कसरी परिभाषित गरौँ म नारीलाई
कुनै एक हरफमा अट्दिनन् उनी
एक आमा
एक श्रीमती
एक छोरी
एक बुहारी
एक दिदी
एक बहिनी
के-के मात्र उपनाम दिनु उनीलाई
समग्रमा सम्बोधन गर्नुपर्दा
यो सिंगो संसारको सृष्टिकर्ता
अतः एक देवी हुन् उनी।
तर आज कुन बाटोमा लम्किँदै छ यो समाज
देवीजस्तो उपनाम पाएकी उनी
आज आफ्नै गाउँ-समाज मात्र नभएर
आफ्नै घरभित्र असुरक्षित छिन्
कोही अनजानसँग असुरक्षित हुनु
केही सामान्य हो तर आज उनी
छरछिमेकसँग असुरक्षित छिन्
असल, सभ्य र सबैको नजरमा
राम्रो बन्नुपर्छ भन्दै शिक्षा दिने
एक शिक्षकसँग असुरक्षित छिन्
हरेक कुरामा संरक्षण दिने
दायित्व बोकेका एक पिता
र आफ्नै दाजुभाइसँग उनी असुरक्षित छिन्।
ए सरकार! एक युवती
एक बृद्ध नारीदेखि लिएर
भर्खर जन्म लिएको बच्ची यो सुन्दर संसार
नियाल्न पनि नपाउँदै बलात्कृत भएर
ज्यान गुमाउँदा पनि किन चुप छौ तिमी?
आज एक नारीको संरक्षणको निमित्त
सरकारी सेवामा खटिएकी अर्की नारीले
ज्यान गुमाउँदा पनि किन चुप छौ तिमी?
समाजबाट टाढा बसेको सरकारलाई के भन्नु
जब यहाँ दुःख भोगिरहेको समाज नै चुप छ
त्यसैले आज आफैले आफैलाई प्रश्न गरिरहेछु
म यो कस्तो समाजमा बाँचिरहेछु?