पोहोर सालको वैशाखमा पनि यसैगरी पलाएको थियो यो म्यापल ट्री। एप्पल ट्री भने जस्तै लागेको थियो। पहिलो पटक यो रूखको नाम सुन्दा।
'दिस इज नट एप्पल। दिस इज म्यापल ट्री।' रसियन साथी एलोनाले मुस्कुराउँदै भनेकी थिई।
वैशाखमा पलाएको पात असोजमा रातो, कात्तिकमा सुन्तला रंग र मंसिरमा पहेंलै हुँदै पुसमा त रूखको जवानी नै रित्तिने गरी भुइँमा झरेको थियो।
चार महिनासम्म उजाड यो रूख वैशाखदेखि पुनः वैशालु हुन खोज्दै थियो। मान्छेको वैंश पनि यसैगरी फर्केर आउने भएऽऽऽ।
म मेरो बेडरूम बाहिरको कौसीमा बसेर बाटाका म्यापल ट्री हेर्दै त्यतै रमाइरहेकी थिएँ।
एक्कासि मोबाइलको म्यासेन्जरमा आएको कलको आवजले म झस्किएँ।
ओहो प्रकृतिको स्वाद लिदाँलिँदै चियाको स्वाद लिन पनि बिर्सिएछु। चियाको कपमा जमेको तर प्रमाण थियो।
म्यासेन्जरमा आउने कलहरू खासै महत्वपूर्ण हुँदैनन्, पछि कलब्याक गर्नुपर्ला। बेडरूममा छुटेको फोन उठाउन जान पनि जाँगर लागेन किनकि छ महिनापछि बल्ल आज कौसीमा बसेर प्रकृतिसँग रमाउँदै चिया खाँदै छु।
हाम्रो नेपालमा जस्तो जाडो महिनामा कौसीमा बसेर सुन्तला बदाम खाँदै घाम ताप्ने त यता कल्पना पनि नगरे भयो।
जाडोको घामको काम उज्यालो मात्र दिने हो, न्यानो होइन। जाडोको छ महिना त अति चिसो। बोल्दा पनि चिसो हावाले जिब्रो नै लर्बराइदिने अनुभव यतै आएर गरें।
धन्न कोठाभित्रको हिटिङ सिस्टम छ।
एक घण्टा जति प्रकृतिमा रमाएर हतार हतार कलेज गएँ।
साँझ घर गएपछि फेरि फोन बज्यो। कति पटक बेवास्ता गर्ने जाबो एउटा फोन कलसँग पनि ट्याकल गर्न नसक्ने लाक्षी त होइन नि म। फोन उठाएँ। मोबाइलले एक्स सासूको फोटो देखाएको थियो।
'सीमा! सीमा तिमी सन्चै त छौ नि। दिनभर कति फोन गरेँ। फोन नै उठाइनौ। सन्चो बिसन्चो के छ?'
'बिसन्चो त म हजुरहरूसँग हुँदा पो थिएँ। सञ्चो नै हुनको सबै सम्बन्ध टुक्राएर हिँडेकी हुँ।'
'त्यसो नभन सीमा, यता मदनको बेहाल भएको छ। कानुनी रूपमा डिभोर्स भएपछि पनि त्यही केटासँग कानुनी रूपमा बिहे गर्न मिल्दो रैछ। आफ्नो पढाइ सकेपछि सरासर यतै आऊ है बुहारी। अझै केही बिग्रेको छैन। तिमीसँग डिभोर्स भएपछि मदनले बिहे गरेकी केटी त पेशेवर रैछ। तिमी जस्तो हिरा हामीले चिन्न सकेनौं। एउटा जाँड खाने लोग्ने तह लगाउन नसक्नै भन्दै तिमीलाई मदनले दिएको शारीरिक पीडामाथि मानसिक पीडा थपें। मलाई माफ गर।'
भूतपूर्व सासू ननस्टप बोलिरहनु भएको थियो।
फोन नकाटिकनै फ्यात्त फोन बेडमा फालेर म भान्सातिर लागेँ।
खाइपिइ गरेर आउँदा एक्स सासूको फोन बन्द भैसकेको थियो।
कुनै पनि मेरा आफन्तलाई भूतपूर्व भन्न नपरोस् भनेर परिवारलाई मनाएर राख्न हरसम्भव प्रयास गरेँ। शारीरिक पीडा सहेँ।
