सबै मानिसहरूले मलाई प्रश्न गर्छन्।
'एकतर्फी प्रेमको बारेमा भन्नुहोस् न, बाच्नु धेरै गाह्रो हुन्छ? तपाईं त लेखक मान्छे। मान्छेहरूको मन लेख्नु हुन्छ।
जुन मान्छेलाई हृदयको सूक्ष्म बिन्दुबाट प्रेम गरिन्छ, सबैभन्दा धेरै माया गरिन्छ, ईश्वरको ठाउँमा राखेर पूजिन्छ, बदलमा घृणा मिल्छ। उसको लागि हामी कोही होइनौँ। मुटु फुट्दो रहेछ। हृदय टुट्दो रहेछ। जब कसैले प्रेमको बदलामा घृणा दिन्छ तब बाच्न मन नलाग्दो रहेछ। सायद त्यही भएर मृत्युलाई प्रेम गरेका होलान् मान्छेहरूले।
कसरी सम्झाउँ मनलाई? किन एकोहोरो मायाले यति धेरै सताउँछ?' धेरैजसो टिनएजरहरूको प्रश्न थियो। एउटा सेमिनार हलबाट एक युवाले सोधेको प्रश्न।
उसले माया गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि किन हामी यति धेरै मायाको भिख मागिरहेका छौँ? उसको पछि दौडिरहेका छौँ। उसले माया होइन, फाइदा लिइरहेको छ।
ऊ हुनुको अर्थ हामी हुनु होइन। किनकि हामीलाई आफ्नो महत्व नै थाहा छैन। आफू हुनुको अर्थ नै थाहा छैन। यदि त्यो मान्छे हाम्रो मायाको लायक हुनु थियो भने हामी उसको पछि दौडिरहनु पर्दैन थियो। उसको पछि-पछि दौडिनु भनेको मूर्खता हो। कति दौडिन्छौँ हामी र कहाँसम्म पुग्ने हो? यसको दूरी पनि नाप्नु पर्छ।
आउनुहोस्, तपाईंहरूलाई मेरो कहानी सुनाउँछु-
उनको आगमन मेरो लागि बिहानीको सूर्योदय थियो। आफ्नो निर्दोष किरणहरू बिना स्वार्थ धर्तीमा छरेझैँ उनले मेरो हृदयको सारा खुसीहरू ममा छर्दै थिइन् भन्ने भान हुन्थ्यो। म भने मौन थिएँ। बस स्पर्श मात्रा गर्थें। महसुस नभएको कहाँ हो र?
उनलाई मैले ओशो तपोवनमा देखेको हो। उनलाई भन्नाले 'आरूबी'। म चार वर्षदेखि ओशोलाई पढ्दै आइरहेको थिएँ। संयोगदेखि समाधीसम्म आइपुग्दा जीवन दर्शन, संस्कार र अध्यात्मले विस्तारै मलाई पनि छुँदै थियो।
एक दिन ओशो तपोवनमा सन्यास दिक्षा समारोह भइरहेको थियो। मान्छेहरूको भिडबाट भजनको ध्वनी गुन्जिरहेको थियो। लोग्ने मान्छेहरू र आइमाई मान्छेहरू सेतो कमिज र सेतै सुरूवालमा जप माला घाँटीमा लगाएर ध्यान मुद्रामा बसेका थिए।
गुरूदेवले पावरवाला चस्मा भित्रका चम्किला आँखाले वरिपरि हेरिरहेका थिए। प्रत्येक वर्षको कृष्ण जन्मअष्टमीको दिनमा सन्यास दिक्षा लिने गर्दा रहेछन्। मलाई पनि बल्ल थाहा भएको यही आएपछि। सन्यास दिक्षा लिन आएकाहरू प्रायःजसो युवा-युवतीहरू नै धेरै थिए।
