डोजर चलाएर
विकास भएको मेरो गाउँमा
अग्लो ठाउँ रोजेर
दृश्य अवलोकन गर्नलाई
एउटा घर
पोहोर साल मात्र ठड्याएको छ।
उक्त घरको टुप्पोबाट
पश्चिम दिशामा हेर्दा
तल्लो भागमा वनमारा उम्रेर जंगल भएको खेत देखिन्छ
बीचको भागमा वनमारा उम्रेर जंगल भएको बारी देखिन्छ
र, माथिल्लो भागमा राम काकाको भत्किएको घर देखिन्छ
दक्षिण दिशामा हेर्दा
एउटा पुरानो छाप्रो देखिन्छ
जहाँ शिखर स्वास्थ्य चौकी लेखिएको छ
र, एक कार्यलय सहयोगी सफाइ गरिएको देखिन्छ
त्यहीँबाट पूर्व दिशामा हेर्दा
पुरानो जस्तापाताले छाएको
लाम्चो आकारको घर देखिन्छ
जहाँ लेखिएको छ- श्री बलभद्र निम्न माध्यमिक विद्यालय
जहाँ दस/पन्ध्र जना नानीबाबु
एक शिक्षक, एक सहयोगी देखिन्छ
धारा देखिन्न, रित्तो ग्यालिन र गाग्री देखिन्छ
चर्पी देखिन्न, जंगलतिर दिसापिसाब गरिरहेको नानीबाबु देखिन्छ
उत्तर दिशामा हेर्दा
तल्लो भागमा
उत्तर पूर्व हुँदै बग्ने
एउटा खोला देखिन्छ
जहाँ काठको जीर्ण काठेपुल देखिन्छ
बीचको भागमा
केही पशु चौपाया र एक/दुई जना गोठाले देखिन्छ
त्यसैको माथिल्लो भागमा फाट्टफुट्ट पुरानो घर देखिन्छ
एक/दुई जना वृद्ध आमा-बा देखिन्छ
युवा देखिन्न, युवती भेटिन्न
हुन त भए पो देखिन्छ, भेटिन्छ
युवा विदेश, युवती विदेश
र हाम्रो प्रतिनिधि भाषण ठोक्छ
हामीले रोजगारी दियौँ
व्यापार व्यावसाय गर्ने वातावरण मिलायौँ
हामीले विकास गर्यौं ।
मलाई नि लाग्छ
डोजर चलाउनु
असारे विकास गर्नु
मठ मन्दिर बनाउनु
दृश्य अवलोकन गर्न घर बनाउनु
यही होला विकास
यही होला परिवर्तन
यही होला घर-घरमा सिंहदरबार।