हजारौं सपना बोकी निदाएका गाउँ
एकैसाथ बगे ब्युँझिनै नपाई
रोग र दैवीप्रकोपसँगै
गाउँका धनबहादुरहरू
पसेका थिए खाडीमा
देशमा ऋण लागेपछि
तिर्दै थिए रेमिट्यान्समा
ऋणको ब्याज
साहुको तमसुक
मजदुरी पसिनामा
चाल्दै थिए सपनाका पिरामिड
घर फर्किने गन्दै दिन
र बन्धकी खेत उकास्ने सपना
विडम्बना!
देह र सपना नै सदाका लागि
कैद भएर फर्किए रातो बाकसमा
यो साल पनि मजदुर योद्धा
मेरो देशको दुर्गम गाउँको भूगोलमा।
आलो खाटो छ खतको बाढीपहिरोले गाउँ
डुबेको छ रोग, शोक र अस्थिरताले सहर
जान पाएका छैनन्
कलिला अक्षरहरू स्कुल
टुहुरा छन् पाठशाला
यता
निषेध भो आमाको काख
हेर्न पाएनन् बाबाको अन्तिम देह
थलिए मानसिक बिमारले 'देश' लेख्ने मस्तिष्कहरू
परिणत भए शोकधुनमा
उत्सवमा बज्ने बाजाहरू
सिङ्गो देशै थलिएपछि
बजेनन् मालश्री धुन
पड्किएनन् पारिसम्म सुनिने गरी
बिहा बर्खान्तमा भरुवा बन्दुक
रोकिए तङ्सिङ र खाजोङमा
आँगन र बारीभरि ठडिए पीडाका खाप
गाएनन् कुनै गीत मालचरीले
परदेशीहरूका नाउँमा
लागेन चौतारामा उत्सव
शून्य भए मेलापर्व
खुसीका सपना भित्रिने गाउँमा
शोकका पोका भित्रिएपछि
शोकाकुल छ गामबेसी
रुवाबासी छ सहर
रोग र दैवीप्रकोपसँग
हारेरै गायब भए देशका वीरबहादुरहरू।
प्राण बचाउन खट्दाखट्दै
हारे जीवनसँग डाक्टर र नर्सहरू आफैँ
बाढीमै बिलाए कैँयन् सैनिक योद्धाहरू
ज्यानबाजी थापेर लड्दालड्दै
दुर्भाग्य!
मौका हेरी बसेका सलहका केही झुण्डले
आवश्यक मल्हमको निहुँमा
जनताका मतलाई घोक्रेठ्याक लाएर
सरम पचाएर बर्साइरहे लात
बढिरह्यो हत्या, हिंसा र बलात्कारको पिरामिड
न्यायका सन्दर्भमा
चुँडिए न्याय जोख्ने तराजुका डोरी
उल्लेखित विवरणमा
शोक र भोकमा गाउँ डुब्दा
देश चाहिँ दुखेको थियो कि थिएन होला?
म यति मात्र भन्छु
कि रोग, भोक र शोकको पिरामिड
हो कि होइन मेरो देशको भूगोल?