बुढाबुढीहरूलाई त खासै देख्दै देखिनँ। विचरा! जीवनको भोग नै गर्न नपाएकाहरूलाई वैराग्य उत्पति कसरी हुन्छ? सोच्न बाध्य भएँ। म सोच्दै एउटा कुनामा बसेर हेरिरहेको थिएँ। सोचमग्न दिमागमा घुमिरहेको थियो। यी सबै दृश्यहरू मेरा लागि अनौठा र आश्चार्य लाग्दा थिए।
केही क्षणको विश्रामपछि गुरूदेवको प्रवचण सुरू भयो- 'सबै मानिसहरू मरणशील छन्। मानिसहरूले कहिले पनि ईश्वरको ठाउँ लिन सक्दैनन्, चाहे त्यो जति नै शक्तिशाली, तेजस्वी नै किन नहोस्। हामी कुनै बेला मर्न सक्छौँ भन्नै थाहा हुँदाहुँदै पनि ईश्वरको अस्तित्व स्वीकार्न मान्दैनौँ।'
गुरूदेव बोल्दै गर्दा विस्तारै टाउको हल्लाउन थाल्नु भयो। गुरूदेवको अगाडि सन्यास दिक्षा लिन एउटा युवती आइन्। युवती भन्नाले आरूबी। भजन गुन्जिरहेकै थियो। 'जीवनका हरेक रंगहरूमा उत्सव चढ्न थाल्यो… मेरो मनका भावहरूमा आनन्दले बग्न थाल्यो… जूनीभरि नछुटिने प्रित लाइदियौ…।'
गुरूदेवले जब माला ती युवतीको घाँटीमा लगाइदिए, निधारमा टीका लगाउँदै गर्दा उनी रूँदै भुइँमा ढलिन्। म आरूबीको नजिकै आएँ। उनी जोड-जोडले रूँदै थिइन्। आरूबीको रूवाइमा मैले केही बुझिनँ। नबुझी-नबुझी आरूबीलाई छुन पुगेछु।
मेरो औँलाहरूमा करेन्ट लागेजस्तै भयो। म डराएँ। आरूबीको एनर्जीले मलाई तान्यो। उनको एनर्जीको लेबलले मलाई शान्त महसुस गर्दै थियो। मेरो एनर्जीले पनि आरूबीलाई विस्तारै शान्त हुँदै गइन्। त्यो मेरो लोजिक हो।
यति बेलासम्म ऊ को हो? के हो? मलाई केही पनि थाहा थिएन। मलाई लाग्यो मेरो उर्जा आरूबी नै हो। म बाहिर आएँ। तपोवन शान्त थियो। डुब्न लागेको घामको प्रकाश र बादलको संयोजन मलाई अदृश्य सौन्दर्यमा लगेर छोडिदियो। म हराएँ अनि आफूले आफैलाई खोजी रहेँ।
यसरी खोज्नुमा पनि मेरो प्रेम थियो। प्रेम प्रकृति रहेछ। आरूबीले बेरेको सेतो धोतीमा पोखिएका थिए यौवनका रंगहरूले मलाई तान्दै थियो। म तानिँदै थिएँ, विस्तारै विस्तारै...।
उनका रंगहरू क्यानभासमा धर्को बनेर कोरिरहेको प्रष्टै देखिन्थो। र म आरूबीलाई टुलुटुलु त्यहीँबाट हेरिरहेको हुन्थेँ। यसरी हेर्नुमा पनि प्रेम नै थियो।
न बोलचाल न चिनजान। अदृश्य सम्बन्ध अलौकिक रहस्यले भरिएको थियो त्यो समय मेरो लागि। सबै सत्य चन्द्रमाझैँ टाढा एवं मौन थिए। मसँग आकाशझैँ खुला हृदय मात्र थियो जहाँ म शान्त र आनन्द मात्रा महसुस गर्दथेँ। जिन्दगीको नयाँ अध्याय लेख्न खोज्दै थियो।
