कविता
कहाँबाट प्रतिशोधको हुरी आयो
झारेर गयो सम्बन्धका फलहरू
ढाल्यो बलिया स्नेहका रूखहरू
ममताका पातहरूलाई रूवायो
विश्वासका जराहरू कमजोर बनायो
बलिया लहरा थिए समिपमा बसेका
सजिलै नटुट्ने गरी जोडिएका
टुटायो त्यो पनि छिन्न भिन्न गरायो।
मानवताको बगैंचामा स्वार्थका
भमराहरू डुल्न थालेपछि
धरातल बिर्सेर अचानक
मानवीयता हिंस्रक भयो
फूलभन्दा कोपिला मन पर्न थाल्यो
मालीहरू पनि हजारीको भन्दा
हजारको चिन्ता गर्न थाले
मुस्कुराउन पाएनन् कोपिला
फुल्न नपाउँदै निमुठ्न थालिए
सिंचित गर्नुपर्ने पवित्र जल थियो
अफसोच तेजाव हालियो
सुन्दर सपनाहरू कहिल्यै विपना
नबनेर मारिए, थिचिए घाँटीहरू
उड्न खोज्ने रहरका पखेंटाहरू
काटिए टुक्रा-टुक्रा पारेर
कहिले नउठ्ने गरी थला पर्यो
आशाका उज्याला मुनाहरू
र,
भरोसाका बलिया काधहरू ।।
इमानदारलाई कैद गरियो
घमण्डको जेलखानामा
ऐंठन पारियो अनुशासन
को हो सानो, को हो ठूलो
छुट्टाउन गाह्रो भयो
दया, सम्मान र माया
एकादेशको कथा भयो ।।।