म रेशमी केश होइन
म बदामी ओठ पनि होइन
म मृगनयनी आँखा होइन
र म नशालु हेराइ पनि होइन
ओ कवि! म तिम्रा कविताहरूको
कामुक बिम्ब होइन।
म अग्लिएको छाती होइन
म कस्सिएको नितम्ब होइन
म कोमल हातपाउ होइन
र म मगमगाउने बास्ना होइन
ओ कवि! म तिम्रा कविताहरूको
कामुक बिम्ब होइन।
म श्रृङ्गारिक गजल होइन
म सायरी होइन
म गाजल होइन
र म लाली पनि होइन
त्यही भएर बाटो मनमा जान्छ भन्दै
तिम्रो आँखा मेरो बदनमा जान्छ भने
ओ कवि! म तिम्रा कविताहरूको
कामुक बिम्ब होइन।
मेरा नयनमा तिमी वर्षौंदेखिका
पीडाहरूको ताल नदेखी
यौवनको अत्यास देख्छौ भने
तिम्रा सत्ताले चिथोरेका
शरीरका घाउ नलेखी
कामुकताको वर्णविन्यास लेख्छौ भने
म तिमीलाई कवि कसरी भनूँ
जो बेदनाले भरिएका हृदयका घाउ लेख्न सक्छ?
त्यो कवि कसरी हुन्छ जो फगत कामुकता मात्र देख्न सक्छ?
यदि तिमी मेरो अस्तित्व नै खोज्छौ भने
म विद्रोही कविता हुँ
मलाई विद्रोहको बिम्ब बनाऊ
म पिपल हुँ, पत्थरहरू छेडेर निस्कने
मलाई सङ्घर्षको बिम्ब बनाऊ
म खोला हुँ तर खोला बन्नु
प्यास बुझाउने बिम्ब बन्नु होइन
अथक र निरन्तर हुनु हो
मलाई गतिशीलताको बिम्ब बनाऊ।
म फूल होइन
म चरी होइन
म निरीहता होइन
र म विचरी, कठैबरी, सहनशील, सुशील
केही, कोही होइन
अंश-अंशमा छुट्टाएर शरीरको मोल तोक्ने
मलाई पुँजी बजारको सामान बन्नु छैन
ओ महाशय! म तिम्रा कविताहरूको
कामुक बिम्ब होइन।