बाहिर असारको दर्कँदो पानी परिरहेको थियो। टुक्राटाक्री काला बादलहरू एकत्र भएर आकाशलाई चियाउनसम्म प्वाल छोडेको थिएन। क्षण क्षणमा चम्किने बिजुलीले भने सृष्टिलाई निमेषको लागि प्रकाशित गर्थ्यो। डाक्टर प्रभा थकित र गलित शरीर लिएर घरमा आइपुगिन्।
उनको हातमा केही फूलमाला, प्रमाणपत्र, थियो। उनी आज हस्पिटलबाट सदाको लागि बिदा भएर आएकी थिइन्। ती अँगालो भरिको भौतिक सम्मानलाई सोफामा ओछयाएर लामो सुस्केरा फेरिन्। आफ्नो सेतो कोट फुकालिन्। त्यो सेतो कोटलाई हातमा लिएर एकटक हेरिन्। आफ्नो एक थोपा आँसु पनि त्यसैमा गुटमुटाइन्।
किन किन आज त्यो सेतो कोट उनलाई ओइलाइसकेको सेतो गुँरास प्रतित भयो। न सुवास छ न त सौन्दर्यको आभा नै। कुनै समय त्यसमा निहित परफ्युमले मुर्दा घरभित्र पनि मगमगाउने त्यो सेतो कोटमा आज उनलाई धेरै मानिसको पोलेको लासको गन्ध आउन थाल्यो। संसारबाट बिदा लिइसकेका धेरै-धेरै अनुहार उनलाई याद आउन थाल्यो।
आज उनलाई आफ्नै सेतो कोट मुर्दा घरजस्तो लाग्यो। भर्खरै जन्मेका शिशुदेखि लिएर सय वर्षसम्मका वृद्धको अनुहार उनको स्मृतिमा झुमिन थाले। एक, दुई, तीन, चार उनले स्मृतिमा आएका मानिसहरूलाई गिन्ती गर्न थाले। अन्ततः उनी थकित बनिन् र गन्न छोडिदिइन्।
सेतो कोटलाई दराजको ह्याङगरमा झुन्डयाइन्। दराजबाट उच्च रक्तचापको एउटा औषधिको गोली लिएर सेवन गरिन्। औषधि पानीसँगै घाँटीमा पग्लिँदै जाँदा, पहिलो पटक जीवनमा आफैको मृत्युबोध भयो। प्रभालाई यस्तो लाग्यो, मृत्युको यही गिन्तीमा एकदिन आफ्नो पनि एक थपिन्छ र गिन्ती सकिन्छ। कसैको पनि जीवन एक संख्यासिवाय केही होइन।
आफ्नो हत्केला ओल्टाइपल्टाइ हेरिन्। हत्केला खाली थियो। सोच्न थालिन्, जीवनमा के पाइयो र? ३५ वर्ष सेवा गरेको उनका यी दुई हत्केलामा बिरामीहरूले जानेबेलामा आँसुको दुई थोपाबाहेक अर्थोक दिएर गए न कि खुसीको कि दुःखको। जीवन दिनसके जित, र मृत्यु भए हारकै खेलमा उनको यति लामो जीवन अल्मलियो। जीवनमा उमेरहरू यसरी बेहोसीमै गए कि शिरमा सेतो कपालले छोपिएर सिउँदो पनि ओइलाइसकेको थियो। मानौँ, सेतो कोटले आफ्नो रंग थोरै सापटी दिएर कपाल पनि रंगाइदिएजस्तो।
दराजको घर्राबाट उनले पूरानो डायरी झिकेर आफैलाई खोज्न थालिन्। डायरीभित्र एउटा ३५ वर्ष पूरानो पत्र अझै सुरक्षित रहेको थियो। त्यो पत्र उनले आजसम्म पढेको थिइनन्। आज पहिलोपटक पत्र पल्टाएर उनले पढ्न थालिन्।
एउटा मुक्तक कुँदिएको रहेछ।
प्रिय डाक्टर प्रभा
मेरी उनीभन्दा तिमी असाध्यै मलाई प्यारी छौ
अँध्यारो मेरो जीवनमा सेतो कोटले उज्याली छौ
बाँचे भने बाँचेरै तिमीलाई पाउने इरादा गर्नेछु
मरे भनेपछि ढुँगामा बाँचेर तिम्रै प्रतिक्षा गर्नेछु
-उहीँ तिम्रो क्रान्तिकारी
