किसानहरू
जोत्दै थिए खेत
ठोक्कियो त्यसै बखत
कानेखुसी गर्दै
हावाको एक मधुर लहर
एकै क्षणमा
थपिँदै गए एकपछि अर्को
नयाँ-नयाँ मायावी लहरहरू
जो परिणत भए विद्रोहको
भयंकर आँधीबेहरीमा
जसको चापले
बाँझो भयो माटो
तुहिए बीजहरू
लतारिए चौपायाहरू
विकृत भए हलो कोदालोहरू
त्यही पागल आँधीमा
दिग्भ्रममा परे कैयौं मष्तिष्कहरू
आँधीले ल्याएको समुद्री परिवर्तनमा
आँखाअघि खेल्न थाले
अनेक दृश्यहरू
विभाजनको वियोगमा
एकीकरण पर्खिरहेका
कित्ता-कित्ता जमिनहरू
हराएका भकारी सम्झिँदै
विलौना गर्दै गरेका
एक्ला आँगनहरू
निरपेक्षताको हतियारले
ढालिँदै गरेका
गोठविहीन पशुहरू
पेट पाल्न खातिर
हवाईजहाज चढ्न
लाम लाग्दै गरेका
किसानका हजारौं छोराछोरीहरू
जसका खप्पर खोपेर
कन्चटमा झुण्ड्याइएका थिए
विप्रेषणका भद्दा ऐँजेरुहरू
आँधीको वितण्डाले थुपारेको
त्यही डुङ्गुरमा
खोस्रिँदैछु आज मेरो देश।