'नेपालाआ बसेर क्यार्नु, सधैं यस्तै ताल भए सी, सँगइका केइ न कामका तोरी हरूले त विदेश गै कत्ती प्रगति अरिसके। जे पर्ला पर्ला, लौ हजुर म नि अब विदेश जाने भएँ। मलाई जस्सरी भए नि मिलाइदिनु पर्यो।' सहरस्थित म्यानपावर कम्पनीमा पुगेर बिन्ती गर्दै सन्तरामले भन्यो।
'ठिकै छ, डेढ लाख रुपैयाँ, पासपोर्ट साइजको फोटो , पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट अनि खोप कार्ड लगायतको डकुमेण्ट्स लिएर आउनुस् भोलि दश बजे।' कम्पनी सञ्चालकले भन्यो।
'हस सर्, जसरी भए पनि झट्टै मिलाइदिनुस् है' भनेर ऊ बिदा भयो।
सहर मै भएको फुपूको घर पुगेर अब पैसाको जोहोको लागि उता गाउँमा बालाई कल गर्यो।
उताबाट 'ओके' खबर सुनेपछि कागजात तयारी गर्न पट्टी लाग्यो। अरू सबै त छ। तर खोप कार्ड छैन।
सबै कागजात तयार भए पनि उसले खोप कार्ड जोहो गर्न नसकेपछि म्यानपावर वालालाई फोन लगायो।
'सर सबै कागजात र पैसाको जोहो गरियो तर खोप कार्ड चाहिँ बनाउन सकिएन।'
गाउँमा कोरोनाको खोप लगाउने शिविरै आउँदा पनि 'त्यस्तो हावा कोरोना-सोरोना बित्थामा केही होइन। यो सब अम्रिका र चाइनाको डिजाइन हो। सब जनतालाई बेबकुफ बनाउने मेलो मात्र हो। त्यस्तो नाथे खोप ऊ जस्तो संसार बुझेको मान्छे थोडी लाउँछ' भनेर वास्ता नै गरेको थिएन सन्तरामले। उसको मनमा जड्खडिएर रहेको खोपको बारेमा रहिरहेको गलत धारणा अनि 'खोपले त नपुंसक बनाउँछ रे' भन्ने गलत धारणाले गर्दा उसले खोप बहिस्कार गर्ने निर्णय लिएको थियो।
'क्यार्ने होला? ओहो! बर्बाद भो।' सोचमग्न हुँदै चिन्तित भएर फ्लास ब्याकमा गयो।
म्यानपावरवाला पनि केही सत्य नै रहेछ। उसले सहरको धेरै अस्पतालहरूमा अहिले पनि खोप अभियान सञ्चालन भइरहेको हुँदा त्यहाँ गएर खोप लगाएर कार्ड बनाउन सुझायो तर उसले त्यो उपायलाई एक कानले सुनेर अर्कोले उडाइदियो।
बरू डुप्लिकेट कार्ड नै भए पनि बनाउन पाए हुन्थ्यो भन्ने चक्करमा सारा चिनेजानेकोलाई फोन घुमाउन थाल्यो।
त्यस्तै पहुँचवालाहरूकोमा धाउन पट्टी लाग्यो।
२ दिन जति त्यसै काममा खटेर लाग्दा पनि सम्भव नभएपछि उसले पुन: म्यानपावरवालालाई नै गुहार्न पुग्यो र भन्यो- खोप लगाएकै छैन। कार्ड नभए जानै मिल्दैन? केही उपाय गरेर भए पनि पठाउनु पर्यो।
'हजुर! कार्ड नभएर त मिल्दैन। उपाय त छ, तर .....।'
'तर के? भन्नु न। मैले के गर्नुपर्यो? म जे गर्न पनि तयार छु।'
कार्ड बनाएको १५ हजार अनि पिसिआरको नक्कली रिपोर्ट बनाइदिएको २० हजार गरी जम्मा ३५ हजारमात्र अगाडि काउण्टरमा जम्मा गरिदिनुस् अनि घर जाँदा हुन्छ ढुक्क भएर। अब एकैचोटि अर्को हप्ता उड्ने १ दिन अगाडि आउँदा हुन्छ भनेर सुझायो।
'हस सर, बरू ३५ को सट्टा ४० हजार नै लिनुस् तर काम चाहिँ चाँडै मिलाइदिनुपर्यो।' भन्दै सन्तराम अत्यन्तै हर्षित हुँदै गाउँ फर्कियो र साहुजीले भने बमोजिम अर्को साता घरबाट बिदाबारी भएर काठमाडौं आयो।
निर्धारित मिति र समयमै विदेश उड्यो। मनमा अनगिन्ती सपना, रहर अनि चाहना बोकेर ऊ विमानस्थलमा ओर्लने बित्तिकै इमिग्रेसनका कर्मचारीहरूले कोरोना परीक्षण गर्नको लागि स्वाब संकलन गर्न निर्देशन दिए। केहीबेरमा परीक्षणको रिपोर्ट निस्कियो - कोरोना-पोजिटिभ!
उसको खोप कार्ड र नेपालमा गरेको पिसिआर टेस्ट गरेको क्युआर कोड स्क्यान गरेर पुन: चेक गर्दा त्यहाँ पनि बदमासी गरेको पत्ता लाग्यो र फ्लाइटको सबै नेपाली यात्रुलाई अरू देशकोलाई भन्दा फरक व्यवहार गर्न थालियो। अन्य देशका नागरिकहरूलाई भन्दा बढी नै इन्क्वाइरी, चेक जाँच, निगरानी गर्न थालियो। सबैलाई नै ३ दिन मात्र बस्न पर्ने होटल क्वारेण्टाइनको अवधि दोब्बर बनाइदियो।
खोप नलगाएकोमा ऊ अहिले पश्चाताप गर्दैछ। तर उसको पश्चातापले अब 'खै के गरेपछि दैलो देख्या' जस्तो भो। ज्यादा जान्ने हुँदा उसले त दु:ख पायो पायो। सारा मानिसहरू जो सो उडानमार्फत् आएका थिए, उनीहरू सबैले दुख झेल्नु पर्यो।
सो देशमा रहेका नेपालका कूटनीति क्षेत्रमा काम गर्ने सबैले लज्जास्पद व्यवहार सहनु पर्यो। देशकै बेइज्जत भयो।