आरूबी मेरो पहिलो स्त्री त होइन तर पनि कुनै-कुनै सम्बन्धको नाम हुँदो रहेनछ। नाम बिना नै सुन्दर लाग्दो रहेछ। समय सँगसँगै मेरो पहिलो उपन्यास 'छाप्रो नं. ५५' को प्रकाशन भयो। २०७५ साल मंसिरमा मन्जरी पब्लिकेशले बजारमा ल्याएको हो। उपन्यासका पात्रहरूमा पनि मेरो गहिरो प्रेम छ।
पात्रहरू बिना म केही होइन। विस्तारै मेरो उचाइ पनि बढ्दै गयो। मानिसहरूले चिन्न थालिसकेका थिए। लेखक भनेर सम्बोधन गर्दा मलाई अप्ठ्यारो लाग्थ्यो। म लेखक होइन, सामन्य मान्छे जो यसै धर्तीको एउटा कुनामा थुनिएको छु।
एक दिन म दिल्ली जान त्रिभुवन बिमानस्थलमा बसिरहेको थिएँ। परैबाट आरूबी आउँदै गरेको देखेँ। ऊ त्यही सेतो धोतीमा सजिएकी थिइन्। म बसैकै ठाउँमा डल्लो भएँ। उकुसमुकुस भएर असजिलो जस्तो भयो।
मेरा आँखा आरूबीमा गएर रोकियो। उनको आगमन मेरो लागि कल्पनाभन्दा बाहिरको कुरा थियो। उनको छाया मेरो नजिकै आएर रोकियो। २ बजेको उडान थियो, बल्ल १:१० हुँदै थियो। जब मेरा आँखा आरूबीको आँखासँग ठोकियो, उनी मुसुक्क हाँसिन्। म त बेहोस नै भएँ। खुलदुली मनमा बोकेरै बसिरहेँ। नजिकै आइपुग्दा मेरो बोली फुटिहाल्यो, 'तिमी आरूबी हो है?'
'कसरी थाहा पाउनु भयो?'
'ओशो तपोवनमा म पनि जान्छु बेलाबेला।'
'ए… हो र? अनि… कसले भन्यो मेरो नाम?'
'स्वामी सत्यप्रकाशले!'
'आश्रममा ध्यान गर्न पो आउँछन् त, केटीको नाम जान्न हो र?'
उनको मुहार हेरेर भनेँ, 'ध्यानले उर्जा पैदा गरिदियो। अनि उर्जा तिमीसँग गएर मिसियो त म के गरूँ!'
पहिलो पटक आरूबीलाई तिमी भन्दै थिएँ। आँट कसरी आयो खै थाहा छैन।
'तपाईं पनि दिल्ली जान लाग्नु भाको हो र?' आरूबीले कुरालाई अन्त्य गर्न खोज्दै थिइन्।
'भनेपछि तिमी पनि दिल्ली जाँदै छौ?'
मेरो प्रश्न सँगै आरूबीका आँखाहरू मान्छेहरूका भिडमा डुल्दै थिए। केही हराएझैँ। उनका आँखाहरूले अरू केही खोजिरहेको भान हुन्थो। हतास निराश आँखाहरूले मलाई हेर्न सकिरहेको थिएन। एकैछिनको सन्नाटापछि दिल्लीको फ्लाइटले उडान भर्यो। संयोगले आरूबी र म आमुन्ने-सामुन्ने सिटमा पर्यौं।
चिनजानले अलिक निकटता र सरल भयो। कुरा गर्दा आरूबी सरल र शिष्ट भाषाले सम्बोधन गर्थिन्। मेरो शैली तै त हो।
आरूबीले दिल्ली आउनुको कारण भन्न चाहिनन्। मैले कर पनि गरिनँ। मैले भनिहालेँ। मेरो उपन्यास र कार्यक्रमको बारेमा सबै एकैचोटिमा भन्न भ्याएँ।
आरूबीले प्लेनबाट ओर्लिंदै गर्दा भनेकी थिइन्, 'फेरि भेटौँला।'
मैले नम्बर मागेँ।
'तपोवनमा भेटिहालिन्छ, किन नम्बर चाहियो र!'
