प्रिय!
मलाई चित्त बुझ्नेवाला छैन
तिमी नआउन्जेल
मैले जति अघाउन्जेल खाए पनि
तिमीलाई नभेटिन्जेल
हराउनेवाला छैनन् तिम्रा यादहरू
हो, तिमीलाई नभेटिन्जेल
म समय विपरीत यो जीवन राखेर
आश्वासनको अचानोमा आफ्नै मन राखेर
सपनाको खुकुरीले टुक्राइरहेको हुनेछु
निरन्तर।
उ प...र... क्षितिजमा
घामले शीर बिसाएपछि
घामजस्तै मलाई पनि
तिम्रो काखमा टाउको बिसाएर
बिसाइदिन मन छ पूरा जिन्दगी
बिताइदिन मन छ पूरा जिन्दगी।
प्रिय,
तिमी मबाट टाढा हुनु
प्रकृतिको नियम विपरीत हो
तिमी मसँग नहुनु भनेको
म मसँगै नहुनु हो
मलाई थाहा छ
तिमी मबाट टाढा हुनुका पछाडि
केही सपनाहरू हुन्, केही महत्वकांक्षा
जीवनमा सबै पाइँदैन
खासमा सबै चाहिँदैन पनि
तर, तिम्रो अनुपस्थितिमा जीवनको
अर्थ, अस्तित्व र रङ छैन
त्यसैले तिमी आऊ।
.
.
प्रिय निद्रा।