मूल बैठक हलको चाबी खुल्नुभन्दा केहीअघि सचिवालयले छुट्याइदिएको संसदीय दलको कार्यालयमा सबैलाई 'ठिक १२ बजे अगाडि आइसक्ने गरी डाक्नू है' भनेर सबभन्दा प्रमुखले दिएको हुकुम पालना गर्दै अघिल्लो साँझै सबै माननीयहरूलाई मोबाइलमा ग्रुप म्यासेज गर्दै प्रमुख सचेतकले सुचित गरे अनुसार नै सबैजना चिरिच्याट्ट परेर जम्मा भइसकेका थिए।
पृष्ठभूमिको परिदृश्य-१
प्रमुख सचेतक:- (अलि कड्किएको स्वरमा बाँकी माननीयहरूलाई निर्देशनात्मक पाराले) सबैजना ध्यान दिएर सुन्नुस् है माननीयजीहरू - हिजोको तपाईंहरूको प्रस्तुति र जोस देखेर अध्यक्षज्यूबाट बेखुस प्रकट भएको छ। साँझ मलाई फोन गरेर झपार्दै हुनुहुन्थ्यो। आज चाहिँ त्यसरी चल्दैन है माननीयहरू। मैले भन्द्या छु।
'ह्या... अनि आफू चाहिँ मिटिङमा कहिल्यै नआउने अनि हाम्लाई मात्र गोडा गल्ने र घाँटी सुक्ने गरी चिच्याउँदा-चिच्याउँदै पनि जस नदिने हाम्रो 'बा' एक माननीयले मसिनो स्वर ङ्याङ-ङ्याङ गरी नाक बजायो।
संसदीय दलको उपनेता- त्यस्तो कुरा नगर्नुस् है माननीय जी तपाईं। उहाँ भनेको उहै हो। उहाँको बारेको बद्ख्वाइ गर्ने? उहाँ नआएर के हुन्छ र, टिभीमा लाइभ हेरिरहनु भएको हुन्छ सबै। आउँदो चुनावमा तपाईंलाई टिकट लिनु छ कि छैन? (झपार्न साथ छेउमै रहेको अर्को एक माननीयले त्यो नाक बजाउँदै बेखुस प्रकट गर्ने माननीयलाई खुसुक्क चिमोटेर चुप लाग्न सङ्केत गर्यो।)
एक युवा उमेरको मानानीय सदस्य: ल ल, अब आज कसरी प्रस्तुत हुने- त्यसमा फोकस हौं न त। (विवाद बिट मार्दै योजनामा जान सबैलाई सुझायो।)
प्रमुख सचेतक: नथाकीकन कसले आज राम्रोसँग प्रस्तुत हुन्छ, को हुँदैन उता बाको सचिवालयका सहयोगीहरूले एंगल-एंगलबाट ख्याल गरिरहेका हुन्छन्। आज म पनि ध्यान दिएर तपाईंहरूको पर्फर्मेन्स ननियाली भएन। हेर्नुस्, बरू मनतातो पानी टन्न पिएर जानु, तर स्वर सानो आउनु भएन। रोस्टम छेउमा पुगेर सबभन्दा जोड-तोडका साथ उच्च स्वरमा चिच्याउनू।
अर्को एक माननीय : ठिकै छ नि त। आज भट्याउने पालो को माननीयको हो नि?
उपनेता : आज उहाँ फलानो माननीयको पालो।
तोकिएको फलानो भनिएको माननीय : ह्या... आज त म सक्दिनँ हौं। हिजो अबेरसम्म एक बर्थ डे पार्टीमा बसेको। दुई चार पेग बढी सड्काइएछ क्यारे, घाँटी बसेर कस्तो भाको छ। आज म भट्याउदिनँ है। अरू कसैलाई भन्नुस् माननीय जी।
उपनेता: ल..ल फोकटमा खान पाइयो भनेर धेरै नहसुर्नु अबबाट। अध्यक्ष बाले थाहा पाउनु भो भने झाको झार्नु होला नि फेरि।
सड्काउने वाला माननीय: बुढा औंशी पुर्नेमा त आउने हो, कसरी थाहा पाउच्छन् र।
प्रमुख सचेतक र उपनेता एकै स्वरमा: ल..ल बढ्ता कुरा नगर्नू। त्यसो भए आज तपाईं भट्याउनुस् माननीय।
तोकिएको माननीय सदस्य: हुन्छ त नि। अनि आजको चाहिँ नारा चेन्ज छ कि उही सधैं झैं रेडिमेट नारा भट्याउनु पर्ने हो?
