विदेशी सामानमा,
विदेशीएर दुई छाक टार्नमा।
एक खर्बको निर्यातमा
एघार खर्बको आयातमा
बधाईका पात्र छौं हामी
यस्तै विकासे मूल मन्त्रमा हुर्केका हामी
आज विकास गाउँ गाउँ पुगेछ
रातारात गाउँ नगरपालिका भएछ
पाँच वर्षमा कायापलट भएछ,
गैरी खेतमा प्लटिङ, खेती किन गर्नुपर्यो?
सटर तान्यो, ब्यापार गर्यो ।
व्यापार के को?
विदेशी सामानको।
बैंक साहुले ऋण दिइहाल्छ,
चर्को व्याज उठाई हाल्छ,
तिर्न नसके घरखेत लिई छाड्छ।
तैपनि हामी कति जान्ने है!
किन गर्नुपर्यो खेतीपाती,
किन चाहियो कलकारखाना?
आयातित व्यापार मै रमाऊ,
मनग्य कमाऊ,जिविका चलाऊ।
न सरकारको न हाम्रो समाजको,
स्वदेशी सामान जोगाउने छ नीति,
विदेशी सामान मै खोज्छौं व्यापार,शान र प्रगति।
यहाँ स्वदेशी सामान कसलाई पो चाहिएको छ र?
एकथरी हामी सस्तो सामान नै खोज्छौ,
अर्कोथरी ब्रान्डेड सामान नै रोज्छौं।
आफैंमा रुमल्लिएका हामी,
आफ्नो वास्तविक शान के गरि रहन्छ
ठम्याउनै नसकी
यस आर्थिक दौडको संसारमा,
एक अर्कालाई आफ्नो सामान बेच्दा रहेछन् ,
राष्ट्रहरु बिच मित्रता व्यापारमा सिमित छ,
गर्दा त हुँदोरहेछ,
स्वदेशी सिमेन्टी र जुत्ताले धानेकै छ बजार ।
तर यहाँ सबै तन्त्रले गर्नु गर्यो,
जो आएनी ढाकका तीन पात!
उखानटुक्का र हडबडे गफले,
हामी लाटा पो भुल्यौ,
हाम्रा सन्ततिले त पत्याउँदैनन्
अनि तिनीहरू विदेशीने नै छन्
तब केमा रहन्छ हाम्रो यो झूटो शान?