हातमा चोटलाग्दा लामबाहुले लुगा लगाएँ। टाउकोमा चोट लाग्दा सल। ऐनामा हेर्दा आफ्नै अनुहार नचिने गरी चोट लाग्दा मास्क लगाएँ। गर्मी दिनमा पनि जाडो लागेको बहाना बनाएँ।
मेरो दिमागले काम नगर्ने गरी मानसिक पीडा सहेँ।
पटक/पटक अदालतमा दर्ता गरेको निवेदन फिर्ता लिएँ। परिवारमा मिलेर बस्न हरसम्भव प्रयास गरेँ।
मैले यति धेरै सहेको कुरा मेरो बुवा आमाले थाहा पाएपछि उहाँहरूकै सल्लाहमा मैले डिभोर्स गरेको थिएँ।
मैले डिभोर्स एक जनासँग गरेको थिएँ तर सयौँ जनासँग गरे जत्तिकै भयो। नाता टुट्यो सम्बन्ध छुट्यो। बिहे अगाडिको आफन्तको पनि मप्रति हेर्ने नजर परिवर्तन भयो।समाजको नजरमा म नै घरखान नसक्ने खराब महिलाको उदाहरण भएकी थिएँ।
यताको समाजमा जस्तै हाम्रो नेपाली समाजमा पनि आई एम अ डिभोर्सी भनेर निर्धक्क भन्न सक्ने वातावरण भैदिएको भए म विदेश नै आउने थिइनँ। नेपालमै केही इलम गरेर छोराछोरीसँग रमाएर बस्ने थिएँ। म नेपालमा बसेको नेपालको मायाले नभएर नेपाली समाजको भार भएर बसेँ जत्तिकै अनुभव हुन्थ्यो,समाजको प्रत्येक मानिसको मप्रतिको व्यवहारले।
'सीमा कमेसकम बाहिर जाँदा त सिन्दूर लगाएर जाऊ।'
'कस्को नामको सिन्दूर लगाऊँ आमा?'
'के तँ विधवा होस् र सिन्दूर नलगाउनलाई?'
कहाँका साइत गरेर गेटसम्म पुगेको म रूँदै फर्कन्थें।
हरेकपल्ट म घरबाट बाहिर निस्किँदा आमाले सिन्दूर लगाएर जान कर गर्नु हुन्थ्यो।
ज्वाइँको बारेमा कसैले सोधे भने कसैलाई विदेश, कसैलाई जिल्लातिर जागिरमा। सोध्ने मान्छे अनुसारको जवाफ दिनु हुनुहुन्थ्यो।
मेरो डिभोर्स भएको कुरा गोप्य नै राख्न चाहनु हुन्थ्यो। मेरो कारणले गर्दा मेरो परिवारको शिर ठाडो थिएन।
यस्तै विविध कारणले म पढ्ने र काम गर्ने बहानाले विदेश आएकी थिएँ।
यहाँका साथीहरू निर्धक्क साथ आई एम अ डिभोर्सी, आई एम सिंगल मदर भन्न उनीहरूलाई कुनै पनि हिच्किचाहाट थिएन। उनीहरू निर्धक्कका साथ भन्न सक्थे समाजको कुनै पनि डर थिएन।
हाम्रो समाजमा जस्तो जोसँग बोल्यो उसैसँग लभ र जोसँग लभ गर्यो उसैसँग बिहे गर्नुपर्ने कुनै पनि बाध्यता छैन तर हाम्रो समाजमा घरपरिवार मिलाउन सहनसम्म सहेर अन्तिम विकल्पको रूपमा बाध्य भएर डिभोर्स गर्दा अनेक लान्छना लगाएर महिलालाई नै दोष दिन्छ समाजले चाहेँ गल्ती जोसुकैको होस्।
पन्ध्र दिन अगाडिदेखि नै सासूको फोन नियमित रूपमा आउन थालेको थियो तर मदनको फोन चाहिँ आएको थिएन। बिर्सन्छु भन्दा पनि कता कता यो मनले उसैलाई सम्झिरहको हुन्थ्यो।
आज एक्कासि मदनको फोन आयो। भर्खर सुत्ने तर्खर गर्दै थिएँ। उसको फोन उठाएँ।
'सीमा तिमी सन्चै छौ। पहिला पहिला बेला बेलामा टाउको दुखिरहन्थ्यो नि आजभोलि कस्तो छ?' मदनले हतारिँदै सोधे।
'टाउको दुख्ने कारण नेपालमै छोडेर आएपछि किन टाउको दुख्छ?'
