कविता
चलाउनु पर्नेछ अब व्यापार बतासको गतिमा
कमाउनु पर्नेछ गाँठ भन्सारको संसार मिलाएर
खोल्नु पर्नेछ एउटा मेनपावर कम्पनी
टेन्डरमा ट्याकटुक कुरा मिलाउनु पर्नेछ
मिडियाको मुख पनि सिलाउनु पर्नेछ
राइज हुनुपर्नेछ राजनीतिमा अब
मेरा विरूद्धमा बोल्नेहरूलाई ठोक्नु पर्नेछ
त्यसैले अब एउटा दलको झोला बोक्नु पर्नेछ।
निरिह बन्नु छैन नियम कानुन मानेर
मिलाउनु पर्नेछ पुलिस, कर्मचारी अड्डा अदालत सबै खोल्नु पर्नेछ एउटा मिडिया कम्पनी पनि
बोल्नु पर्नेछ बेलाबेलामा अन्तर्वार्ताहरूमा पनि
समाजसेवी भनेर चर्चामा पनि आउनु पर्नेछ
त्यसैले अब ठूलै नेताको खुट्टा समाउनु पर्नेछ।
मान्छे निर्यात गरेरै भए पनि
नेताका मुखमा पैसाको बिटो कोचाइदिनु पर्नेछ
ताकि मेरा विरूद्ध ऊ बोल्न नसकोस्
ठूलै नेतासँग फोटा खिचेर फेसबुकमा राख्नु पर्नेछ
ताकि त्यही फोटा हेरेर मानिसहरू पत्याउन थालून्
बिस्तारै बिस्तारै मेरो चाकरीमा आउन थालून्।
सरूवा गराउनु पर्नेछ सालालाई राम्रै अड्डामा
नियुक्ति गर्नु पर्नेछ सालीलाई प्राध्यापकमा
बनाउनु पर्नेछ जेठानलाई संस्थानको जि.एम.
छिमेकीलाई क्या प्रगति गर्यो यार भनेर देखाउनु पर्नेछ
एक दिन मन्त्री भएर इतिहासमा नाम लेखाउनु पर्नेछ।
काम गर्नु छैन मलाई गधाजस्तो
जोतिनु छैन मलाई गोरुजस्तो
मेरा बालेजस्तो हलो जोत्नु छैन
मेरा मास्टरले जस्तो टाउकोले जोत्नु पनि छैन
बनाउनु पर्नेछ राम्रो घर
पूरा गर्नु पर्नेछ सहरको रहर
जाबो श्रीमतीको साडी किन्न नसक्ने जागिरबाट
सरर कुद्ने गाडीका के कुरा गर्नु!
मेरा यी तमाम सपना साकार पार्न
काम छैन लोक सेवा भन्दै किताबका ठेली घोकेर
काम छैन अब विश्वविद्यालयमा झोला बोकेर
यस्ता दुःखका काम रोक्नुपर्छ
त्यसैले अब राजनीतिको झोला बोक्नुपर्छ।