जन्मदिने आमाबुबा, घर-परिवार, अग्रज आफन्तहरूले भनेको कुरा नमान्दा पछि आफ्नै जीवनमा ठेस पुग्न जान्छ। 'बाबुनानी, राम्रोसँग पढाइ गर' भनियो, आफू सधैँ आमाबाबुको आँखा छल्ने काम गरियो। उत्तिबेलै हेरौँला जस्तो लाग्यो।
विद्यालयमा पढाउने गुरुले दिएको गृहकार्य कहिल्यै गरिएन। कक्षा कोठामा अशान्ति होहल्ला गरेर बसियो। विद्यालय समयमा, विद्यालय हाताभित्रै रहेको चमेना गृहमा र विद्यालय समयपछि गाउँकै नजिक पिपल चौतारीमा अड्डा जमाएर बसियो। कहिले जय नेपाल त कहिले लाल सलाम गर्न पाखुरा बट्टार्ने काम गरियो।
घरायसी कामकाजमा आमाबाबु, अंकल, दाजुदिदीलाई कहिल्यै सघाइएन। खालि पढाइ गर्ने बहानामा कामचोर भइयो। पढाइ लेखाइबाट जीवनमा के महत्त्व हुन्छ, त्यसको कुनै मतलब नै राखिएन। परीक्षामा चिट चोरेर भए पनि जेनतेन पास त भइयो तर वास्तविक ज्ञान हासिल गर्न सकिएन।
पढाइ लेखाइ गर्नु जागिरका लागि हो भन्ने सङ्कीर्ण मानसिकता दिमागमा पालेर बसियो। कुनै पार्टीको भ्रातृसंगठन खोल ओढेर, झोले भएर टाउकोमा रातो रिबन बाँधेर यहीँ रंगिन संसारजस्तो गरेर बसियो। मुर्दावाद र जिन्दावाद गरेरै महत्त्वपूर्ण र अमूल्य समय त्यसै खेर फालियो। कामै नगरी खान पाएपछि मान्छेलाई गलत दिशातिर लग्दो रहेछ।
समयको महत्त्व नबुझेपछि भविष्यमा महापछुतो हुँदोरहेछ। समयभन्दा बलवान यो संसारमा केही हुँदैन र छैन।
हातमा शैक्षिक प्रमाणले के चाट्नु? न ज्ञान पाएको छ न सीपमूलक शिक्षा, न कला न त कुशलता। पुर्पूरोमा हात लगायो, घरको बार्दलीमा घोक्रिएर त्यसरी कसैले बस्नु पर्दैन। ज्ञानी हुनुपर्छ, जीवनको लागि शिक्षा, उज्ज्वल भविष्यको लागि शिक्षा र व्यवहारिक ज्ञान सहितको शिक्षा।
तातो आलो रगत, आकाशको जून छुने र तारा चुँडाउने सुनौलो समय अनाहकमा खेर फालियो। ज्ञान, सीप र शिक्षा सिक्नुपर्ने लिनुपर्ने समय सदुपयोग गरिएन। नेता पनि म, ठालु म यो समाजको हर्ताकर्ता अहमता घमण्ड पालेर आफूलाई के बदल्न सकौँला? अरूलाई के बनाउँला? जुन समयमा जे प्राप्त गर्ने हो, त्यो समयमा उर्लाहठ प्रलोभनमा गलत धन्दातिर दिशाहीन गन्तव्य तर्फ लागियो।
जब पछि जीवन जीउन कठिनाइ आइपर्यो बल्ल जिल्ल परियो। सात तलाको छानाबाट खसे झैँ भइयो। आफैले गरेको कूकर्मको फल भोग्दै छु। ती गुरु, ती जन्मदिने आमाबुबाको उपदेशलाई धोती लगाउँदाको परिणति आज भोग्दै छु। कहाँ गए ती रंगिन दिन? कहाँ गए ती ठालु? कहाँ गए साथीहरू? सबै आफ्नै गरेको कामको फल भोग्दै होलान्।
आफूलाई सम्झाउनेदेखि रिस उठेर आउँथ्यो। किन धेरै जान्ने पल्टिएको होला जस्तो लाग्थ्यो। त्यो त उपदेश पो रहेछ, आज बल्ल चेतको ढकन खुल्यो। खोलाको पानी र समय निरन्तर बगिरहेको हुन्छ।
राजनीति सिद्धान्तको लगाममा बाँधेर अन्धभक्त बनाइयो र बनियो। उहिले जुन बेला राम्रो कुरा सिक्नुपर्ने थियो, उतिबेला आँखामा पट्टी बाँधियो। जो जातको बिरुवा रोप्ने हो, फल पनि त्यसैले फल्ने पाक्ने हो। कागती रोपेर स्याउ खोजेर कहाँ पाइन्छ र?
