आखिर टुक्रिएको काँचमा पनि
मुस्कुराएको अनुहार देख्छु
टुटेको दिलमा पनि
आशाको दियो बलेको देख्छु
हारको लर्को लागिरहँदा
जितको लागि दौडिएको भेट्छु
भोक र प्यासको पर्वाह नगरी
समय झैँ थकान रहित
चक्कर काटेको देख्छु
भन्न पनि के भनौँ
तारिफ गरेजस्तो लाग्छ
झर्दा झर्दैको आँसुको थोपामा पनि
तिम्रै तस्बिर कैद भएको देख्छु!
पराई ठान्लान अरुले
तर
सरलता र सत्यप्रतिको
तिमीमा अटल विश्वास देख्छु
पाइलाहरू अयोग्य होलान्
र पनि
म्याराथनको रफ्तारमा गन्तव्यतिर लम्किएको देख्छु
थाहा छ
आशालाग्दो परिणाम नआउलान्
तैपनि सम्बन्धको न्यानोपन सजिएको देख्छु
स्वतन्त्रतामा रमाएर के भयो
धैर्यताको बाँध टुटेको देख्छु
अनि
जीवन पनि छोटो लाग्छ
निसंकोच
त्यही अनुहारको पर्खाइमा देख्छु
तारिफ गरेको होइन मैले
आखिर के लुकेको छ कुन्नी त्यो रूपमा
एक्लै स्वर्गको बगैँचामा
ज्योति छरिरहेको देख्छु।