अब त ठूलठूला नेताहरूसँग
टन्न खाएर चुँठु कि
मै मिरमिच्चे म्या-म्या बुरुक
म पनि मेयरमा उठुँ कि?
तैँ चुप मै चुप गठबन्धनमा
म पनि प्रवेश गरी पसुँ कि
ठूलठूला नेताको महलको
आरामको कुर्सीमा बसुँ कि
ए दुखी, ए गरिब तिमीसँग
कहिले नभेट्ने गरी छुटुँ कि
मै मिरमिच्चे म्या-म्या बुरुक
म पनि मेयरमा उठुँ कि?
बोलेदेखि भाषणले भइहाल्ने
झोले जति पछि लागिहाल्ने
गल्ती भयो, जानिनँ, सुध्रिन्छु
भनेपछि दोष सप्पै भागिहाल्ने
व्यापारीको आर्थिक हिसाबमा
उम्मेदवारी दर्तामा जुटुँ कि
मै मिरमिच्चे म्या-म्या बुरुक
म पनि मेयरमा उठुँ कि?
इमान, धर्म, स्वाभिमान छोडेर
लोभ लालच घमण्डले फुलुँ कि
चाउरे भुँडीको छाला तन्काएर
रातो, मिठो, गुलियोमा भुलुँ कि
मान्नेहरूलाई मान-तक्मा दिलाएर
सत्यतथ्य बोल्नेलाई कुटुँ कि
मै मिरमिच्चे म्या-म्या बुरुक
म पनि मेयरमा उठुँ कि?