तानाशाह तेरो जन्मले नाजीवादको दुर्गन्ध फैलिँदा
विचरा आफ्नै गुँडमा ओथारा बसेका पंक्षीमाथि
अस्त्रले हैकम जमाउन खोज्दा
कलम र किबोर्ड माटो चुमेर
सार्वभौम सत्ता, स्वाधीनता र मानवता
किनारमा सुनका कण झैँ टल्किरहेछन्।
नाभि झारेर बामे सरेको त्यो माटो
तोते बोलीमै गुनगुनाएको राष्ट्रिय गानभित्र
पाकेको सेताम्य केशमाथि
हिउँ पग्लिएको पहरो झैँ
कुरुपतामा ठडिएका जनका गिजा
देशको अत्यासलाग्दो मायाको गहिराइमा डुब्दा
तानाशाह विभत्स कलिला सपनाको आत्महत्या गराइरहेछ।
भिटोको कालो धुवाँको पर्दा बेरेर
हिटलर र पुटिन म तिम्रो मृत्युमा
उल्लासका ड्रम पिट्दै
दीप प्रज्वलनमा
सहरको अग्लो थुम्कोमाथि
तानाशाह तिम्रो तिरस्कृत
विश्व आश्चर्यकै युगल जोडीको
पिरामिड ठड्याउन उद्यत छु।