त्यो पनि हो भन्दै म बाहिरको गेटतर्फ गएँ। एउटा आवाजा मेरो कानमा आएर ठोकियो। 'सुन्नुहोस् त!' आरूबीको आवाज मेरो पछाडिबाट धुन बनेर गुन्जिरहेको थियो।
'तपाईंको नाम?'
'साहिल!'
नाम भन्दै गर्दा आरूबीले नम्बर पनि दिइन्।
एक दिन मैले कल गरेँ।
'सन्चै छौ?' मेरो प्रश्न सकिन नपाउँदै बोली हालिन्, 'मैले तपाईंलाई नै सम्झिरहेको थिएँ।'
'मलाई?' आश्चर्यको भाव पोख्दै गर्दा भिडिओ कल गरिन्। यति बेला म पोखरामा थिएँ। म आफ्नो कोठाको झ्यालमा बसेर आकाशबाट मोतीझैँ टल्किने हिउँसँग रमाइरहेको थिएँ।
उफ! जाडो पनि कति साह्रो। हातमा कफी र बुक थियो। भिडिओ कल रिसिभ गरेँ। उत्सुकताले भरिएको ओठबाट शब्दहरू गुन्जिरहको थियो उनको मुखबाट।
'ओहो! कति रमाइलो, मलाई मन पर्छ।
आकाशबाट खस्ने सेता फूल झ्यालमै बसेर चियाउनु र छेउमा चिया, कफी अनि आफ्नै बुक, अनि टाढा-टाढा भएका आफन्तहरूसँग भिडिओ कल गर्दै गफिनुको मजा बेग्लै।'
'है?' खिस्स हाँसिन्।
मिठो सुखदको अनुभव भयो। सायद यही दिनको पर्खाइमा थिएँ। मैले थपेँ, 'आरूबी, मलाई थाहा छैन तिमी केलाई सुखद् भन्छौ, तिमीले देखेको यी हिउँ केही समयको लागि मात्रा हो अनि फेरि पानी पर्छ र घाम लाग्छ। मलाई लाग्छ यी हिउँहरू कहिले नसकियोस्। मैले यी हिउँहरूमा तिमीलाई राखेको छु। बादलबाट खसेको हिउँ र तिमी उस्तै सुन्दर छौ। म हेरिरहन पाउँ।'
मैले यसो भनिरहँदा एकैछिन मौन भइन् र भनिन्- 'साहिल, तिमीलाई जस्तै निलो आकाश छुन र हेर्न सक्ने क्षमता छैन ममा, काँडै काँडा बीचको सुन्दर फूल हो। बस यसैमा खुसी छु।
यसो भन्नुको पछाडि धेरै भोगाइहरू छन्। जस्तै- मेरो बाल्यकाल, विवाह, जवानी, बच्चा, संघर्ष, अध्यात्म, प्रेम आदि आदि।'
यी सबै कोहीसँग मिल्दैन यस धर्तीमा। मेरो दुःख र सुख यही धर्तीलाई सुनाएको छु। यही धर्तीले एक पाइला टेक्न दिएको छ, र आज म तिमीसँग यसरी कुरा गर्दैछु। कुरा गर्नुको पनि खास कारण छैन। कारण नै नभइकन पनि कुरा हुँदो रहेछ। हुँदो रहेछ, मलाई थाहा थिएन।
बरू यस्तो सोच्दा तिमीलाई राम्रो लाग्छ कि लाग्दैन, त्यो मलाई थाहा छैन। थाहा पाउने कोसिस पनि गरिनँ। थाहा भएर पनि के हुन्छ र? यी सबै कुराहरूले अर्थ पनि राख्दैन। अँ! साँच्ची! तिमीलाई मेरो सम्झना आउँछ आजकल? मलाई लाग्दैन तिमीले पनि मैलेजस्तै सम्झन्छौ होला।'
'मृत मैनबत्तीको शिखासँगै पग्लिएर जमेका छन् तिम्रो सम्झनाहरू। ताजै छन् ती यादहरू। केही ठुटा बैँसहरू एस-ट्रेमा ढलेका छन्। सिगरेटका नाममा। कयौँ रातहरू सोफामै निदाएको छु। याद भन्ने कुरा पनि अचम्मको हुँदो रहेछ। हो, यिनै यादहरूसँग बाँचेको छु। यसरी पनि तिमीलाई प्रेम गरेर बाँचिएको छु।'
'अरू कुरा गर, मलाई यो प्रेम भन्ने चिज राम्रो लाग्दैन। मैले उहिल्यै श्रद्धाञ्जली दिएको मेरो प्रेमलाई।'
'मैले त सम्झनाका कुराहरू सोधेको, प्रेमका कुरा होइन। यदि प्रेम थिएन भने हामी टाढा भएर पनि किन घण्टौँ घण्टासम्म एकअर्कामा लिन छौँ?'