पत्र पढिसकेपछि उनका आँखाबाट दुई थोपा आँसु तप्केर पत्रलाई चिस्याए। चिसो पत्रसँगै पछयाउन थाले जीवनका ती स्वर्णीम दिनहरू, जुन दिनहरू अब उनलाई सदाको लागि 'गुडबाई' गरेर गइसकेका थिए।
जीवनमा पहिलो पटक सेतो कोट लगाएर हस्पिटलमा प्रवेश गर्दा प्रभा निकै रोमाञ्चित भएकी थिइन्। त्यति बेला उनी मात्र २४ वर्षकी थिइन्।
उनको सानैदेखिको सपना पूरा भएको थियो। त्यो सपनामा परिवारको धेरैको सपना गाँसिएको कुरा उनलाई थाहा थियो। यसैले त उनले जीवनमा रसियामा रहँदा आफ्नो सपनालाई साकार बनाउन ठूलै साधना गरिन्। पहिलो पटक छातीमा सजाउँदा उनलाई त्यो सेतो कोट अति नै सुवासिलो लागेको थियो। मानौँ, त्यो कोट सेतो गुँरास हो, जसले उनको जीवनमा सुगन्ध छरिरहेको थियो।
उनी नेपाल आउनेवित्तिकै पहिलो पटक ड्युटी गरेको एउटा नाम चलेको सरकारी हस्पिटल थियो। धनीभन्दा गरिब वर्गका बिरामी नै बढीजसो उपचारका लागि आउँथे। उनी उपचारमा निकै रमाउँदै गइरहेकी थिइन्। उनले त्यस हस्पिटलमा सेवा गरेको एक वर्ष जति भएको थियो। एकदिन २५ वर्ष उमेर जतिको एक बिरामी ल्याइएको थियो। उसलाई व्यवस्थाको विरुद्धमा आन्दोलनमा लाग्दा खुट्टामा गोली लागेको थियो।
प्रभालाई क्रान्तिकारी मान्छे भन्नेवित्तिकै सुरुमा हल्का त्रास भएको थियो। क्रान्तिकारीले जीवनमा मर्ने र मार्ने बाहेक अर्थोक गर्दैन भनी उनले सुनेकी थिए। गोली लागेको एक क्रान्तिकारी ल्याइदैछ भनी सुन्दा, उनको मानसपटलमा दाह्री पालेका एक प्रौढ व्यक्तिको चित्र उदय भएको थियो। तर उनको परिकल्पनालाई चिर्दै त्यो क्रान्तिकारीको उदय भयो।
ऊ चलचित्रको कुनै हिरोभन्दा कम थिएन। अनुहारमा कुनै भयानकता थिएन, यतिसम्म कि खुट्टामा मृत्यु झुन्डयाएर पनि अनुहारमा त्यसको भय पखालिएको थियो। हरेक कुरामा त्यो क्रान्तिकारी, उनले किताबमा पढेका क्रान्तिकारीभन्दा फरक थियो। न उसमा जुँगा थियो न दाह्री नै, जुन उनले कल्पना गरेकी थिए। सादा अनुहारमा उसका जीवनका हरफहरू प्रष्टै लेखिएका थिए।
ऊ उनकै उमेरको थियो। सधैँ बेडमा सुतेर किताब पढिरहन्थ्यो। आँखामा मोटो चश्मा झुन्डिरहेको हुन्थ्यो, पावरको। आफू पनि चश्मा लगाउने भएकीले पावरको उनले सहजै अनुमान लगाएकी थिइन्। उसको सेवार्थ प्रभालाई खटाइएको थियो। झण्डै ४५ दिन जति भइसकेको थियो प्रभाले उसलाई सेवा गर्न थालेकी। त्यो अवधिमा, प्रभा र उसको बीचमा मौनताको एउटा अग्लो पर्खालसिवाय केही थिएन, जुन मौनतालाई कहिलेकाहीँ औषधिको प्रेस्क्रिप्सनको सम्बोधनले तोडिन्थ्यो। दुईजना बीच औपचारिकबाहेक अरु संवाद भएकै थिएन। त्यो अवधिमा गोली पनि झिकिसकिएको थियो। ऊ थोरै हिँडडुल गर्न सकेको थियो।
एकदिन त्यो युवकले अप्रत्याशित रुपमा इन्जेक्सन दिनै लागेकी प्रभालाई सोध्यो, 'डाक्टर साहेब, तपाईंको नाम के हो?'
