सानो सपना बोकेर
ठूलो सहर छिरेको म
सपना एकातिर
हिँडाइ अर्कोतिर भएको
वर्षौं भयो साथी
आफ्नै देशमा, आफ्नै ठाउँमा
केही गर्ने लक्ष्य राखेर
पाइला चालेको म
आज थाकेको छु साथी
मुलुकमा अस्थिर राजनीति
एकआपसमा घोचपेच
आरोप प्रत्यारोप
एकआपसमा चुनौती दिने खराब संस्कार
खोक्रो राष्ट्रियतावाद
ढोंगी राजनेताको चर्को भाषण
कार्यकर्ताले निकाल्ने कर्कश आवाज
म आजित छु साथी
समाजमा अस्वस्थ प्रतिस्पर्धा
देखावटी सम्बन्ध
आधुनिकताको नाममा नांगो भएको ऊ र उनी देख्दा
म आजित छु साथी
सुन्दर रुपले ढपक्क बलेको गाउँ
असारे विकासले
कुरुप बनाउँदा
म दुखी छु साथी
म आजित छु साथी
तलदेखि माथिसम्म
मौलाएको भ्रष्टाचार
गरिबको नाममा आएको रासनमा कमिसन
अपांगको लागि आएको वैशाखीमा कमिसन
दूरको बस्तीमा आएको नुनमा कमिसन
यस्तै भोगाइले
म आजित छु साथी
शिक्षामा व्यापार
कलिलो मस्तिष्कमा हुने मोलमोलाइ
स्वास्थ्यमा व्यापार
अस्पतालले गर्ने लासमा मोलमोलाइ
यस्तै भोगाइले
म आजित छु साथी
साथी
तिमी परदेश जान्छु भन्दा नजाऊ भन्दै
यो गर्ने त्यो गर्ने भन्दै
सपना देखाएर सम्झाउने म
आज लाचार भएर भन्दैछु
साथी मलाई नि 'भिसा पठाइदेऊ'।