प्रमुख सचेतक : उही हो, उही। तर भट्याउँदा-भट्याउँदै चाहिँ बिर्सेर अर्को सेन्टेन्स फलाक्ने होइन नि। जे-जे भन्नु भनेर घोकाइएको छ, त्यतिमात्र भन्ने।
सो सदस्य : हस् त नि।
प्रमुख सचेतक: पछि पछि मुर्दावाद भन्ने केही माननीयजीहरूले सुरू-सुरूमा जागर चलाएको र पछि विस्तारै स्वर पनि सानो अनि खुट्टा पनि लुलो गरेको कुरा टिभी लाइभमा देख्नु भएछ है हिजो अध्यक्षज्यूले। भन्दी सक्या छु नि। तपाईंहरूको कारण मैले गाली खानुपर्छ सधैं 'बा' बाट।
सबैले (एकै स्वरमा): ल ल, आज त्यस्तो हुन्न।
पृष्ठभूमिको दृश्य-२
त्यस्तै अर्को 'दाइ'को संसदीय दलको कार्यकक्षमा अर्को रिहर्सल।
प्रमुख सचेतक: आज को-को बोल्ने हो? लु नाम दिनुस्। अनि के के बोल्ने यहाँ भन्नुस् पहिला।
अलि भर्खरको अनि बोल्न अन्यभन्दा अलि टाठो युवा माननीय : दाइ आज पनि मै बोल्दिम्ला नि त।
प्रमुख सचेतक : सधैं तपाईं मात्र बोल्दा यो पार्टी अरू कोही नेता नै छैनन् कि क्या हो भनेर प्रेसवालाहरूले प्रश्न सोधेर हैरान बनाउँछन्। अरू पनि तम्सिनु न हौं बोल्न।
एक महिला मानानीय : बोल्नु त हुन्थ्यो नि दाइ, तर माइक अघिल्तिर बोल्न लाग्यो कि जीउ नै लगलग काम्न थाल्छ अनि यो-यो कुरा बोल्छु भनेर गयो त्यहाँ पुगेपछि सबै बिर्सिन्छु। चिटचिट पसिना आउँछ। लास्टै होपलेस हुन्छु क्यार्नु र।
प्रमुख सचेतक - लेखेर लैजानुस्। अलि प्राक्टिस गर्नुस्। कति भन्नु तपाईंहरूलाई। उता दाइले पनि बेखुस प्रकट गर्दै हुनुहुन्थ्यो तपाईंहरूको पर्फर्मेन्स देखेर।
उपनेता: हुन्छ। समय छैन अब। (युवा र अलि कडा बोल्ने मानानीयतर्फ संकेत गर्दै) ल..ल तपाईं नै बोल्नु आज पनि। तर बोल्दा बोल्दै कहिलेकाहीँ तपाईं अलि बढी र चाहिनेभन्दा बढी लोकप्रियता हासिल गर्नको लागि ओभर स्मार्ट बन्नुहुन्छ। त्यो आइन्दा नहोस् है।
अनि तपाईंहरू बाँकी सबै जना चाहिँ वक्ता माननीयजीले जे बोल्नु हुन्छ, बोल्ने बेलामा प्रत्येक वाक्य टुंगिनासाथ जोड तोडले हत्केलाको रेखा मेटिने गरी भए पनि ड्याम कि ड्याम टेबल ठोक्नु नि।
मुसाले नि नसुन्ने गरी बिस्तारै सानो आवाजले थपडी बजाउनेहरूको 'ठूलोदाइ' ले बाल्वाटाराटा टिभीमा लाइभ हेरेर हिसाब किताब गर्नुहुन्छ नि फेरि।
युवा र सचेतकबाहेक बाँकी सबै (एकै स्वर मा): हुन्छ, हुन्छ , चिन्ता नगर्नुस् न। हामी टेबुल फुट्ने गरी ढ्याप -ढ्याप ठोकौंला जोडले।