उनी अवाक भइन्। हस्पिटलमा पहिलो बिरामी थियो त्यो जसले उनको व्यक्तिगत जीवनको परिचय कोट्याएको थियो। हस्पिटलमा बिरामी र डाक्टरको बीचमा अनौपचारिक संवाद खासै हुँदैन थियो। डाक्टरले सामान्य चेकअप गर्थे र आफ्नो फर्ज पूरा गर्थे, तर पहिलो पटक आफ्नो बारेमा सोधिँदा उनी अचम्मित भइन्। समवयस्क पुरुषले यसरी आफ्नो बारेमा सोध्दा उनलाई भित्र कता-कता संकोच पनि भयो।
'प्रभा!'
प्रभाले एकटक त्यो युवकलाई हेरिन्। युवकको आँखामा गम्भीरताका लहरहरू दौडिरहेका थिए। प्रभालाई आज आएर ती लहरहरूलाई समातेर सोध्न मन लागेको थियो, यो उमेरमा यो निरसता किन? व्यवस्थाको विरुद्धमा राँको त सल्कायौ सल्कायौ, आफनै जीवनलाई पनि त्यही राँकोमा किन झोस्यौ? बस, अन्जानैमा उनको ओठमा सुस्त स्वरमा एउटा प्रश्न तैरियो, 'यो उमेरमा पनि क्रान्तिमा लाग्ने हो?'
'विवाहको निमन्त्रणा बाँड्न हिँडेको थिएँ, व्यवस्थाले गोली हान्यो, के गर्ने त?' युवकले कटाक्षमा जवाफ फर्कायो। उनको जवाफसँगै ओठमा मुस्कानका रेखा कुँदिए।
'कस्को विवाह?' प्रभाले आश्चर्य मानी सोधिन्।
'कस्को हुनु नि, मेरै हो नि,' उनले आफ्नो पाइन्टको गोजीमा कुचुक्क परेको विवाहको निमन्त्रणा कार्ड झिकेर देखायो। प्रभाले त्यो कार्डलाई गौर गरी पढिन्। जुन दिन उनलाई यो हस्पिटलमा ल्याइएको थियो, त्यसको भोलिपल्टको मितिमा विवाहको मिति राखिएको थियो।
उसले फेरि प्रभातिर इंकित गर्दै बोल्यो, 'अब त मेरी उनीको अन्तै पनि बिहे भइसक्यो होला। ल डाक्टर साहेब, म यहाँबाट निको भएर जान्छु, मेरी उनीको विवाह भएको छैन भने, मेरो विवाहमा हजुर सरिक हुनुपर्छ है।'
प्रभाले यति मात्र बोलिन्, 'हस्।'
घरमा विवाहको कुरा चल्न थालेको थियो। त्यति बेला छोरीलाई २५ वर्ष माइतीमा राख्नु पर्दा पनि आमाबाबु असहाय बन्थ्यो। एकदिन आमाले कोठामा बोलाएर भनिन्, 'ल छोरी अब ठूली भइस्, विवाह गर्नुपर्छ। डाक्टरको छोरो हो, डाक्टरै हो। आफ्नै नर्सिङ होम छ। के भन्छेस्?'
