हामी दालभातकै लागि पनि
किन अरब जानुपर्छ?
के यो देशको सारा सम्पत्ति
पहुँच हुनेले मात्र खानुपर्छ?
गाउँ-सहरका लाखौँ अनुहार
हेर त कति निराश छ
मन घरकी श्रीमती बालबच्चामा
कठै! देहको विदेशमा बास छ
खाडीको तातो घाममा विचरा
त्यो नेपाली ढुंगा फोरिरहेको छ
बह बिसाउने गाउँको चौतारी बरू
ऊ फर्किने बाटो हेरिरहेको छ
कति परिवार टुटे कति बाकसमा फर्किए
जनताको दुख्ने मुटु कसले सुन्छ?
केही उपाय केही समाधान गर सरकार
भन्दै ऊ जीवनमा धेरैपटक रून्छ
आफ्नै देशमा राजनीतिक भिडमा
के अब जनता अटाउँदैनन् त?
यत्रो विकराल बेरोजगारीको समस्या
कुनै दलले पनि हटाउँदैनन् त?
हामी दालभातकै लागि पनि
किन अरब जानुपर्छ?
के यो देशको सारा सम्पत्ति
पहुँच हुनेले मात्र खानुपर्छ?