एक हुल उदारता बोकेको दुर्योधन समय आउँछ
म महाभारतको दुर्योधन होइन भन्छ
म त्यती निर्लज्ज र खराब छैन भनेर अनेकौँ स्पष्टोक्ति तेर्साउँछ
अर्को हुल अर्जुन समय आउँछ
म पुरानो अर्जुन हुँ, फेरिएको छैन भनेर अर्जी पेश गर्छ
वर्तमान समयलाई अर्को हस्तिनापुरको रणभूमि
बनाउदिनँ भन्दै ढाडस देखाउँछ
मलाई लाग्छ
समय परिवर्तनशील छ
तर मुक्त छैन पुरातनबाट
अतिसयोक्ती र कोरा नक्कलहरूबाट
समय टिकटिकको कुलतलाई कोठासम्म पुर्याउँछ
समय पब्जीको आदतलाई नानीहरूलाई हस्तान्तरण गर्छ
समय राजनैतिक दर्शन मान्छेपिछे प्रक्षेपण गर्छ
आफ्ना फाइदाकै चाङहरू लगाउँछ
अहंकार रथारोहण भैरहेको छ समयको काँधमा
यो समय अश्लीलताको पराकाष्ट नाघेर गल्ली, सडक
र पाँचतारे होटलसम्म अघोषित नगर बधु बनेको छ
तर पनि लाजै नमानी
समय भन्छ ऊ स्वयम् तृषित विश्वामित्र हो र भोग्या मेनका पनि
मबाट हिँडेको समय करोडौँ मान्छेसम्म
विकृतिहरूमा छिरोलिएको छ
विसी र इशापूर्वबाट रामापिथेकसको अंश बोकेको समय
चेत बोकेको स्वकहलित मानव समय
अहिले तेरो मेरो र अरुलाई गिराउने लिडे ढिपी
लाद्ने आत्मलापमा निदाएको छ
मलाई टिठ लाग्छ
समयको दोहोरो चरित्रमा
भनाइ र गराइबीच गहिरो खाडल भएका
कयौँ थेसिस र कार्यपत्रहरू
देखेर दया लाग्छ मलाई समयमाथि
मलाई थाहा छ
समय जितै जितको र हारै हारको जीवन्त इतिहास होइन
समय नक्कलवाद र ईर्ष्याहरूको
रामायण होइन, तृपिटक र कुरान पनि होइन
यता
हुथुहरू अचानक उठ्छन् समयको ओछ्यानबाट
र समयलाई नै अस्थायी रुपमा नै सही
बन्धक बनाउँछन्
बोकोहरामहरू रातभर जाग्छन् र छोरीहरू बोकेको बस जलाउँछन्
समयकै कोखमा एउटा निर्लज्ज अगुवा जन्मन्छ
र जनताको खुन र पसिनाले बनेको बजेट झ्वाम पार्दै
राष्ट्रलाई ऋणको नदीले नुहाउँछ
एउटा पशु मान्छे समयबाटै हुर्कन्छ र
डेढ वर्षको बच्चालाई बलात्कार गर्छ
र मार्छ!
अह! समय कमजोर प्रतिपक्ष र शक्तिशाली सत्ता होइन
समय ब्यभिचारलाई दण्डित गर्न नसक्ने लाचार अनुहार पनि होइन
समय गरिबी, भोक र दासताको कारण पत्ता लगाउन नसक्ने मनुवा होइन
खाँचो छ, आफ्नो भनेर फटाहालाई जोगाइने मोहलाई त्याग्न सक्ने हिम्मतको
र स्पष्टताको खाँचो छ
देश साँझा हो र यसलाई विकास गर्नुपर्छ भन्ने स्तोत्रको
तपाईं यही हुनुहुन्छ
म यही छु
आउहोस् सबैको अगाडि राखीदिउ
एउटा उर्वर चिन्तन र गर्विला हातहरूले
परिवर्तित गरेर विकास, समृद्धि र मानवतामा
एउटा खुसी बोकेको समय।