऊ पनि मुस्कुरायो।
रमिले मैले अप्ठ्यारो महसुस गरेको थाहा पाई क्यारे अरू केही पनि बोलिन।
चिया पिउने बहानामा ऊ घरीघरी मलाई चिह्याई चिह्याई हेरिरहेको थियो।
त्यो दिन मलाई धेरैबेर बस्न मन लागेन र रमिसँग बिदा मागेर घरतिर हिँडें।
जाने बेला अनुहार न्याउरो पारेर एकोहोरो म गएको हेरिरहेको प्रदीप देखेर दया पनि जागेको थियो। तर फेरि त्यस्तो जड्याहा छ कसरी जीवन बित्छ त्यस्तो मान्छेसँग। म एकदमै दोधारमा थिएँ। मन त पर्थ्यो मलाई पनि तर त्यो उसको बानी ठिक थिएन।
पछि रमि भन्दै थिई- तँलाई पाए त रक्सी पनि सबै छोड्नु हुन्छ रे दाइले आजकाल पहिलेजस्तो खानु पनि हुन्न सायद तेरो मायामा परेर होला।
ह्या हुन्छ भन्दे के बिचरा लास्टै गर्नुहुन्छ दाइले।'
'कसरी त्यसै हुन्छ भन्नूँ!' झनक्क रिसाएँ।
'रक्सी खाए त हुने नि रक्सीले मान्छे खाँदो रहेछ। पछि फेरि जिन्दगीभरि रूवाउने पो हो कि? अनि के गर्नु? तैंले जिम्मेवारी लिन्छेस् त्यसको?'
ऊ नम्र भई केही बोलिन।
त्यसपछि रमिकोमा जान पनि मन लाग्न छोड्यो पहिलेजस्तो। किन किन उसले पनि जबर्जस्ती गर्दैछे जस्तो लाग्न थाल्यो।
मन दोधारमा परिरहेको थियो। थोरै रिस पनि उठेको थियो। समय बितिरहेको थियो। कलेज सकेपछि साइबरमा जान्थ्यौं हामी। रमिको ब्वाइफ्रेन्ड बाहिर देशमा गएको थियो त्यसैले ऊ अनलाइन कुरा गर्न जान्थी म साथी गइदिन्थें।
उनीहरूको माया, झगडा सबै सुनिरहन्थें छेउमा बसेर।
मायामा होमिएर कैले कैले के बोलिरहेका छौ भन्ने पनि बिर्सिन्थे उनीहरू। छेउमा बसेकी म जुरूक्क उठेर गएपछी बल्ल होसमा आउथे।
कराउथें उसलाई 'बिहे हुने हो कि हैन त्यस्तो टाढा बसेको मान्छेसँग कस्तो कस्तो कुरा गरेको होला' भनेर।
भन्थी 'जब तँ मायामा पर्छेस् नि? तब बल्ल थाहा पाउछेस्'
म हाँसी दिन्थें।
वरिपरि साथीभाइ सबैको जोडी देख्दा त मलाई पनि रहर लाग्थ्यो।
रमिमार्फत् कैले के कैले के गिफ्ट पठाउथ्यो प्रदीप मलाई। लिन नमान्दा रिसाउथी रमि।
उसकै लागि लिइदिन्थें प्रदीपले पठाएका चिजहरू।
खोलेर हेर्दा कहिले चकलेट, कहिले कानको झुम्काहरू त कहिले कपडाहरू पठाएको हुन्थ्यो।
छोरा मान्छे भएर पनि कति राम्रो राम्रो चिजहरू पठाउन जानेको होला है। मलाई असाध्यै सुहाउने कुराहरू रंग मिलाई मिलाई किनेर दिन्थ्यो।
घरमा भन्न पनि सक्दिनथें तर आमा कराई रहनु हुन्थ्यो।
'कसले किन्दियो' भनेर।
हरेक प्रकारका झूट बोल्थें कुरा मिलाउनलाई। सायद मायामा परेपछि सब कुरा जायज हुँदो रहेछ।