निहीत स्वार्थ संकोचित मानसिकता, गलत,दिशाहीन कामले चक्रिय प्रणाली प्रभावित भई जलवायुको प्रवाहले भावी भविष्य अन्धकारतिर तनावग्रस्त जीवनको संघारमा हुनेछौं। हाम्रो अदूरदर्शीता आफ्नो खुट्टा आफैले बन्चरो हानेर रोग र भोगबाट आक्रान्त जीवन व्यर्थै खेर जाने भयो। आफ्नै कारणले तनावका दिन जीउन बाध्य पारियो।
जहिले पनि आफ्नो निजी जीवनको, आफ्नै परिवारको सुख-खुसी मात्रै खुसी देख्दा आज देश खोक्रो बनेको हो। सारा देशले दु:ख पायो। अझै मलाई चेतना आएको छैन। छिमेकी, सहयोगी मित्र राष्ट्रहरुले दिएको सहयोगमा मिलिजुली कमिसन खाँदैछु। देशलाई अप्ठ्यारोमा परे के भयो र? देश असुरक्षित भए के भयो? म मेरो छानोमानो पेट, शरीर सुरक्षित भए पुग्यो।
सबै ठिकठाक देख्ने मेरा नजर सबैभन्दा दुत्कार दोषी नै हुन्। अरुलाई अप्ठ्यारोमा पारेर आफूलाई सुखी, सुरक्षित सम्झने मेरो नजर, मेरो बुझाइ, बुद्धि, मेरो त्यो ज्ञान कठै! आज ऐना हेर्न सरम छाडा लाग्छ, लाज लाग्छ।
मैले कहिल्यै राम्रोसँग पढिनँ, पढ्न सधैँ अल्छी गरेँ। आन्दोलन गरेँ भने अधिकार प्राप्त हुन्छ, अधिकार मागेर पाइँदैन खोसेर पाइन्छ भन्ने भ्रमबाट प्रभावित भएँ। जीवनको दर्शन, मूल्य, मान्यता थाहा पाइएन। म भ्रममा परेँ, कुलतमा फसेँ, अरूलाई कति दोष दिनु आफैलाई दोषी ठहर गरेँ।
मेरो प्रमुख दोष समयमा सीप सिकिनँ, ज्ञान हासिल गरिनँ, लुखुरलुखुर हिँडेँ तर काम गरेर खाइनँ, जिम्मेवारी र कर्तव्य बुझिनँ। अर्काको भाग खोसेर खाएँ, देश लुटेर खाएँ, विकासको नाममा कम गुणस्तरको कमसल कमजोर संरचना बनाएर मिलोमतोमा कमिसन खाएँ।
जबर्जस्ती चन्दा मागेर खाएँ, नदिए अपहरण बम पड्काउने भय देखाएँ। मन्दिरको जग्गा बेचेर खाएँ, सार्वजनिक जग्गाको नक्कली कागजात बनाएर खाएँ। मैले सिकेको, मलाई सिकाइएको र पढेको पनि यहीँ हो।
मेरो ज्ञान र अनुभव पनि यहीँ हो। मेरो पार्टीको मूल सिद्धान्त पनि यहीँ हो, आउने दिनको कार्यदिशा मार्गदर्शन पनि यहीँ हो। जिम्मा मलाई दिँदा बिरालोलाई दूधको रेखवालजस्तै त हो।