पहिलो पटक देखेको थिएँ मैले उसलाई खाजा खाने क्रममा होटलमा। हँसिली, गोरी, चञ्चले स्वभाककी मुसुक्क हाँस्दा खत्रा देखिन्थी। कालो लेदरको ज्याकेट, कपालमा रुमाल बाँधेकी थिई। हेर्दा कुनै फिल्म या त गीतको मोडलजस्तै लाग्थ्यो। ऊ राम्री थिई मेरा लागि। पहिलो नजरमै उसले मन जिती मेरो।
मैले ऊपट्टि फर्केर हेर्दा मुसुक्क हाँसी, म लाजले भुतुक्कै भएँ। अहिले सम्झँदा हाँसो लाग्छ आफैलाई। त्यो बेला त्यस्तै रह्यो मेरा लागि। हामी खाजा खाएर निस्कियौँ। त्यति बेलासम्म ऊ को हो? कहाँ हो घर? के गर्छे? मलाई केही थाहा थिएन। त्यसपछि हाम्रो भेट भएन।
म घर गएँ दसैँतिहारमा। मेरो घर पश्चिम, उसको घर पूर्व। ऊ केही समय मेरो नजरमा परिन। हाम्रो भेट भएन।
एकदिन रातिको खाना खाएपछि लगभग ८/९ बजेतिर मोबाइल चलाउँदै थिएँ। अचानक ऊ मेरो फेसबुकको स्क्रीनमा देखा परी। उसको नामथर देखेँ। देख्नेवित्तिकै हतार-हतार प्रोफाइल चेक गरेँ। उसले फेसबुकको कभर फोटोमा सारी र चोली लगाएकी थिई। त्यो फोटो हेर्दा मलाई ऊ झन् खत्रा लाग्यो।
मलाई उसको रिलेसनशीप स्टाटस चेक गर्न मन लागेको थियो। फेसबुकमा सिङ्गल लेखेको थियो। तर भर लागेन, आजकलका केटाकेटीहरू रिलेशनमा भए पनि खासै देखाउँदैनन्। उसलाई नै सोध्नु पर्छ यी सब कुरा सोचेँ।
अब मलाई ऊसँग बोल्न पनि मन लाग्यो। पठाएँ फ्रेन्ड रिक्वेस्ट। उसले पनि छिट्टै रिक्वेस्ट एसेप्ट गरी।
कुराकानीको सुरुआत मैले नै गरेँ, 'हेलो, के गर्दैछौ?'
उसले भनी, 'ठिकै छ, बसिरको छु।'
उसको उत्तरमा सरलता प्रष्ट देखिन्थ्यो। विस्तारै संवाद अगाडि बढ्यो। मैले उसलाई 'आर यू सिंगल?' भन्दै प्रश्न गरेँ।
उसले पनि अंग्रेजीमा 'एस' भन्दै सटिक जवाफ दिई।
'यति राम्री छौ, किन सिंगल?'
उसले यत्तिकै भन्ने जवाफ दिई।
मैले पनि धेरै एउटै कुरामा प्रश्नउत्तर गर्न जरुरी ठानिनँ। उसलाई सिधैँ भेट्ने प्रस्ताव राखेँ, 'भोलि अफिस अगाडिको चौतारोमा पर्ख न।'
यो उनीसँगको एक अनौपचारिक भेट थियो। उसले 'हुन्छ' भनी। त्यो रात मेरा लागि अत्यन्तै लामो भयो। कतिबेला उज्यालो हुन्छ भयो। भोलिपल्ट बिहानै उठियो। होटलमा खान खान्थेँ। खाना खाएँ, तयार भएर अफिस जाँदै गर्दा अचानक बाटोमै उनीसँग भेट भयो।
'नमस्ते सर!'
