हे मनुवा!
स्वघोषित प्राणी श्रेष्ठ मानव
सधैं साढेँको जुधाइ, बाछाको मिचाइ किन?
तिम्रा युद्धमा सधैं मर्नुपर्ने म, किन?
तिम्रा बमबारुदमा सधैं उड्नुपर्ने म, किन?
तिम्रा बन्दुकका गोलीमा सधैं पड्कनु पर्ने म, किन?
न मेरो जन्ममा तिम्रो देन
न मेरो लालनपालनको सास्ती
न मेरो गुडँ तिम्ले लगाउँछौ
न दिन्छौ चारा, न पानी
न मैले तिमीसँग केही मागेँ
न तिम्रा हतियार कोतरेँ
न लुटे तिम्रा चेली
न चाहे तिम्रा सम्पत्ति
न ठुङेँ तिम्रा लालाबाला
न खोस्रे तिम्रा रुपछाला
अनि
किन मनुवा
तिम्रा अहंकारको मिसाइलमा
सधैँ म डड्नुपर्ने?
कतै तिमीजस्तो अपराध नबाँच्नु भुल भयो कि?
कतै तिम्रोजस्तो कित्ताकाँट नहुनु गल्ती भयो?
कतै यो तेरो यो मेरो नगर्नु कमजोरी भयो कि?
कतै आ-आफ्ना नलड्नु नलडाउनुको सजाय हो?
कतै तिम्लेजस्तो शासक शोषित नरोज्नुको उपज हो कि?
कतै तिम्लेजस्तो ढाडमा छुरा नरोप्नुको कारण हो?
आज
भन मनुवा
तिम्रो मूर्खताको युद्धमा
सधैँ म किन जल्नु पर्ने?
सधैँ म किन मर्नु पर्ने?
सधैं म किन डड्नु पर्ने?