प्रभाले केही बोलिनन्। सरासर अर्को कोठामा गइन्। उनलाई केवल त्यही क्रान्तिकारीको झझल्को आउन थाल्यो। उसको अनुहारमा गज्जबको आकर्षण थियो। जो कोहीलाई गोली हानेकोमा सरकारप्रति एकमनले घृणा पनि जागेर आयो।
भोलिपल्ट हस्पिटलमा केही शंकास्पद मान्छेहरू आएर उसको बारेमा हालखबर सोधेको थियो। कुरा हुने क्रममा प्रभाको मुखबाट विवाहको निमन्त्रणा कार्ड बाँड्न हिँडेको मान्छेलाई पनि गोली हानेछ भनेर फुत्त निस्केछ। ती मानिसको समूहबाट एउटाले भन्यो, 'कहाँ त्यस्तो हो र? एक नम्बरको क्रान्तिकारी हो यो मान्छे। संसद भवनमा बम हान्न खोज्ने यही मान्छे हो। खुँखार व्यक्ति हो यो।'
प्रभाको मुटु त्यो मान्छेको कुरा सुनेर बेजोड धड्कियो। प्रभाले पछि बुझ्दा ती हालखबर सोध्न आउनेहरू सादा पोशाकमा प्रहरी रहेछन्।
प्रभा अब त्यो क्रान्तिकारीसित खुल्न थालेकी थिइन्। उनले हिजो प्रहरीहरू तिम्रो निगरानी गर्न आएको भनी खुसुक्क भनेछिन्। उसले सहजै भावमा लियो। यति मात्र भन्यो, 'हो, हाम्रो जीवन अनिश्चित छ। हामी अरुका आतंक हौ, हाम्रो लागि अरु आतंक हो। फूल समाते पनि बमजस्तो लागेर कैँयनपटक फालेको छु, किनकि मैले पनि फूलमा धेरैपटक बम राखेर माला गाँसिसकेको छु।'
प्रभाले इन्जेक्सन दिनै लागेकी थिइन्। उसले प्रभासँग आँखा जुधाउँदै बोल्यो, 'डाक्टर प्रभा, यो संसारमा केवल तपाईंप्रति मात्र विश्वास छ। कृपया धोका नदिनुहोला। यहाँबाट गएर मेरी उनीसित बिहे गर्नुछ।'
यति भन्दै त्यो क्रान्तिकारी मान्छे कोलाहल हाँस्यो। त्यो हाँसोले हस्पिटलका सबै आँखा त्यो बेडमा आएर थुप्रिए। प्रभालाई कता-कता लज्जानुभूति भयो।
उनले प्रभातिर हेर्दै बोल्यो, 'अब साथीजस्तो भैसक्यौँ, मेरो विवाहमा आउनुपर्छ है डाक्टर साहेब।'
डाक्टर प्रभाले साविककै लयमा बोलिन्, 'हस्।'
'भगवानको कृपा भएमा फेरि हाम्रो भेट होला,' उसले बोल्यो।
प्रभा पनि थोरै मजाकको हाँसो हाँस्दै बोलिन्, 'हामी भगवानलाई मान्दैनौँ फेरि।'
'उसो भए जुन दिन तपाईं सेतो कोट सधैँका लागि फुकाल्नु हुन्छ, त्यो दिन तपाईं सबैभन्दा पहिला मन्दिर नै जानुहुन्छ।'
दुवैजना यो पटक भने मजैले हाँसे।
उपचार चलिरहेकै थियो। उसको स्वास्थ्यमा निकै सुधार आइरहेको थियो। देशमा व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेर जुलुस आएको स्वर हस्पिटलमा प्रष्टै सुनिन्थ्यो। प्रभालाई पनि अब केही दिनमा पूर्णत ठिक होला कि जस्तो लागिरहेको थियो। त्यो युवक पनि प्रभाप्रति खुल्न थालेको थियो।
एकदिन प्रभालाई हस्पिटलको इन्चार्जले अफिसमा बोलायो। प्रभा कोठामा गइन्। प्रभालाई बस्नका लागि इशारा गरियो। त्यहाँ नचिनेका दुई जना मानिस पहिले नै उपस्थित थियो। प्रभाको मनभित्र त्यहाँको वस्तुस्थितिले केही शंका उब्जायो। इन्चार्जले प्रभालाई सोध्यो, 'बेड नं ६६ को अवस्था के छ?'
प्रभाले जवाफ दिइन्, 'एकदम प्रोग्रेस हुँदैछ।'
इन्चार्जले प्रभालाई टेबुलमा एउटा बक्समा राखेको इन्जेक्सनतिर इशारा गर्दै बोल्यो, 'प्रभा, मलाई विश्वास छ, तिमीले त्यो मान्छेलाई यो इन्जेक्सन दिँदा, तिम्रा हात काँप्ने छैनन्।'
'के हो यो?'
