मनैमन मनैमनबीच
म भने
मनमनै मनमनै
सखारै भगवानलाई गायत्री मन्त्र सुनाएर
निस्कन्छु जीवन यात्रामा
मनैमन मनैमनबीच
मनमनै मनमनै।
आसपासमा एक्लै-एक्लै निदले झुलेका टाउकाहरूबीच
झकाउँदै झकाउँदै काखमा छोरी बोकेर मेट्रोमा
बेन्तोबाट फर्केकी आमा
बात मार्छिन् तोते छोरीसँग
मनैमन मनैमनबीच
मनमनै मनमनै।
मलाई झुलुक्क सपनामा देख्यौ आमा?
भनी मनमनै सोध्छे काखे छोरी
तिमीले बेन्तोमा भरेको भिन्डीको तरकारी
कसले खायो होला?
कसले भन्यो होला धन्यवाद?
मनैमन मनैमनबीच
मनमनै मनमनै?
शीरोपर गरेर
मसिनका आदेशहरू
मौन बत्तीका संकेतहरू
पछ्याउँदै मौन एरोहरू
खुट्याउँदै पोस्टरका मौन अक्षरहरू
मौन भाग्य खोज्न हिँडेका मनहरू
भेटिन्छन् सात समुन्द्र पारिका मौन सडकहरूमा
बात मार्दै
मनैमन मनैमनबीच
मनमनै मनमनै।
जीवनलाई जागिरको सिफ्टहरूमा चिरा पारेर
मौनताको आवाज सुन्ने कला सिक्दै सकससँग
पैदल सडकमा आफ्नै निजी डोबहरू
छाड्दै
पछ्याउँदै
छाड्दै
पछ्याउँदै
आँखाले आफन्त बनाउन खोज्दै सडक किनारका बोटहरूलाई
जाँदै फर्कंदै
जाँदै फर्कंदै
जाँदै फर्कंदै
जाँदै फर्कंदै
आजसम्म हिँडेका पाइलाहरू गाँसेर जाने हो भने
आफ्नो नाम काढेर
बोल्ने पहाडहरू
सुसेल्ने रूखहरू
गड्गडाउने खोलाहरूमै पुगिन्थ्यो भनी
मनैमन मनैमनबीच
हिसाबकिताब गर्छन् मनहरू
मनमनै मनमनै।
कुनै बिहान
गायत्री मन्त्र सुनाउँदा भगवानलाई
भगवानले मुन्टो बटारिदिए भने
आफ्नो बह सुनाउँदा आफैलाई
मनले कान थुनिदियो भने
यो मनैमन मनैमनको सहरमा
जीउने छ लाटो जिन्दगी
बिना मन
बिना मन।