रातले एक कोल्टे फेरिसकेको थियो। तर मेरो आँखामा निद्रा अझै परेको थिएन। सिरानी र परेलीहरू आँसुले भिजेर चिसा भएका थिए। आँसु बहेर आँखा दुख्न लागेका थिए।अब अरु रुन सक्ने क्षमता न आँखामा थिए न आँसुमा बहन सक्ने। तर मनमा पीडाहरू अझै बाँकी थिए। मलाई मेरो अस्तित्वको आभास जसले गरायो, उसकै अस्तित्व मेरो जीवनबाट आज हराएको थियो।
मलाई म हुँ र केही हुँको महसुस गराउने ऊ, केही भन्नै नपाई छोडी गएको छ। मलाई जसले चाह्यो र मैले जसलाई चाहेँ, उसलाई नै राजीले (भगवान) किन रोजे? किन उनी मप्रति निष्ठुर बनेका छन्? के म उनको आफ्नै हातले बनाइएको सृष्टि होइन र? हुँ अवश्य पनि। तर किन उनी मेरा जीवनको खुसी, ओठमा छाएको मुस्कान हेर्न चाहन्न?
मेरा खुसीहरू नलुटेसम्म, जिउनुको आधार न छिनेसम्म, मुर्झाएको मुस्कान र आँसुले भिजेका परेली नदेखेसम्म, मलाई विछोड र वियोगको पीडा नदिएसम्म, किन उनी आफ्नो वैभवमा शान्ति पाउँदैनन्। हरेकपल्ट यति ठूलो बज्रपात ममाथि नै किन? म यी सबै प्रश्नहरू राजीलाई भेटेर गर्नेछु। उनले यस्ता कयौँ किनहरूको उत्तर मलाई दिनैपर्छ।
मैले छोरीको रुपमा जन्म लिएको दिनलाई मेरा आफ्नाहरूले अफसोसको दिनको रुपमा मनाए। मसँगै जन्मेको मेरो भाइले संसार देख्न नपाउनुको दोषी आजसम्म मलाई बनाइँदै छ। मेरो आकार छ, मेरो स्वरुप छ। म जीवित पनि छु तर कहिल्यै कसैले मेरो अस्तित्वको महसुस गरेनन्।
कुनै काम नलाग्ने वस्तुलाई जस्तै मलाई व्यवहार गरिँदा मैले कहिल्यै तिमीलाई मलाई किन यस्तो भनी प्रश्न गरिनँ। उर्लिँदो मनका भावहरू बिसौनीको अभावमा म मनभित्रै गुम्साएर राख्थेँ। कहिल्यै कसैको नजरमा नपरेको म, आफ्नै अस्तित्वमाथि प्रश्न गर्न लागेको थिएँ। ह्रदयको वेदना असह्य भई कयौँ रातहरू रुएर नै कटाएको थिएँ तर आँसु सकिँदैन थिए। तर आज आँसु सकिए पनि मनको दुखाइ कम भएको छैन। यो कस्तो वियोगमा मलाई पार्यौ?
मलाई त सानैदेखि तिमीले एक्लै दुःखमा जिउने बानी पारेका थियौ, फेरि किन पल भरको खुसी दिई आफैले लुटि लग्यौ? आखिर खुसी सबै लानु नै थियो त मलाई दियौ किन? कुन जन्मको पापको ऋण तिमी मलाई तिराउँदै छौ? मलाई म छु भन्ने आभास उसले मात्र गराएको थियो, तर त्यो आभास पनि आजबाट हराएको छ।
उसको न्यानो अङ्गालोमा म चन्द्रमाको जस्तै शीतलता पाउने गर्थेँ। उसको उपस्थिति नै मेरो जीवनको ज्योति थियो। यसैले उसलाई मैले कयौँपल्ट चन्द्रमासँग दाँजेको थिएँ। राजी तिमी कति महान् छौ, तिम्रा लिला कति रहस्यमयी छन्!
मैले उसलाई चन्द्रमासँग दाँजेको मात्र थिएँ, तिमीले त उसलाई चन्द्रमाजस्तै बनाइदियौ। अरुले जति चाह्यो, अरुको निम्ति जति धेरै चम्क्यो, उति नै चाँडो रातका काला बादलहरूले छोपी लैजाने। हर रात आकाशमा लाग्ने चन्द्रमा त आौँसीको रातमा हराएर पनि फेरि देखा पर्यो, तर ऊ त्यही कालो बादलहरूमा नै हराएर गयो। मेरै लागि भनी, मलाई नै सम्झिएर ऊ फर्किएन।
मेरो जीवनरुपि दियो आज एक्कासी कहिल्यै नबल्ने गरी निभ्यो। जीन्दगानी घोर अन्धकारले ढाक्यो। मेरो जीवनको उद्देश्य उसलाई पाउनु थिएन तर उसलाई पाएपछि उसैसँग जिउनु थियो। यसैले मेरो उद्देश्य नै ऊ थियो। गन्तव्य ऊसँग रम्नु थियो। तर मेरो उद्देश्यको रेखा त कोरिँदा-कोरिँदा बीच बाटोमा नै अलप भइगयो। जीवन निस्सार भयो। अब उद्देश्यहीन जीवन जिउनु र नजिउनुले के अर्थ राख्छ र?
प्रिय, मेरो त जीवन जिउने आधार नै तिमी थियौ। अब तिमी नै छैनौ भने म केको आधारमा बाँचुला र? यो जुनेली रातमा कालो बादलको सवारीमा म तिमीकहाँ आउन चाहन्छु। मलाई एकैछिन पर्ख है सानु।