नढाँटी, छलकपट नगरी त हुँदै हुँदैनथ्यो।
यसरी साथीकै लहलहीमा म प्रदीपको मायामा जानी जानी फसिरहेकी थिएँ। बिदाको बेला रमिसँग घुम्न जाँदा प्रदीप पनि साथमा आउन थालेको थियो। सँगै गएका हामी ऊ पछिपछि हिँड्थी। हामी अगाडि गफ गर्दै हिँड्थ्यौं। अन्दाज गर्दा गर्दै मायामा चुर्लुम्ब डुब्दै थियौं।
आजकाल त रमिलाई थाहा पनि नदिई प्रदीप र म कहिले सिनेमा, घर कहिले रेष्टुरेन्ट, त कहिले मन्दिर जान थालेका छौं।
पहिले पहिले ईती श्री सुनाउने म,आजभोलि हरेक कुरा लुकाउन थालेकी छु रमिलाई।
'एक्लै एक्लै घुम्न जालिस् नि! केटा मान्छेको भर हुँदैन' भन्छे रमि।
'काँ जानु नि म जान्नँ' भनेर टारिदिन्छु।
मलाई उसको हात समाएर हिँड्न मन लाग्छ अनि उसको छातीमा अढेस लागेर उसले मेरो हरेक कुराहरूको बयान गरेको सुन्न मन लाग्छ।
पहिले छेउमा जान डराउने म आजकाल उसको वरिपरि हुँदा मात्र सब कुरा उज्यालो देख्न थालेकी छु।
पहिले खासै मेकअप नगर्ने म आजकाल हल्का मेकअप गर्छु।
घरको ऐना पनि मलाई हेरेर मख्ख पर्दो हो।
उसैलाई हेरेर दिन बिताइदिन्छु नि त!
घरको भित्तामा टाँसिएका हरेक तस्बिरहरू मलाई हेरेर नै थाक्दैनन्।
आँखाको माथि गाजल, गालालाई हल्का रंगाएर कालो टीका निधारमा अनि ओठको लालीमा असाध्यै उज्याली र राम्री देखिन्छु रे उसैले भनेको। त्यसैले त उसैका निम्ति भए पनि राम्री हुन मन लाग्दो रहेछ।
कहिले नदेखेका र नसोचेका सपनाहरू देख्न मन लाग्दो रहेछ।
यसरी झन्डै वर्ष दिन बितिसकेछ। बाधा र अड्चनहरू पनि हामीलाई देखेर आफैं पन्छिदिन्छन् कि जस्तो लाग्छ किनकि नराम्रो त केही पनि देख्दिनँ म त। बाटोमा हिँड्दा रूखहरू देख्दा पनि ऊ हामी दुबैको नाम खोप्दै हिँड्छ।
भन्छ- तिमी र म बुढाबूढी भएपछि यही आएर अहिले गरेका रमाइलोहरू सम्झनुपर्छ है, यो नाम त एक निसाना बनाको मात्र हो मैले बुझ्यौ'
म हाँसी दिन्छु उसको माया मोह देखेर। तर के यसरी नै बित्ला त बाँकी जिन्दगी खुसी नै खुसीमा। अनि उसले यस्तै माया गरिरहला त मलाई? अनि मलाई बिहे गर्ला नि है? हुन त पशुपति मन्दिरलाई साची राखेर धेरैचोटि मेरो सिन्दुर भरिसकेको छ उसले मेरो।
बस्, अब आफ्ना र आफन्तहरूको अगाडि मात्रै बाँकी छ।
हुन त हरेक छोरी मान्छे को सपना हुन्छ रे हुनेवाला श्रीमान यस्तो होस् उस्तो होस् भन्ने तर खै मेरो त त्यो सपना आउनुभन्दा अगाडि नै प्रदीप मेरो जीवनमा आइसकेको छ। के सायद भगवानले नै सिधै पठाइदिनु भयो होला मेरो लागि राजकुमार।