दूरी टाढा भए पनि हावा बनेर तिमीलाई सधैँ छोइरहेछ, मेरो स्पर्शले तिम्रो मन छोएछ। निसंकोच इसारा मात्रा दिउँ म मेरो बेग रोकी तिमीलाई अंगालोमा बाध्नेछु, सधैँको लागि।
'हजारौँ करोडौँ झूटमा यो एउटा नयाँ झूट। झूट, सबै झूट हुन्।'
'नचाहँदा नचाहँदै केही कुरा आफै घटित हुँदा रैछन्। विस्तारै बुझ्दैछु तिमीलाई सबै-सबै मेरो झूट लाग्छ। मसँग जोडिएका कुराहरू सबै झूट लाग्छन्।'
'त्यो तिम्रो समस्या हो, मेरो होइन।'
'मेरो त प्रेम थियो। तिमीलाई लाग्छ मेरो प्रेम र मेरो अतित सबै झूट हुन्। मसँग सत्य साबित गर्ने कुनै यन्त्र छैन। बस मेरो हृदय तिमीसँग छ, त्यही नै हो मेरो सत्य हो। त्यो सुन्दर समय तब हुनेछ जब तिम्रा पैतालाहरूको मधुर धुनले मेरो यो मुटुको धड्कनलाई संगीतको रागमा बाँधिराखेको होस। समुन्द्री छालले किनारमा उभिएको बालुवालाई जस्तै लगातार लुछुप्प भिजाएर आउँदै जाँदै गरेको हुनेछ। अनि लाग्ने छ मेरो प्रेम अमर छ।'
'म बुझ्दिनँ तपाईंका भाषा। म सरल मन पराउँछु। शब्दसँग खेल्नु हुन्छ होला भन्ने लाग्छ कतिखेर विश्वास नै लाग्दैन।'
'यदि यी कुराहरू सत्य भइदियो भने?'
'भइदियो भने ईश्वर छन् भनेर पूजा गर्छु।'
'ईश्वर? कुन ईश्वरको कुरा गर्दै हुनुहुन्छ?
'ईश्वर मेरो प्रेम हो, अनुभूति हो। गहिरेर सोच त, कसैले तिमीलाई प्रेम गर्छ भन्ने कुराको अनुभूति कति सुन्दर हुन्छ? यो जरुरी छैन कि हरेक सम्बन्धलाई प्रेमको उपमा दिइयोस्।'
'कुनै-कुनै सम्बन्धका भावनात्मक जोरहरू प्रेमभन्दा पनि पवित्र हुन्छन्। त्यो मलाई भन्दा पनि तिमीलाई थाहा छ। साहिल तिमी लेखक मान्छे। यसै पनि शब्दहरूले भुलाउन सक्छौ तर दैनिक जीवनका यावत तानाबानाहरूलाई कसरी भूलाउन सक्छौ?
