म छोडिएँ भने कतै
समय छोडिने छैन
म निदाएँ भने दूर क्षितिजमा
समय निदाउने छैन
समय त व्यस्त हुनेछ
म बेगर पनि
लेखेर समयका पृष्ठहरू
समयको पृष्ठमा
मेरो प्रेमको दस्ताबेज नलेखिए पनि
कुनै गुन्जायस रहने छैन
यसो भनौँ
प्रेमीहरू मेरो सट्टामा सधैँ
स्वतन्त्र रहनेछन्
र जीवनको सट्टा नै
रातो गुलाबलाई
प्रेमको गीता मानेर
सिलसिलेवार युगिन पढ्नेछन्
समयको हाँगाहरूमा
त्याग र बलिदानीलाई समेटिनेछ
त्यसलाई युगल जोडीहरूले ट्याटु सम्झेर
आफ्नु हातमा नक्कल गर्नेछन्
मेरा मनको बारीमा
मुर्झाएका फूलहरूको पीडा
समयका पहेलिएका पातहरूमा
धेरै बेर अडिने छैन
खुसीलाई मात्र प्रसाद ठान्ने
यो स्वार्थ परस्त दुनियाँले दुःख आपतलाई
गम्भीर नबनिकनै दुर्घटनाको नाम दिनेछ
र लगातार काँडाको तुजुक
र अहमका किस्साहरू बोकेर
समयको अनुहार मुस्कुराइ रहनेछ
पढ्न लायक हुन्
हर अक्षरहरू, मान्छेहरूको जीवन
तर सुन्दर चेहरा मात्र भएर काफी छैन
शब्दहरूको बेअर्थको थुप्रो भएर मात्र
केही हुँदैन
मेरो जीवनको उत्कृष्ट हाँसोजस्तै होस्
समयको पृष्ठ
र रोमान्चित भैरहोस्
तपाईं हाम्रो मानव सभ्यता प्रेमले सद्भावले।