अवचेतनमा बर्बराउला
प्रचण्ड गर्मीमा सूर्य स्नान गर्ला
ठन्डीमा बरफ पानीमा डुबुल्किएला
आकाशमा पौडिएला
तारा गनेर समय कटाउला
हावा चपाउला
तर,
आत्मा बेच्ने सपना पनि देख्दैन
एउटा सपनाभित्र सपना देख्ने मान्छे।
निर्जीव अक्षरहरूसँग कुरा गर्ने
पागल साथीहरूलाई हेर
कुची र कागजसँग खेलिबस्ने
स्वाभिमानी बहुलट्ठीहरूलाई हेर
ल्याबका कोठामा घोरिएर बस्ने
परचिन्तक एक्ले ढेडुहरूलाई हेर
गोबर र माटोमा लुटपुटिएका
कर्मठ लाटाहरूलाई हेर
पसिनाले लतपतिएका
एकसुरे उद्यमीलाई हेर
कठै!
ती अपराधका जाला नबुन्न जान्नेहरू
ठगीका शिल्प नसिकेकाहरू।
प्रशंसाका भोकाहरू हो
दुनियाँले गाली गरेको सपना देख
पदकका लोभीहरू हो
ऐनामा आफैलाई हेरेको सपना देख
कुर्सीका लालचीहरू हो
आफ्नै धोती खुस्किएको सपना देख
अहंकारका थुप्राहरू हो
चितामा जलेको सपना देख
भोगका डङ्गुरहरू हो
इन्द्रीय डढेको सपना देख
सुखेन्द्रीय कुहिएको सपना देख
सायद
तिमीहरूले आत्मा बेच्नु पर्दैन
उसले जस्तै
जसले सपनाभित्र सपना देख्छ
जसले सपनाभित्र सपना देख्छ।