'मुक्ति।'
'मेरो हातबाट... ' प्रभाको स्वरमा कम्प आयो।
'त्यो मान्छे निको भएर जानेवित्तिकै गोली हान्छ। त्यसको मृत्यु निश्चित छ। छटपटाएर मार्नुभन्दा तिम्रो हातले हाँसी हाँसी मारिदेऊ। तिमीसँग त्यो हाँस्न थालेको छ। त्यस्लाई मुक्ति देऊ, सदाको लागि।'
'कस्तो पापी!' प्रभाको स्वर आद्र थियो।
'तिमीले हजारको जीवन बचाएकी छौ, यो एक हत्याले केही पनि पाप लाग्दैन। देशको संकटकालमा यस्तो एक/दुई घटना स्वभाविक हो। यसले हस्पिटलमा तिम्रो उच्च मूल्याकंन पनि हुन्छ।'
प्रभाको अनुहार ओइलायो। बल्लैले ओठमा एक लहर मुस्कान दौडाएर बोलिन्, 'हुन्छ, मलाई दुई दिनको समय देऊ।'
म जान्छु भन्दै प्रभा बाहिर आइन्। यति बोल्दै बाहिर आउँदा दुई थोपा आँसु उनका आँखाबाट तरक्क चुहियो। किन-किन आज आएर प्रभालाई त्यो युवकको ज्यादै माया लाग्यो। उनले जसरी पनि दुई दिनको अवधिमा उसको जीवन रक्षा गर्ने प्रण गरिन्।
उनी त्यही बेडमा पुगिन् जहाँ ऊ किताबमा शीर राखेर मस्त निदाइरहेको थियो। निद्रामा पाएको उसलाई देखेर प्रभाको मनमा भयको लहर दौडियो। सबै बेडमा बिरामी र कुरुवाहरू मस्त निदाइरहेकोले आज आएर, प्रभाले त्यो क्रान्तिकारीको गालामा हलुको तवरले छोइन्, मानौँ त्यो उनको कोही आफन्त हो। प्रभा डाक्टर होइन, कुरुवा हो। फूलमाथि राखिदिएको पातको हलुको स्पर्शको पनि चाल पाएर त्यो युवकले आँखा खोल्यो।
उसलाई सन्चो पाएर प्रभाको दिल एकक्षण मुसुक्क हाँस्यो। घडी यसो हेरिन्, रातको ११ बजिसकेको थियो। झ्यालबाट बाहिर मानिसहरू गेटमा रातको चकमन्नता तोड्दै ओहरदोहर गरिरहेको देखिन्थ्यो। प्रभाले भनिन्, 'जरुरी काम भएकोले तपाईंलाई उठाएको। तपाईंको ज्यान खतरामा छ। दुई दिनभित्र तपाईंलाई मार्ने षड्यन्त्र हुँदैछ। तपाईं सक्दो यहाँबाट भाग्नुस्।'
'यस्तो अवस्थामा?'
पहिलोपटक प्रभाले उसको मुहारमा निराशा देखिन्। स्वरमा पनि उसको आशा पूरै गलेको थियो। फाँसीको अगाडि कालो कपडाले छोपिनु अगाडिको अपराधीको जस्तो उसको अनुहार कालो हुँदै गयो। उसको अनुहारमा उदाएको त्यो कालिमालाई पुछ्ने हेतु प्रभाले भनिन्, 'सक्दो मैले पनि मद्दत गर्नेछु। भोलिको राति तपाईंलाई भगाउने म प्रबन्ध गर्नेछु। के थाहा, यो दुई दिनमा व्यवस्था फेरिएर तपाईं मन्त्री पनि हुनुहोला कि!' प्रभाको बुज्रुक कुरा सुनेर त्यो मान्छे पीडा चपाएर मुसुक्क हाँस्यो। त्यो रातको लागि प्रभा ऊबाट छुटिइन्।
भोलि भयो। प्रभा तयारीपूर्वक उपस्थित भइन्। प्रभाले रातको चकमन्नतालाई कुर्दै रहिन्। हस्पिटलमा सबै सपनामा हराउँदा, रातको चकमन्नता कुर्दै रहेका ती दुई प्राणी चल्मलाए। प्रभाले उसलाई भगाउनका लागि बडो गोप्य तरिकाले दुइटा बैशाखीको पनि प्रबन्ध मिलाएकी थिइन्। सिढीसम्म आफै सुस्त तरिकाले बिदा गर्न गए। अनि हस्पिटलको पहिलो तल्लाको झ्यालबाट उसलाई ढोकाबाट बाहिर गएको हेरेर प्रभाले चैनको सास लिइन्।
प्रभा माथि आउन सिँढीमा के चढेकी थिइन् बाहिरबाट ठूलो स्वरमा ड्याम-ड्याम गोली चलेको आवाज आयो। बाहिर ठूलो कोलाहल भयो। प्रभाको मुटु ढुकढुक भयो। होस हराएजस्तो सिँढीमा लडिन्। एकक्षण अचेत भए। होसमा आउँदा उनलाई गार्डले उठाउँदै थियो। उनले काँपेको स्वरमा सोधिन्, 'बाहिर के भएको रहेछ?'