'ठिकै भन्यौ सीमा टाउको दुख्ने कारण नेपालमै छोडेर गइछौ। सायद त्यसैले होला त्यो आजकाल मलाई सरेको छ। तिमीले हाम्रो परिवारको खुसी सबै लिएर गइछौ। हुन त म माफीको लायक छैन होला। यदि तिम्रो जीवनमा अर्को साथी कोही छैन भने हामी फेरि नयाँ जीवन सुरू गर्न सक्छौँ। छोरा छोरी लगायत हामी सबै जना आफन्तको लागि यो खुसीको कुरा नै हुनेछ। समाजमा हामी उदारणीय नै हुनेछौँ। तिम्रो महत्व हामीले बल्ल बुझेका छौँ।'
'मदनले मलाई दिनहुँ जस्तो फोन गर्न थाले। माया फर्किएको जस्तो हो पलाएको जस्तो अनुभूति हुन्थ्यो मलाई पनि।
नेपाल आएपछि विचार गरौँला भनेर फोन राख्थेँ।
मेरो पढाइ सकेर म नेपाल फर्किन पन्ध्र दिन अगाडि सासूलाई फोन गरेर भनें- नेपाल आउँदा के ल्याइदिऊँ।
'सकुशल घर आऊँ। केही चाहिँदैन। तिमी आए पुग्छ।'
'नन्द र भान्जा भान्जीलाई र बुवालाई?'
'तिमीलाई इच्छा लाग्छ भने भान्जा भान्जीलाई केही ल्याए हुन्छ नभए पर्दैन।'
सासूलाई मैले उहाँलाई के चाहिन्छ भनेर सोध्दा भन्दा भान्जा भान्जी र ससुरालाई सोध्दा धेरै खुसी हुनु भएको थियो।
कलेज बिदाईको दिन एलोना आँखाभरी आँसु पार्दै रोई।
त्योभन्दा पहिल्यै नै म रोइसकेको थिएँ।
रातिको आठ बजे प्लेन नेपाल ल्यान्ड भयो। म लगेज घिसार्दै बाहिर निस्कँदा बाहिरको माहौल देख्दा म त अचम्मै परेँ।
सासू ससुरा मदन लगायत भान्जा भान्जी समेत मेरो स्वागतमा उभिरहनु भएको थियो। उहाँहरूलाई देख्दा मन भावुक भयो।
घर पुग्ने बित्तिकै घरको माहौल रमाइलो भयो।
मैले सुटकेशबाट उपहार झिकेर सबैलाई बाँडेँ।
सरासर हाम्रो बेडरूममा गएँ। त्यहाँ खाटमुनि एउटा पुरानो बाकसमा मेरो फोटो एल्बम र मैले दैनिकी लेख्ने गरेको डायरी झिकेर सुटकेशमा राखेँ।
'महिलाहरू कोमलमात्र हुँदैनन् परि आउँदा चट्टान पनि हुन्छन्। हजुरहरूले मेरो कोमल मनको बारम्बार दुरूपयोग गर्नुभयो। सायद त्यसैले होला मलाई मनाउन रूँदै रूँदै माफ माग्दै मलाई विदेशमा पनि फोन गरिरहनु भयो सायद म फर्किहाल्छु कि भनेर।
जतिखेर म हजुरहरूको परिवारमा थिएँ हजुरहरूले यो दिन सपनामासम्म पनि नसोचेर मलाई दुःख दिइरहनु भयो।
विदेश बस्दा मैले केही पढेँ। केही कमाएँ। मुख्य कुरा त मैले मेरै समाजसँग भागेर होइन भाग लिएर बाँच्ने आत्मविश्वास लिएर फर्किएँ। यो समाजसँग लड्न मैले मेरो मनलाई जितेर फर्किएँ। मेरो जिन्दगी मैले बाँच्ने हो। आजदेखि निर्धक्कका साथ भन्ने छु। यस आई एम अ डिभोर्सी!'
सुटेकश लतार्दै बाहिरिएँ। कसैको आँसुको भेलले मेरा खुट्टा डगमगाएनन्।