कविता
मेरो बोली मीठो लाग्यो होला होइन?
सुनेर रमाइलो लाग्यो होला होइन?
तर तिमीलाई आनन्द दिन मैले त्यसरी बोलेको होइन
मैले त तिमीलाई गुलिया वचनमा भुलाएर
जादुमयी अमृत वचनका जालमा बेरेर
भ्रमपूर्ण आत्मीयताका शब्दनालले घेरेर
तिम्रो दिमाग भुट्नु छ
अनि, अनि
तिमीलाई लुट्नु छ।
म र तिमी बीचको सम्बन्धको दूरी
घट्ने वा बढ्ने कुराको निर्धारण
फाइदा जोख्ने तराजुले गर्दछ।
म पट्टी पल्ला भारी भयो
हाम्रो कुरा अगाडि बढ्यो
तिमी पट्टी पल्ला भारी भयो
कुरा त्यही टुंगियो।
म तिम्रो बारेमा बुझ्छु
मानिसहरूलाई सोध्छु
तिम्रो नाली बेली केलाउँछु
तिमी सँग नजिकिँदा
तिमीलाई डिनर गर्न बोलाउँदा
तिमी सँग कारोबार गर्दा
भविष्यमा म तिमीबाट के फाइदा उठाउन सक्छु
म यकिन गर्छु।
त्यस पछि हाम्रो सहकार्य हुन सक्छ।
मेरो अध्ययनले
तिम्रो सम्पर्कको लहरो कति लामो र रवाफिलो छ
तिम्रा मान्छे कस्ता छन्
उनीहरूबाट मलाई के फाइदा पुग्न सक्छ
तिम्रो जागिरको पहुँच कस्तो छ
तिम्रो बस उठ कस्ता मान्छे सँग हुन्छ
आदि जस्ता कुराको यकिन गर्छ
अनि म निर्णय गर्छु, तिमीलाई
मेरो घरमा चिया खान बोलाउने कि नबोलाउने भनेर।
तिमी खासै खुकुलो जस्तो लागेनौ भने
तिमी आफ्नो निर्णयमा डगमगाएनौ भने
तिमी गाई प्राणी निस्किएनौ भने
हाम्रो सम्बन्ध मीठा शब्दले भरिएको
सस्तो औपचारिकतामा सीमित हुनेछ।
तिमीलाई के लाग्छ-
कोही तिमी सँग त्यतिकै नजिकिन्छ?
त्यत्तिकै तिम्रो खुसीमा रमाउछ?
तिम्रो सफलतालाई निरपेक्ष
आत्मसाथ गर्छ?