हेरिरहेँ ओल्टाइपल्टाइ
ती पुस्तक र डायरीहरूलाई
सपना देख्न सिकाउनेछ पुस्तकले
सपना कोर्न सिकाउनेछ डायरीले
किताब त भरिएको थियो शब्दहरूले
तर त्यो खाली डायरी
अझ धेरै चिज माग्दै थियो
कति धेरै सम्भावित शब्द साहित्य बोकेर
खोइ के कोरेर सुरु गरुँ
खोइ के लेखेर भरुँ
उनले दिएको डायरी उपहार
यसो खाली पानाहरू
जब ओल्टाइपल्टाइ हेर्छु
मौन तर कति भावना लुकेका
तिमीले हेर्दा तिम्रो
मैले हेर्दा मेरो
जसले हेर्यो उसकै
आकारमा ढलिदिने
जसले जे सोच्यो
त्यही कुरा झल्को दिने
त्यो खाली पानामा
खोइ के कोरेर सुरु गरुँ
खोइ के लेखेर भरुँ
उनले दिएको डायरी उपहार
कलम कस्तो बदमास छ
त्यो स्वतन्त्र खाली पानामा
लेखिदिन्छ दुई शब्दहरू
मेटाइदिएर उसको अनगिनत सम्भावनाहरू
विचरा
दास बन्नेछ
गुलाम बन्नेछ
सबैको नजरमा अब
कल्पनीय छैन त्यो पाना
त्यो तिम्रो सोचको आकारमा ढल्दैन अब
ढल्नेछ त कलम घिसार्नेको सोचमा
उसको अस्तित्व त्यही दुई शब्द
त्यसैले त म
खाली पाना भर्नु डराउँछु
के उसलाई पूर्णता दिन म काबिल छु
मारेर उसको स्वतन्त्रता
मैले केही भर्दै गर्दा
नचुहाओस् त्यो खाली पानाले
हीनताबोधको आँसुहरू
खोइ के कोरेर सुरु गरुँ
खोइ के लेखेर भरुँ
उनले दिएको डायरी उपहार।