पृष्ठभूमिको परिदृश्य-३
गाछी वाला, बाछी वाला, बयल वाला, घन वाला, राम वाला, घाम वाला, ढुङ्रे पेन वाला, मुश्लो वाला। सबैका आ-आफ्नै शैली, आ-आफ्नै कोड ल्याङ्वेज।
एकले अर्कोलाई भेट्दा कसै-कसैले राम राम भन्ने त कसैले जय नेपाल, कसैले अभिवादन मात्र त कसैले लाल सलाम , कसैले जय देश भन्ने गरेको। प्राय: मुख्य नेता चाहिँ त्यो ठाउँमा सितिमिति नपुग्ने रहेछन्।
सायद धेरै व्यस्त भएकोले पनि हुन सक्छ। प्राय: सबैथरिका माननीयजीहरूले आफ्ना टाउके नेतालाई गरिने सम्बोधन पनि भिन्नभिन्नै देखिन्थ्यो। कसैले 'दाइ' भन्दा रहेछन् भने कसैले 'बा', कसैले 'सुप्रिमो' अरे त कसैले 'लालाजी'। कसैले चा: मात्र भन्दा रहेछन् त कसैले निक्खुर क्रान्तीकारी काका। तर भिनाजु भनेको चाहिँ सुनिएन त्यहाँ।
मूल ढोकाको पर्दा बिस्तारै खुल्छ। खुल्नासाथ कोही निख्खर सेतो धोती पाइजामा, कोही साडी चोलो, कोही सर्ट फुल्पेन्ट, कोही कोट पाइण्टमा टाई समेत ढल्काउँदै ग्वार्ग्वार्ती सिनेमा हलमा पस्न हतार गरेर छिरे जसरी ठूलो एक हुल मानिसहरूको जमात गफिँदै भित्र छिर्छन्।
आफू बस्ने कुर्सी आफैंले सार्न समेत नसक्ने जसरी एक अग्लो पातलो मानिस (उनीहरूको भाषामा उनलाई चाहिँ माननीय मात्र भनेर नपुग्ने रहेछ, उनलाई चाहिँ सम्माननीय भन्नुपर्ने नियम रहेछ।)
सबभन्दा अघिल्लोतिर बनाएको पटाङ्गिनीमा सरासर अर्कैले सारिदिएको कुर्सीमा थचक्क बसे र मास्क चाहिँ आफैंले खोलेर सर्सर्ती अगाडि भएका माननीयहरू पट्टि नजर लगाउन मात्र के भ्याएका थिए, पृष्ठभूमिमा राष्ट्रिय गानको धुन बज्यो। सबै जना जर्याक -जुरूक्क उठे र सकिनासाथ बसे।
सम्माननीय सभामुख: माननीय सदस्यहरू, आजको प्रतिनिधि सभाको बैठकको कारबाही प्रारम्भ हुन्छ ।
यति भन्नासाथ पृष्ठभूमिमा घोकिएर र घोकाइएर ल्याइएका सबै माननीय सदस्यहरू सभामुख नजिक पुगेर नाराबाजी गर्दै एकले नारा भट्याए भने अरूले लोलीमा बोली मिलाउँदै आवाज घन्काए - हाम्रो माग पूरा गर, संसदीय मर्यादा कायम गर। निरंकुश सभामुख राजीनाम दे। चौध जनालाई निकाल्दे। हाम्रो पार्टी जिन्दावाद, हाम्रो नेता जिन्दावाद....इत्यादि।
सबैभन्दा बढ्का सम्मानानीय : माननीय सदस्यहरू तपाईंहरू बस्नुस्...बस्नुस्... बस्नुस्... (३ पटक जति)
