सधैंजसो साइलेन्टमा रहने फोन त्यो दिन राख्न भुलेको रहेछु। करिव दिउँसो साढे एक बजेतिर सुतेर ब्यँझिएको थिएँ मोबाइलले टुङ्ग घन्टी बजायो। घन्टी म्यासेन्जरमा आउनेवाला म्यासेजको थियो।
झ्याप्पै मोबाइल खोलेर हेर्न मन लागिहाल्यो किनकि यति लामो समयसम्म मेरो मोबाइलमा न कुनै कल आएका थिए न त कुनै म्यासेज। यो पनि करिव छ महिनापछि आएको। ऊ सम्पर्कविहीन भएको करिव ४ वर्ष पुग्न लागिसकेको थियो। यो ६ महिनाको बीचमा त यो दुनियाँले म्यासेज गर्न त के मेरो हालखबर सोध्ने फुर्सद पनि पाएको रहेनछ।
मोबाइलको लक खोलेँ 'हर्ट' साइन राखेर म्यासेज आएको देखेँ। म तीनछक परेँ। को रहेछ आज यति धेरै सम्झनाका साथ आएको मान्छे? मन न हो, यसको छटपटी भयानक भयो। केही नसोची उसले दिमाखद्वारा हात चलाएर हेर्न भ्यायो। त्यसमा अरु केही थिएन, केवल मैले फेसबुकको 'माई डे' मा राखेको टिकटकको भिडिओमा दुई 'हर्ट' साइन बाहेक।
आँखाबाट आँसुका थोपा वर्षा याममा बाढी-पहिरो गराउने मेघका धारा झैँ चुहिन थाले। म पत्याउन सकिराखेको थिइनँ किनकि ऊ त्यही हो जसले उसैसँग बोल्नको लागि खोलेको फेसबुक अकाउन्टलाई आफ्नो ब्लक लिस्ट सजाएर राख्न भ्याएको थिई। ऊ त्यही हो जसले अन्जानमै मेरो सोझोपनको फाइदा उठाएर प्रेमको अपराधीको उपमा दिएर गएकी थिई।
म एकछिन नतमस्तक भएँ, टोलाएँ। मैले सोचेको पनि थिइनँ कि उसले मसँग बोल्न खोज्ली भन्ने कुरा। किनकि मलाई यो झलल याद आउँथ्यो 'बाह्र वटा सिमकार्ड भाँचेर फ्याकेको, तीन वटा फेसबुक अकाउन्ट डिएक्टिभ गरेको, भाइबर, इमोमा अकाउन्ट बनाएको। यसको साथै मेरो निर्दोश कपीका कति पन्ना च्यातेर फ्याँकेको।'
उसका मामाका छोराछोरीले मलाई थर्काएको। उसको बाबाले, दाइले फोन गरेको। कलेजको प्रिन्सिपल, कोर्डिनेटरहरूले आफ्नो रुममा बोलाएर 'रेस्टिकेट' को धम्की दिएको। मेरो फुपूको छोराले कोठामा बस्न अधिकार नदिएको। थुप्रै उपद्राहरू यादमा छन् जो भनेर सम्भव नहोला।
यो हुँदाहुँदै पनि प्रोफाइल खोलेर हेर्न मन लाग्यो, कति बेला यो होइन कि भन्ने भएर। म्युचल फ्रेण्डहरू हेरेँ। फेसबुकको प्रोफाइल पिक्चर थियो हामीले ओजेटी गर्ने बेलाको कीर्तिपुरस्थित स्वास्थ्य चौकीमा बिदाइको दिन खिचिएको फोटो जुन फोटोमा म उसको आँखामा प्रस्ट देखिन्थेँ। त्यो प्रोफाइलमा धेरै बस्न मन लागेन।
फर्केँ म्यासेजतिर र रिप्लाई गर्न पनि डराउने बाटो देखिनँ। 'थ्याङ्क यू' भनेँ र सँगै लब साइन अट्याच गराइदिएँ। तुरुन्तै रिप्लाई आयो 'वेलकम' र प्रश्न थियो 'कस्तो चल्दैछ जिन्दगी? ब्याचलर पढिँदै छ होइन?'
यहाँ म नि:शब्द थिएँ। पढ्दै गरेको पश्नको जवाफ फर्काउन सक्थेँ तर सधैँ जोडिएको प्रश्नको जवाफ के दिउँ!