मैले पनि 'नमस्ते' भनेँ। यति भनेर ऊ त्यहाँबाट हिँडी। म पनि आफ्नो बाटो लागेँ। त्यो हाम्रो पहिलो भेट थियो।
क्रमिक रुममा हाम्रो कुराकानी फेसबुकमार्फत अगाडि बढ्न थाल्यो। मलाई ऊ निकै मन पर्थ्यो। हामीले त्यो बेला 'आई लभ यू' जस्ता कुराको कुनै सामना गर्नु परेन। उसले मेरो केयर गर्ने र अरुसँग बोलेको मन नपर्नेसम्मका कुराले मलाई माया गर्छे भन्ने कुरा प्रष्ट नै थियो।
हाम्रो कुराकानी अगाडि बढ्दै गयो। ऊ पनि अफिसमा काम गर्थी। ऊ अफिसमा धेरै काम भएकाले बिजी हुने बताउँथी। म भने प्रायः फुर्सुदमै हुन्थेँ। खाजा खाने समयमा ऊ मलाई मेसेज गर्थी, 'खाजा भयो सर?' भनेर। मैले उसलाई सर नभन्न अनुरोध गरेँ। मैले उसलाई सुरुदेखि नै तिमी भनेर सम्बोधन गर्थें। हुन त उसलाई पनि मिस भन्न सकिन्थ्यो। तर मैले भनिनँ। त्यो मेरो आफ्नै बाध्यता थियो।
विस्तारै हाम्रो प्रेम रुखको हाँगाहरू झाँगिएजस्तै झाँगिन थाल्यो। कुरा अगाडि बढ्यो हाम्रो। सम्बन्ध पराईबाट आत्मीयतामा परिणत हुन थाल्यो। समय बित्दै गयो, हामी एक प्रेमी र प्रेमिका भयौँ। ऊ निकै खुसी भएको आभास गराउँथी, म पनि उनलाई पाएकोमा खुसी थिएँ। कहिले बिहानपख 'गूड मर्निङ' भन्दै आउँथी, कहिले 'गुड नाइट'को मेसेज मैले नपठाउन्जेल कुरा गरी बस्थी।
कहिले एकाबिहानै कल गर्थी, कहिले मिस्कल त कहिले कल गर्नु भन्दै मेसेज गर्थी। हाम्रो कुराकानी विस्तारै निकै राम्रो हुँदै थियो। हामी एउटै इन्स्टिच्युटमा पढ्ने भयौँ। म ऊभन्दा केही दिन अघि नै पढ्न थालेको थिएँ। ऊ पनि पछि त्यही पढ्ने भएकी थिई। हाम्रो सेक्सन पनि एउटै भयो। अफिस छुट्टी भएपछि म पढ्न जान्थेँ।
मेरो र उसको सम्बन्ध यस्तो छ भनेर कसैलाई थाहा थिएन। उसका साथीहरू पनि थिए। म उसका साथीहरूसँग बोलेको मन पराउँदैन थिई ऊ। कक्षामा केही भन्दिन थिई तर बेलुका भिडिओ कलमा सुनाउँथी, 'मेरो साथी तपाईंलाई मन परेकी हो? किन बोलेको? म नराम्रो लाग्न थालेजस्तो छ!'
म अरुसँग बोलेको उसलाई मन पर्दैन भन्थी। 'तपाईं मेरो मात्र हो, अरुसँग मस्किने हैन' भन्दै सम्झाउँथी बेलाबेला। ऊ फेसबुकमा कसैकोमा कमेन्टको कुरा लिएर मसँग झगडा गर्ने गर्थी। उसको र तपाईंको सम्बन्ध के हो भन्दै प्रश्न गर्ने उसको त्यो आदत नै थियो।
यो सब माया होला जस्तै लाग्थ्यो। यति बेलासम्म म ऊसँग निकै आत्मीयताको अनुभव गर्ने भैसकेको थिएँ। हाम्रो धेरै भेट नभए पनि मेसेन्जरमा भिडियो कल गर्थ्यौं। लामै समयसम्म कुराकानी हुन्थ्यो। ऊ प्रायः मलाई कल गर्थी भिडिओमा। म उसको भिडिओ कल, म्यासेजको प्रतीक्षामा हुन्थेँ।
मैलेभन्दा पहिले भिडिओ कल गर्छु भन्ने केटी सायद ऊ नै हो मेरा लागि। अबेरसम्म कुराकानी हुन्थ्यो। 'बाबा रिसाउनु हुन्छ, म लुकेर भए नि तपाईंलाई कल गर्छु' भन्थी। म उसलाई नजिकबाट महसुस गर्न थालिसकेको थिएँ।
ऊ भन्थी, 'मलाई सधैँ यस्तै माया गर्नु हुन्छ?'
