मान्छेका विभिन्न चाहनाहरू हुन्छन्। कोही घुम्न मन पराउँछन्, कोही यताउता हिँडडुल गर्न। कोही साइकल चढेर त कोही बाइक चढेर घुम्न मन पराउँछन्। कोही घरमै बसी आनन्दका साथ बस्न मन पराउँछन्।
नेपाल त्यस्तो देश पनि हो जहाँ हिमालहरू पाइलैपिच्छे देखिन्छन्। त्यसैले पनि त होला कोही ती विभिन्न हिमालहरू चढ्न मन पराउँछन्। सबैले आफूलाई अलिअलि भए पनि समय छुट्टयाएका हुन्छन् मनोरञ्जन अनि मन भुलाउनका लागि, साथै आनन्द लिनका लागि।
वैशाख ३० गतेको चुनावी माहोल चलिरहँदा नै आज एउटा भयानक सपना देखेको छु। म त सपना देखेकै भरमा आत्तिएँ। राती उठेर ७ घुट्की पानी पनि पिएको छु आज। भयानक सपना बिहानसम्म बिर्सेला भन्दै आफ्नो सपनालाई चित्रण गर्दै राति नै यो लेख तयार पारेको छु। अहिले ठ्याक्कै रातिको १२:२७ बजिरहेको छ।
सपनाको पात्रलाई मैले चिनेको छैन, न उसलाई सपनामा कसैले उसको नामले बोलायो। यस कथामा म उसलाई एउटा काल्पनिक नाम 'आकाश' ले सम्बोधन गर्न चाहन्छु।
आकाश ट्रेकिङ पेसामा संलग्न थियो र एउटा कुनै कम्पनीमा आवद्ध थियो। करिब ८ वर्षसम्म त्यो जागिर खाएर ऊ विज्ञ भैसकेको थियो। अहिले उसले आफै एउटा कम्पनी खोलेर बसेको छ, जसले पर्यटकहरूलाई घुमाउन लैजान्छ।
ऊ पनि कहिलेकाहीँ घुम्न निस्किन्छ। आफ्नो धरातल बिर्सिदैँन। कहिलेकाहीँ हिमाल पनि चढ्न जान्छ र खुसी हुँदै फर्किन्छ। बेलाबखत हिमाल चढ्नका लागि पर्यटकहरू आउँदा ऊ पनि सँगै हिमाल चढ्न जान्छ।
काठमाडौँको आकाशबाट नदेखिने ताराहरू उसले हिमालमा आफैमा ताराहरू भेट्टाउँछ। हिमालको टुप्पोमा पुगी भिडिओ बनाउँछ, खुसी हुन्छ र भन्छ- हिमालको चुचुरोले पनि मलाई छुन सक्दैन किनकि म आकाश हुँ, आकाश।
प्रायः धेरै अग्ला चुचुराहरूमा पुगेर उसले भिडिओहरू बनाएको छ। नेपालका लागि घुम्ने सिजन बनेसँगै पर्यटकहरू भरपूर मात्रामा आउने क्रम जारी छ। ऊ एकदम उत्साहित देखिन्छ किनकि यसपालि उसको सगरमाथा चढ्ने पालो पाएको छ, साथी पाएको छ, अवसर पाएको छ। हिमाल चढ्न मन पराउने मान्छे, उसले यो अवसर चाहेर पनि गुमाउला र? बिलकुल नगुमाउने सोचमा थियो ऊ।
विभिन्न नेपाली पर्यटकहरूदेखि लिएर बाह्य पर्यटकहरू पनि उसको समूहमा सामेल थिए। घुमघामको २१ औँ दिन चलिरहेको थियो, भिडिओ बनाउँदै हिँडिरहेको थियो ऊ। सतहबाट धेरै माथि पुगिसक्दा उसले ठूला-ठूला महलहरू देख्यो। उता महलहरू हावामा तैरिरहेका थिए र भयंकर ठूला बगैँचा बनाएर सजाइएका थिए।
कतै सपनामा त हैन भनेर उसले आफैलाई चिमोट्यो। बिपनामै रहेछ। उसले आँखाले देखेको अनि कैद गरेको दृश्य सायदै अहिलेसम्म कसैले देखेका थिए। उसले ती ठूला महलहरूका बगैँचामा थुप्रै भगवानहरू, नाग, किन्नर, अप्सरा, आदि इत्यादि देख्यो।