आफूले तीन चोटी बस्नुस् भनेर निर्देशन दिँदा पनि 'बा' को बच्चाहरू कसैले पनि टेर-पुच्छर नलगाएको र लगाउने छाँटकाँट समेत नपाएपछि उनीहरूले घोक्रै सुक्ने गरी चिच्याए पनि जति नै मुख बाए पनि सभामुखले पनि सदाझैं एक कानले सुनेर अर्को कानले उडाउँदै 'सत्ता वाला दाइको भाइ हरूलाई' रोस्टममा पुगी आफ्नो विचार राख्न ३/३ मिनेटको समय दिन्छन्।
उता घोक्रो फुक्ने गरी चिच्याउनेहरू चिच्याइ रहेका छन्। सोहीबीच मै अगाडि पट्टीको रोस्टमबाट आदर्शवाद छाट्नेहरू छाटी नै रहेका छन्। आदर्शवादी लेक्चर सुनेर टेबुल ठटाउनेहरू हत्केलाको रेखा नै मेटिने गरी ड्याम कि ड्याम थपडी बजाइरहेका छन्।
त्यो १ घण्टाको घोक्रो फुलाई, आदर्शवादको रटान अनि पटक/पटकको निर्देशन र आदेशको अटेरी एवम् टेबुल ठोकाइको बीचको रस्साकस्सी हुँदाहुँदै सभामुखद्वारा सो दिनको बैठक सकिएको घोषणा भयो।
बैठकमा भाग लिनेहरूले पनि, बहिष्कार गर्नेहरूले पनि, आफ्नै मोटरमा चढी आउनेहरूले पनि, घरमै भात खाजा खाएर आउनेहरूले पनि, माइक्रोमा डुप्लिकेट स्टुडेन्ट कार्ड देखाएर छुट लिएर आउनेहरूले पनि, सबैका सबैले न कुनै उपलब्धी, न त कुनै जनहितकारी निर्णय।
फगत केवल हलमा जम्मा भइदिएर अभिनय गर्न उपस्थिति। हो त्यही जम्मा ६० मिनेट चलेको अभिनयात्मक बैठकमा केवल भित्र छिरेर जिन्दावाद र मुर्दावाद अनि ताली ठोकेकै भरमा 'खाना खाजा तथा ट्याक्सी भाडा' शीर्षकमा भत्ता बुझे र खल्तीमा खुसुक्क हालेर बाहिर निस्किए।
ढोकाबाट भर्याङतर्फ निस्कँदै गर्दा 'बा' पट्टीका होस् या 'दाइ' पट्टिका सबैले सो एक घण्टे बैठकको समीक्षा गर्दै निस्किए। बा वालाहरू आपसमा गफिन्थे - आज चाहिँ फलानो माननीय चिच्याएको र उफ्रिएको गज्जब थियो है। तिलानोले लगाएको नाराको साउण्ड पनि कम्ती चाहिँ भन्न मिल्दैन थियो है।
'जे होस् माननीयजीहरू आजको तपाईंहरूको प्रस्तुतिबाट बा औधी खुसी हुनुभएको कुरा मेरो मोबाइलमा म्यासेज आइसकेको छ' प्रमुख सचेतक भन्दै थिए भने 'दाइ' वालाको भाइहरू अनि निखुर क्रान्तिवाला सुप्रिमोको जुझारू योद्धाहरूले चाहिँ ठोकेको तालीमध्ये फलानोको चाहिँ तिक्खर आवाज आएको हुँदा आगामी दिनमा पनि सोही किसिमको ताली ठोकाइलाई निरन्तरता दिन बधाई दिँदै आ-आफ्नो बाटो लागे।
यो क्रम विगत निकै महिनादेखि नयाँ बानेश्वर चोकैको त्यो ठूलो घरमा अनवरत रूपमा जारी थियो।