कविता
यो एकादेशको एउटा स्याल भोकाएको कथा हो।
अझ भनौं,
भोको स्यालले केही खानेकुरा नपाएर
उसका जंगली साथीलाई सुनाएको
भोकले नित्याएको व्यथाको कहानी हो।
स्यालले भनेछ ‘साथीहरू हो!
यो हाम्रो साझा समस्या हो
आज मैले पाएको दु:ख भोलि तपाईंहरूलाई पर्न सक्छ।
त्यसैले हाम्रो साझा भोकको सामना हामी सबै मिलेर गरौं।
र यसको स्थायी समाधान निकालौं।’
सबैले स्यालको कुरालाई स्वागत गरे
‘क्रान्तिकारी विचारक’ भनेर उसको गुणगान गरे
एकजुट भएर खानेकुरा खोज्न सबै निस्किए।
जंगलका चारै कुना चहारे पछि
धेरै दिनसम्म मानिसका घर गोठमा भौंतारिए पछि
एउटा बाख्राको हड्डी भेटियो।
सबैले एकमत भएर भने
‘हेर स्याल दाजु यो हड्डी तिमी खाऊ
किनकि तिमीले गर्दा हामी यो महान अभियानमा छौं।
अरू पनि हड्डी भेटिएला अनि त हाम्रो पनि भोक मेटिएला’
स्याल खुसी र गर्वले रमायो।
अरूलाई हड्डी खोज्न उकास्दै
उसले भने हड्डी टोक्दै
आफ्नै दुला तिरको बाटो समायो।