ऊ अर्थात्
मेरो सपनाको द्रष्टा
तिमीलाई जाबो त्यो एक भोट दिएको त हो नि
अरु के नै दिन सकें र?
समय पनि त मिलेन
त्यो पछि त
तिमी व्यस्त भयौ
पस्त भयौ, सुनेँ मस्त भयौ
दुना-टपरी सबै भर्यौ
मैले केही दिन सकिनँ
म पनि कान्ला बारीमा
मानो रोपेर मुरी फलाउन व्यस्त भएँ
कहिले बाढीसँग भिडेँ
कहिले खडेरीसँग सिंगौरी खेले
ऋणको पहाड झन् अग्लो भएको छ
झण्डाको फेटाले अझै कसेको छु टाउको
बेलाबेला चर्किन्छ
तिम्रा महावाणीहरूले, फेरि सेलाउँछ
यस्तै छ
तिमीले त कति दियौ, दियौ
नाथे त्यो एक भोटको बदलामा
आश्वासनको बिटो दियौ
त्यही पन्ना गीता पढेझैं
कोट्याउँदै छ छोरो
सपनाका कथाहरू सुनेर तिम्रो लिलाको बखान कति गर्छ-गर्छ
भात नसेलाएसम्म घरमैं आउँदैन
चोकमा ऊजस्तै सपनाका मस्तिष्कहरू
फुटानी खाटमा करोडौं साटेर
समय खेर फालिरेहको छ
फलानो र ढिस्कानोको कथा हालिरहेछ
कति दियौ दियौ
तन्नेरीलाई खाडी दियौ
कोही कोहीलाई झाडी दियौ
मैले त नाथे त्यो एउटा भोट त दिएँ नि
त्यही भोटले होला ज्वारीकोट फेरेछौ
जे होस त्यो नाथे भोटको मान राख्यौ
त्यो नाथे एक भोटले साइकल फ्याँकेर
सलल मर्सिडिज हुँदै चिल्लो पिचमा टल्किएको सुटमा बेग्लै छौ
मैले त के नै दिन सकेँ र
त्यही नाथे एउटा भोट त हो नि
त्यही एउटा भोटले के नै पो नापिन्छ र?
तिमी यति दानी भयौ कति कथाहरू बाँड्यौ, कति दियौ दियौ
भारी पुग्ने गरी लाउडा, यति, ओम्नी हुँदै
घाट-घाटमा सिंहदरबार दियौ
वडा-वडामा राजा दियौ
तिनलाई सलामी दिन पिर्का दियौ
त्यो पिर्के सलामीसँगै राजाहरूको अनुभूति दियौ
घुमाई-घुमाई खाने टेबुल दियौ
सबैले खाँदा पनि मेरो भागमा आई नपुग्नु मेरो भाग्य हो
त्यसमा तिम्रो केही दोष छैन
जाबो एक भोट त हो नि
नाथे त्यो भोटले नोट छाप्यौ, कोट नाप्यौ
भर्खरै खबर पाएँ
धेरै वर्षपछि छोरोले फेरि काम पायो अरे
दरबारकै छेउमा
पेटी फुटाएर ढुंगा बटुल्ने काम खुलेको छ अरे
यस्तै छ यार
ऊ अर्थात् तिमी
त्यो एक भोट
फेरि पनि आऊ
आउने बेला पनि भयो
दिन्छु त्यो एउटा भोट।