जेब्राक्रसमा केश लहराउँदै बाटो काट्ने फुकुओका गर्ल
यसरी जान्छे
जसरी मैले समुन्द्र छालमा छोएको पानीको थोपा
लुक्छ लहर भित्र।
समुन्द्र तटको बालुवामा लेखी छोडेको मेरो नाम
अर्को छालले नमेट्दै
फेरि चुमेर जान्छ कि मेरो पानीको थोपाले
या घुमिबस्छ चक्रवतमा।
रगतले मुटुको न्यानो बोकि हिँडेजस्तो
जोगाइबस्छ कि मेरो औँलाको स्पर्श
या चिस्साएर बादलले जस्तो अर्को थोपा
बेखबर छाडिदिन्छ भयकाय गहिराइमा।
मेरो स्पर्श, मेरो कल्पना
जेब्राक्रसको सेता धर्काहरूमा
कुरिरहेछन छातीमा फलामका गाडीहरू कुदाउँदै
मैले पछ्यौरीमा थुनिछाडेको माया
ओढिबसेकी मायालुलाई सम्झेर
म पानीको थोपामा कोरी बसेको छु
प्रेमको हाम्रो चित्र।
मेरो मनको स्पर्श बोकि हिँडेका पानीका थोपाहरू
कुन सागरमा हराइरहेका छन्?
म यसै यसै लहरहरूलाई छोई बस्छु
र कल्पन्छु नजानिँदो गरी
यी नै पानीको बथानमा लुकेर
बारबार मलाई भेट्न आउछ्यौँ।
मैले नचिनेकी फुकुओका गर्ल
तिम्रो प्रेमीले पनि तिमीलाई कुरी बसेको होला
समुन्द्र किनारमा
केलाउँदै छालहरूबाट पानीका थोपाहरू।
(नोटः फुकुओका जापानको एक सहर)