यी साँझका बत्तीहरू धिप-धिप बल्दै सकिँदै छ। मधुरो प्रकाशमा तपाईंलाई मैले प्रष्टै देखिराखेको छु। चारैतिर फैलिएको गहिरो अन्धकारहरू बीचको बल्दै निभ्ने बत्ती हुँ म। बस मलाई आरामले सुत्न दिनुहोस्। म निदाउन चाहन्छु। यो छटपटीबाट मुक्त हुन चाहन्छु।'
'आरूबी! तिमी गहिरो निन्द्रामा हुन्छौ, म यता छटपटी रहेको हुन्छु। मेरो छटपटीले तिम्रो निन्द्रालाई बिथोल्ने छ। अनि दोष मलाई लाग्ने छ। म यो दोषलाई निवारण गर्न चाहन्छु।'
म बोल्दै गर्दा आरूबीको आवाज बन्द भयो।
जीवनको उत्तरार्द्धसम्म आइपुग्दा धेरै उतरचढावहरू आए र गए। जीवन भोगाइका दृश्यहरू पनि उत्तिकै सुन्दर छन्। कहिलेकाहीँ आफूले आफैलाई भ्रम पालेर बाचेको हो कि जस्तो लाग्छ।
थाहा छ, एक दिन हामी खुब मज्जाले गफिँदै थियौँ।
आरूबीलाई दूध चिया खुब मन पर्छ। चिया पिउँदै गर्दा मैले आरूबीलाई जिस्काउँदै भन्थेँ, 'मेरो जीवनको उदाउँदो घाममै तिमी आउनु पर्ने? उज्यालो छँदै तिमी किन भेटिएनौ?'
'मेरो लागि तपाईं यात्रामा भेटिएको मान्छे मात्रा हो,' आरूबीले भनिन्, 'बस! यात्रामा भेटिएको मान्छे मात्र।'
मैले भनेँ, 'यात्रामा भेटिएको मान्छे मात्रा हो र म? जे भए पनि एउटै यात्रामा त छौँ नि हामी।'
मेरो बोली नसकिँदै आरूबीले थपिन्, 'गन्तव्य फरक छ। सायद अबको यात्रामा तपाईं भेट्ने छैन। यो विषयमा सोच्नु भनेको मूर्खता हो। तपाईंले खोजेको जस्तो म छैन, फेरि लेखकहरू कथाका पात्र खोजिरहेका हुन्छन्। त्यो म होइन।'
मैले भनेँ, 'मेरो कुरा त सुन!
मेरा कबिताका पंक्तिहरूमा तिम्रा सौन्दर्यको शब्दहरूले भरिएका छन्।'
मलाई तपाईंको लेखहरूसँग नदाँज्नु होला, तपाईं जति लेख्नु हुन्छ त्यति जीवन भोग्नु भएको छैन। तपाईंले अघि मैले भनेजस्तै कथाको पात्र खोज्नु भएको हो भने तपाईं गलत हुनुहुन्छ। कबिताको एउटा अंश होइन म, गजलको काफिया र रदिफ होइन म र गीतको शब्दहरू पनि होइन म।
म म नै हो। एउटा अशान्ति मन बोकेर शान्तिको खोजीमा भौतारिरहेकी अवला नारी हो म। हो, म तै हो। जे देख्नुभएको छ त्यो तपाईंको भ्रम र आकर्षण बाहेक केही होइन। सौन्दर्यभन्दा धेरै आत्मा छ ममा।
मेरा शरीरका अंगहरूले तपाईंलाई भंग गर्छ भने त्यो पनि ढाकिदिएको छु। बस्त्रहरूले बेरिएको खोक्रो शरीर अब चितामा जल्न लालयित छन्।'
आरूबीसँग भेट नभएको महिनौँ भयो। तपोवन आश्रामबाटै हराइन्। कहिलेकाहीँ तपोवन जान्थेँ। आरूबीको याद आइहाल्थ्यो। घण्टौँ तपोवन वरिपरि खोज्थेँ। एउटा ढुंगामा आरूबीको यादमा लेखिदिएको छु- 'ए मेरो प्यारो मान्छे… आऊ मेरो नजिक आऊ…।'
मेरो मौनता गएर त्यो ढुंगामा अड्किएको छ। आज पनि त्यो ढुंगा आरूबीको पर्खाइमा छ।