सरासर ठिक छ भनुँ भने यो दुनियाँको प्रयोग हुने सबैभन्दा ठूलो झुट बोल्ने आँट आएन। जे हो त्यही भनुँ भने आफ्नो व्यथा दुनियाँलाई के सुनाउनु भन्ने भयो। कुनै समयमा मेरो हो जस्तो लाग्थो र आज पनि लाग्दै छ तर सामाजिक परिवेशअनुसार ऊ दुनियाँ भइसकेको थिई।
जवाफ त फर्काउन नै पर्थ्यो तर के फर्काउनु अलि सोचेर साँझपख जवाफ दिउँला सोचेँ र बसेँ। मन र मस्तिष्कले प्रश्न तेर्साउन थाले, यति लामो समयसम्म नपाएको अवसर एकछिन पाएको छस् किन पछि टार्ने?
यो पनि ठिकै हो जस्तो लाग्यो र जवाफ फर्काएँ, 'हो, ब्याचलर पढिँदै छ। जिन्दगी कस्तो चल्दैछ भनुँ म, खेत खन्दा बाउसो (कोदालो वा फरुवा) ढाडमा लागेर छट्पटाइरहेको गड्यौला त देखेकी छ्यौ होला नि, त्यस्तै छ'।
(म प्रायः यसरी नै बोल्ने गर्थेँ, यो भनाइ पक्कै पनि बुझी होला।)
म भक्कानिएँ, केही सहानुभूति प्रकट गरेर 'सरी' भन्ली सोचेको त मेरो जिन्दगीलाई मोज ठानेर काटिएको घाउमा नुनचुकको व्यवस्था मिलाइदिई।
फेरि सोधी, 'कलेजको कोही साथीसँग भेट हुन्छ कि नाई? को-कोसँग कुराकानी हुन्छ?'
म: कोहीसँग हुँदैन, विगत ४ वर्षदेखि तिम्रो हकमा र ६ महिनादेखि साथीको हकमा आज तिमी बोल्दै छौ। अनि तिम्रो?'
ऊ: म सुनिल र प्रिन्सलाई भेट्थेँ। उनीहरूमध्ये प्रिन्स आजभोलि काठमाडौं गएको छ, सुनिलसँग आज भेट भयो। महेश, अनिल, बेबिना, अनिसा, स्मृतिबाहेक अरुसँग कुरा भएको छैन। त्यति धेरै साथीमध्ये सबै हराए है?
म: (उसको त्यो बेलाको प्रेमीको बारेमा सोध्न मन लाग्यो तर सकिनँ सोध्न, बल्लबल्ल आज बोलेकी छे कतै यसमै ब्लक गरी भने!) उम् हो। अँ साच्चै तिमी 'नेपाल मेडिसिटी' मा काम गर्दै छौ रे, कस्तो चल्दैछ काम?
ऊ: ठिकै छ यार! ल्याङ पनि छ। जे होस् अलि सिक्ने काम पनि भैराखेको छ।
म: ल ल... राम्रो गर, काम गर्दै गर्दा होस पुर्याएर गर्नू, आफ्नो ख्याल गर्नू (बडो सिथिल भएँ) बोल्दै गर्छु ल!
उसले म्यासेजको रिप्लाई दिई- 'नाई हुन्न, अब बिहे गर्दैछु। यही सुनाउन बोलेकी हुँ। थाहा छ तिम्रो माया अनि माया गर्ने शैली पनि। तिमीभन्दा दिन कटाउन गाह्रो मलाई छ तर विडम्बना! म चाहेर पनि तिम्रो हुन सक्ने छैन। मलाई माफ गरिदिनु, अर्को जुनीमा तिम्री हुनेछु।'
र ब्लक गरी।
अब बोल्ने ठाउँ पनि थिएन र गर्न सक्ने पनि केही थिएन। केवल अश्रुधारा मात्र बगाउन सक्थेँ। म जबरजस्ती उसलाई आफ्नो बनाउने पक्षमा थिइनँ। जीवन स्वतन्त्र छ, व्यक्ति स्वतन्त्र हुन पाउनु पर्छ। प्रेम पाउनु पर्छ भन्ने मा सीमित हुँदैन, गुमाउनुमा पनि प्रेम नै हुन्छ।
जय प्रेम, जय प्रेमी, जय प्रेमालय!