आसन्न चुनावमा
विजय हुन
भिड्दै छन् हजारौँ राजनेता
अनेकौँ अनेक प्रतिज्ञा लेखेर
असंख्य घोषणापत्र छाप्दै छ
दल र राजनेता
निस्केका छन् सहरमा
सयौँ झोले अघिपछि लाएर
चर्को आवाजमा
नारा लगाएर
ध्वनि प्रदुषण गर्दै
निस्केका छन् सडकमा
सयौँ साधन बोकेर
सभा राख्यो चोकमा
र्याली निकाल्यो साँघुरो सडकमा
अनि भयो चक्काजाम
बिरामी बोकेको एम्बुलेन्स
कार्यलय पुग्नुपर्ने कर्मचारी
गाउँबाट दूध बोकेको गाडी
ताजा तरकारी बोकेको गाडी
त्यहीँ रोकिए सबै
अस्पताल पुग्न नपाई बाटोमै मरे बिरामी
कार्यलय पुग्न ढिलो भयो कर्मचारी
सेवाग्राहीलाई बेलैमा सेवा दिन सकेन
दूध बिग्रे त्यहीँ
तरकारी बिग्रे त्यहीँ
त्यहीँ भन्दै छ
मलाई जिताउनुस्
म तपाईंहरुलाई सुख सुविधा दिनेछु
कृषिमा क्रान्ति ल्याउने छु
पशुपालनमा प्रोत्साहन भत्ता दिनेछु
निःशुल्क उपचार दिनेछु
निःशुल्क औषधि दिनेछु
सडक फराकिलो पार्नेछु
पुल बनाउने छु
रेल ल्याउने छु
तेल ल्याउने छु
अरु थुप्रै कुरा भन्दै छ
चर्को आवाजमा खोक्दै छ
कहिल्यै पूरा नहुने प्रतिज्ञा
भेडा जनतालाई गर्दैछ
कहिल्यै पूरा नहुने वाचा
हामी भेडा जनता सुन्दै छौँ
खोक्रो राष्ट्रियताको भाषण
मनमनै भन्दै छौँ
भोट यसलाई दिने हो
आफन्तलाई भन्दै छौँ
भोट यसलाई दिनु है।