भो मेरो कथा नलेख
मान्छेहरू हारको कथा पढ्दैनन्
स्वघोषित अनि कथित
सफलताको सूत्रमा रमाउनेहरू
हारको महत्व बुझ्दैनन्
त्यही बुझ्दैनन्
र त हार्न जान्दैनन्
त्यही जान्दैनन्
र त हारेपछी उठ्न सिक्दैनन्
सधैँ विभिन्न आयाममा
जीवनका विविध मोडमा
५ खेलमा जितौला तिमी
१० खेलमा त हार्नु छँदै नै छ
यत्तिका हार बेहोरेर पनि
हार्न नसिक्ने?
कहिलेकाहीँ दुनियाँसँग
सय जित जितेर पनि
आफूभित्रै एक हारले
सारा बाजी गुमाउने
यत्तिका जित माझ
जाबो एक हारमा पनि
हार्न नसिक्ने?
सहस्र पाङ्ग्रा छन् जीवनका
९०० वटा त पन्चर भएरै गुड्ने हुन्
५० वटामा अवश्य हावा कम छ्न्
बाँकी ५० ले घिसार्दा घिसार्दै
एकदिन एक प्रहर त
एउटा अप्रत्याशित विश्राम
लिन्छ नै जीवनले
एकदिन मृत्युसँग समेत
हार्छ नै जीवनले
हारको सत्यता बुझेर पनि
हार्न नसिक्ने?
हार सिकाइ हो, असफलता होइन
हार पद्धति हो, परिणाम होइन
हार आफैमा सुरुआत हो, अन्त्य होइन
हारमै जीवनको सत्यता छ, मिथ्या होइन।