मलाई
दुलाहा-दुलहीजस्तै श्रृंगारिएका
लक्का जवानहरू बोक्ने
हवाईजहाजहरू
यमराजका बाहनजस्तो लाग्छ।
हातमा बेस्सरी समातेका
पासपोर्टहरू
पशुलाई ललकार्ने हरियो घाँसजस्तो लाग्छ
जब देशहरू बाकसमा फर्किन्छ्न्
मलाई
किन हो किन
आशै आशाका भिसाहरू
आफ्नै मृत्युको प्रमाणपत्रजस्तो लाग्छ।
मलाई डर लाग्छ
उनीहरू स्वर्ग जान्छन् कि विदेश?
बादल माथि-माथि उडेर
सपना बोक्छन् कि आफ्नै समाधि
मलाई
पछाडि गुडिरहेका सुटकेशहरू
कालाजादुको अत्यासजस्तो लाग्छ।
समुन्द्रपारि
खुसी टिप्न हिँडेकाहरू
आँसुको सुनामी लिएर फर्किँदा
मलाई
कहिलेकाहीँ एअरपोर्टहरू
श्मशानघाटजस्तो लाग्छ।