त्यही दिन सुसारेहरूले स्वर्गलोकका महलहरू अन्तर्ध्यान हुने बत्ती निभाउन बिर्सेका रहेछन्। त्यसैले आज आकाशले यस्तो दृश्य देख्न पाइरहेको छ। फोटोमा कैद गर्दै उसले आफ्ना साथीहरूलाई पनि बोलायो। उसका ९ जना साथीहरू पनि त्यहाँ छिटोभन्दा छिटो आइपुगे। सबैले टाढैबाट प्रणाम गरे र एकछिनसम्म मन्त्रमुग्ध भएर त्यो दृष्य हेरिरहे।
मानिसहरू चोकतिर गफिन्छन्- 'यत्रो सानो देशमा जनताभन्दा कार्यकर्ता बढी भेटिन्छन्।'
ती ९ जना पनि त्यसबाट अछुतो रहनसकेका रहेनछन्। तुरुन्त आफ्ना पार्टीका ठूलाठूला नेताहरूलाई स्याटलाइट फोनबाट खबर गर्दै उनीहरूलाई तुरुन्त हेलिकप्टरमार्फत आउन उर्दी जारी गरे। सबै दल, सबै गुट, सबै गठबन्धनका नेताहरू लगभग एउटै समयमा पुगे।
सिधैँ भगवानहरूको आँगनमा गएर हेलिकप्टर बिसाए। भगवानहरू पनि एकछिन हाम्रा नेताहरूलाई देखेर आत्तिए। सुसारेहरूले अन्तर्ध्यान हुने बत्ती निभाउन बिर्सिएको बल्ल उनीहरूले थाहा पाएका थिए।
त्यही पनि भगवानहरूले आफ्ना पाउनाहरूलाई राम्रो स्वागत सत्कार गरे, आँगनमा डाके, र के कामले आएका हौ भनि सोधे। थोरै केही समय आ-आफ्ना हालचालका बारेमा एक-अर्कालाई सोधे। र आफू विशेष चुनावी माहोलका लागि त्यहाँसम्म आएको उनीहरूले सुनाए।
भगवानहरूले पनि ध्यानदृष्टिले हेरेर 'सरकारी खर्चमा, सरकारी सम्पत्ति सकेर आएका रहेछौ, आ-आफ्ना इच्छा आकांक्षाहरू माग' भने। नेताहरूले आफूलाई ५ मिनेट सबैसँग छलफल गर्नका लागि भगवानहरूसँग समय मागे।
छलफलपछि सबै नेताहरू एउटै निर्णयमा पुगे। सबै नेता गण, सबै गुट मिलेर एकजना प्रवक्ता घोषित गरे। उसले सबै बोल्ने कामहरू गर्नुपर्ने भयो। ऊ उठेर सबैलाई सम्बोधनका साथ आफ्नो भाषण सुरु गर्यो।
दस मिनेट सबैलाई सम्बोधन गरिसकेपछि ऊ आफ्नो मुद्दामा फर्कियो, उसले आफ्ना निर्णयहरू सुनाउन थाल्यो। उसका मागहरू सुनेर भगवानहरू अलमल्ल परे। म पनि सपनामा र सपनापछि उठेर त्राही-त्राही भएको थिएँ, कस्ता हाम्रा नेताहरू भन्दै।
प्रवक्ताले त्यस बखत सबै भगवानहरूलाई विभिन्न जिल्लाहरूमा आउँदा नेपाली नागरिकता बनाइदिने वाचा गरेका थिए, जसमार्फत आफूलाई पायक पर्ने जिल्लाहरूको भोटर आइडी कार्ड पनि बनाइदिने आश्वासन दिएका थिए।
अनि हरेक चोटि आफूहरूले बनाइआएको घोषणापत्रहरूले प्रत्येक चोटि जनतालाई झुक्याउन पाइयोस् भनेर पनि वर मागेका थिए। त्योभन्दा पनि बढी मिल्छ भने त भगवानको मायाद्वारा प्रत्येक चोटि भेष बद्लिँदै आफूहरूलाई धेरैभन्दा धेरै भोट हाल्नका निम्ति अनुनय विनय गरिरहेका थिए।
ओहो! झल्याँस्स ब्युँझिएँ। ब्युँझिनै पर्ने पनि त बेला भएको रहेछ, यस्तो भयावहबाट। अझैँ सुतेको भए सायद के-के वर माग्थे होला! असाध्यै डर लाग्यो।
म बेलैमा ब्युँझिएका कारण भगवानले पनि तथास्तु भन्न पाएका थिएनन्, खुसी लागेर आयो। आशा छ यस्ता प्रकृतिका सपनाहरू विपनामा नदेखिऊन्। आशा गरौँ नेपाल समृद्ध हुँदै जानेछ। सबैमा शुभकामना।