चुरोटको ठुटो म
कसैले खोज्दैन
कसैले सोध्दैन
जसले जेका लागि खोज्थ्यो
रित्याइसकेको छ
सक्काइसकेको छ
निमोठी सकेको छ
हुर्याइसकेको छ
निभाइसकेको छ
खसाइसकेको छ
बसेँ हुँला कुनै दिन कसैको खल्तीमा
बसेँ हुँला कुनै दिन कसैको कमलो हातको काँपामा
बसेँ हुँला कुनै दिन कसैको खोपामा
मलाई आजकल
कसैले खोज्दैन
म कहाँ गएर भनुँ महासय?
म जलेर उसको इच्छा पूरा गरेँ
म जलेर उसको तलतल पूरा गरेँ
म सकिएँ
म पोख्खिएँ
अब मलाई न्याय
कुन न्यायालयले दिन्छ?
कुन कानुनले दिन्छ?
म यसै हराउनु पर्छ
महाराज
म यसै बिलाउनु पर्छ
मलाई कसैले खोज्दैनन्
मलाई कसैले सोध्दैनन्
म चुरोटको ठुटो
अब कुनै ब्रान्ड छैन
म चुरोटको ठुटो
अब कुनै मूल्य र नाम छैन
मेरो आफ्नै नाम
मेरो आफ्नै मूल्य
मेरो आफ्नै स्वाद थियो
सिङ्गो हुनु भनेको आफू हुनु रैछ
नभाचिनु भनेको आफू हुनु रैछ
म खरानी भएपछि मलाई कस्ले खोज्छ मित्र?
म भाँचिएपछि मलाई कस्ले मान्छ
म जलेपछि मेरो ठुटो कस्ले खोज्छ?
आजभोलि
मलाई
एक चुरोटको ठुटोले
विश्व विद्यालयको धुम्रपान कक्षमा
यही पढाइरहेको
म यही पढिरहेको छु
कुनै प्राध्यापकले बुझाउन नसकेको एक सत्य
आज मलाई एक धुम्रपान कक्षको
मामुली चुरोटको ठुटोले सिकाइरहेको छ
पढाइरहेको छ।