ती कलिला हातहरू समाई
कपुरी 'क' लेख्न सिकाउनेदेखि लिएर
एक सुन्दर भविष्य बनाउन सिकाउने
एक साधारण तर महान् व्यक्ति हुन् शिक्षक
संसारमा खुलेआम झुटको व्यापार हुँदा
निश्वार्थ सत्यलाई सबै सामु पुर्याउन
चेष्टा राख्ने व्यक्ति हुन् शिक्षक
अँध्यारो जीवनलाई उज्यालोको बाटोतर्फ
मोडिदिन्छन् उनी प्रदान गरी शिक्षा
सिक्न चाहान्छन् हरकोही धेरै कुरा जीवनमा
मागी उनीसँग ज्ञानको भिक्षा
आज म शिक्षकको महत्व बुझी
उहाँमा समर्पित यो कविता लेख्दै छु।
उहाँका विद्यार्थी जीवनको बाटोमा
धेरै टाढा पुगिसक्दा पनि
उहाँलाई म त्यही ठाउँमा देख्दैछु
आज सफलता हासिल गरेर
कसरी बिर्सिनु उहाँलाई
जसले हरेक दिन उचाइको कुरा गरेर
यो सफलताको शिखरमा
पुग्न सहयोग गर्नुभयो
पढ्न अल्छी लागेर कक्षा छोडेर भाग्दा
गाली गर्न छोडी दोस्रो अभिभावक भएर
पढाइको महत्व बुझाउनुभयो
हजुरले दिनुभएको त्यो
अनेकौँ ज्ञान र सभ्यता बोकि
अघि बढिरहेछु म
हजुरका ती तिता तर सत्य भनाइलाई
आत्मसाथ गरी शिखर चुम्ने आँट गरिरहेछु म
कुनै शब्द छैन मसँग हजुरलाई धन्यवाद दिन
तर पनि कोसिस गर्नेछु
धन्यवाद छ गुरु हजुरलाई पढाइको महत्व बुझाउनु भएकोमा
धन्यवाद छ हजुरलाई यो संसारमा जिउन सिकाउनु भएकोमा
धन्यवाद छ हजुरलाई हामीलाई एक असल व्यक्ति बनाइदिनु भएकोमा
धन्यवाद छ हजुरलाई निश्वार्थ ज्ञान प्रदान गरी
यो समाजमा परिवर्तन ल्याउन सहयोग गर्नुभएकोमा
र अन्त्यमा धन्यवाद छ गुरु हजुरलाई
यो अँध्यारो जीवनमा ज्ञानको प्रकाश छरी
उज्यालो प्रदान गरिदिनु भएकोमा।