गार्डले भन्यो, 'एउटा क्रान्तिकारीलाई प्रहरीले गोली हानेको रहेछ। हाम्रै हस्पिटलबाट भर्खरै भागेको थियो।'
त्यसपछि उनले अरु सुन्न सकिनन्। उनी आँखाभरि आँसु पार्दै माथि उक्लिन्। उसको बेडमा आएर घोप्टिइन्। सिरानीमा एउटा पत्र छोडेर गएको रहेछ। त्यो पत्रलाई आफ्नो गोजीमा सुरक्षित राखिन्। त्यो रात उनले डयुटी गर्दै नगरी घर फिर्ता भइन्।
बिजुली सम्झिएर सृष्टि नै प्रलय भएको जस्तो आभासले उनी फेरि वर्तमानमा पछारिइन्।
हातमा अझै त्यही पत्र काँपिरहेको थियो। प्रभाले त्यो पत्रमा दुई थोपा आँसु चुहाइन्। उनको हातबाट पत्र भुइँमा झस्किएर खस्यो। उनले उठाउन चाहिनन्। बरु दराजको ह्याङगरमा झुन्डयाइसकेको सेतो कोटलाई फेरि झिकेर ओल्टाइपल्टाइ हेरिन्। अनि के-के सोचेर, त्यो कोटलाई एउटा झोलामा पोको पारी बाहिर गइन्।
ग्यारेजमा पुगेर आफै कार स्टार्ट गरिन्। आफैले कार हाँकेर गइन्, एउटा अनकन्टार ठाउँमा, जहाँ एउटा सालिक पानीले निकै रुझिरहेको थियो। उनले पहिला सालिकको खुट्टा ढोगिन्। मुनाले मदनको खुट्टामा घोप्टिए जस्तो क्षणभरको लागि देखिइन्। अनि सालिकको आँखामा आँखा जुधाउँदै सप्रेम, उनले आफ्नो सेतो कोट सालिकको शीरमा ओढाइदिइन्।
त्यसपछि आफ्ना आँखा चिस्याउँदै उनी फर्किन्। कारमा घुसेर अन्तिम पटकलाई एकपटक सालिकमा फर्केर हेरिन्। उनलाई त्यस सालिकले हात हल्लाएर बिदा गरिरहेको आभास भयो। र मनमनै भनिन्- 'तिमी २५ वर्ष शरीरले बाँच्यौ, पैँतीस वर्ष सालिकमा बाँचिसकेको छौ। जुन रुपमा पनि तिम्रो सामीप्यतामा कति हार्दिकता छ। कति मोहक प्रेम छ, तिम्रो आँखामा, चाहे त्यो सजीव होस् कि निर्जीव। आज म निकै पोखिएँ यहाँ आएर, तिमी पनि झरीको सापटी लिएर निकै रोयौ। तिम्रो आँसु र मेरो आँसुको यो दोधारामा आज हाम्रो प्रेमको डुंगा हाँस्दै बगेको छ।
म बाँचुन्जेल तिमीलाई सडकमा ठिङ्ग उभिएर रुझ्न पनि दिन्न। तिम्रो हरेक पीडामा मेरो पीडा छ। तिमी बाँच्छौ, सधैँ बाँच्छौ, तिम्रो सालिकलाई कसैले गोली हान्न सक्दैन। हाम्रो आयुजस्तो तिम्रो आयु छोटो छैन। तिमी अमर छौ, तिम्रो प्रेम अमर छ। त्रिम्रो देशप्रतिको त्याग मेरो सेतो कोटजस्तो ओइलाएर जाने छैन।
आजबाट मैले सधैँको लागि भौतिकता पनि त्यागेकीले होला, मलाई आज आएर किन-किन अर्को जुनीमा विश्वास भएको छ। कसैको शक्ति बिना यो बिजुली त्यसै पृथ्वीमा खसेको छैन। मभन्दा ३५ वर्षअघि नै अदृष्य यो शक्तिलाई चिनेर, देशका लागि हाँसी हाँसी मृत्यु स्वीकारेकामा, तिमीलाई आज आएर मेरो लाख लाख प्रणाम!'