तिमीसँग केही न केही,
मेरो छुट्ने नै भयो।
सम्झनाका स-साना पलहरू,
ती आँखाले बोलेका,यो मनले सुनेका,
कहिले झिम्केका,
कहिले तर्केका तिम्रा ती नजरहरू,
ती रेसमी कपालका झिल्का हरू,
जुनसरी चम्केको त्यो मुहार,
नागवेली कम्मरको उभार,
आलिंगनका ती मीठा छणहरू
बिर्सूँ त बिर्सौ कसरी,
सम्झनाका ती सबै पलहरू।
यस यात्रामा एक पछि अर्को हुर्केका,
इच्छा आकांक्षाका क्षणहरू।
समेटेर राख्न चाहन्छु सबै,
तर बोकौं कसरी?
हिजो भन्दा आज भारी भो!
मनले बोक्ने तिम्रा सम्झनाका सारहरू
जीवन त बगिरहेछ,
कहिले नफर्किने छाल सरि।
चाहँदा नचाहँदै नै,
तिमीसँग मेरो केही न केही छुट्ने नै भयो।
यो साथ,बिहानीको शितको थोपा,
करकलोको पात हुँदै,
एकपछि अर्को हिरा झै खसिरहेछन्।
बाँधेको मुठ्ठीबाट,
बालुवा झरेसरि जीवन छुट्टी रहेछ।
मिल्नु बिछोडुनुको आफ्नै छ नियति,
यति पर आउँदा, तिमीसँग केही त छुट्ने नै भयो।