म 'सधैँ' भन्थेँ।
उसलाई सोध्थेँ, 'मलाई माया गर्छौ नि?'
ऊ 'लब यू फरएभर' मेसेजमा लभ वाला इमोजी पठाउँथी।
म डेरामा बस्थेँ। उसको भने आफ्नै घर थियो। उसको बाटो म बसेको घर हुँदै जानु पर्थ्यो। म झ्याल आधा बन्द आधा खुला गरी पुस माघको चिसोमा निहालेर उसलाई हेर्थें। एक्लै हुँदा ऊ पनि हेर्थी म बस्ने कोठाको झ्यालतिर। राम्रै थियो हाम्रो सम्बन्ध।
विस्तारै सम्बन्धमा उसले नै फाटो ल्याई। ऊ अब पहिलेको जस्तो रहिन। त्यसपछि आफू परिवर्तन भएको जस्तो संकेत मलाई दिइरहन्थी। पहिले साह्रै मिठो बोल्ने ऊ विस्तारै बदलिसकेको जस्तो भान हुन्थ्यो।
म उसलाई धेरै माया गर्थें। त्यसैले म उनीसँगको सम्बन्ध बचाउन अनुनय विनय गर्थें। तर उसले बोल्ने शब्दमा रुखोपन ल्याउँथी, रिसाएर कल काटिदिन्थी। त्यसपछि ऊ मेरो लागि केही होइन जस्तै गर्थी।
पहिलेको कुरा सम्झिन्छु, मसँग भिडिओ कल गर्दै रोएको सम्झिन्छु। ऊ अनलाइन आउँथी तर मसँग बोल्दैन थिई। के-के कुराले मलाई टार्थी। ऊ केही हदसम्म मलाई दिक्क लाउने कुरा गर्थी। ऊ हामी बोल्दा सुरुको जस्तो खुसी थिइन। पहिले मसँग नबोली बस्न नसक्ने मान्छे अहिले म बाहेकको कल्पना गर्दै रमाउँदै गई।
विस्तारै हाम्रो भेटघाट बन्द हुन थाल्यो। ऊ मलाई बिर्सने अन्तिम तयारीमा थिई। एकदिन मैले उसलाई चौतारीमा भेट्न बोलाएँ। त्यो दिन हाम्रो केही कुरा हुन सकेन। हावा, हुरी, बतास चल्यो। ऊ त्यहाँबाट निस्की, म पनि निस्केँ।
मसँगको भिडिओ कलमा घन्टौँ बिताउने ऊ विभिन्न बाहना बनाउन खप्पिस भैसकेकी थिई। ऊ मलाई इग्नोर गर्दै गई। समय सधैँ एकनासले नचल्ने रैछ। मेरो जिन्दगीमा पनि २०७२ बैशाख १२ को भन्दा ठूलो भुइँचालो आयो। देख्दै गरेको मेरा साना-साना सपनाका घर चकनाचुर भए।
म आफैलाई सम्हाल्न असमर्थ भएँ। मेरो शरीरले मलाई थाम्न सकेन। मेरो दिमागले मलाई नियन्त्रण गर्न सकेन। आँखा आँसले सुनिए, सिरानी कति दिनसम्म आँसुले भिजिरह्यो।
आमाबुवा, घर परिवारलाई सम्झैर आफूलाई जसोतसो सम्हालेको छ। उसलाई सम्झिँदा अझ पनि मन थरथर काप्छ। आज यो लेख्दै गर्दा ऊ मेरो गर्लफ्रेन्ड रहिन। अचेल कहिलेकाहीँ उसलाई देख्दा मलाई लाग्छ, ऊ पनि मेरी प्रेमिका थिई र?