पुतलीसडक घर भएका दिलबहादुर थापा ७५ वर्ष पुगेका छन्। उनकी पत्नी मन थापाको उमेर ७२। यी दम्पती अहिले सुगर, थाइराइड, युरिक एसिड र दमको रोगका कारण ज्यादै कमजोर देखिएका छन्।
महिनाको २०-३० हजारको औषधि नियमित रुपमा खानुपर्छ। १५-१५ दिनमा डाक्टरकहाँ जानुपर्छ। हातखुट्टा लगलगी कामेर लठ्ठीको सहारामा यताउती गर्छन्। घरमा बिहान-बेलुका पकाएर खुवाउने काम एकजना घरेलु कामदार राखेका छन्।
उनीहरूका तीन छोराहरू छन्। तीनै जना छोराहरू उमेरमा २-२ वर्ष फरकका छन्। अजय, अमर र अंगत तीन दाजुभाइ नै अध्ययनको सिलसिलामा विदेशिएका छन्। उनीहरू विदेशिएको पनि करिब १५ वर्षदेखि ३० वर्षभन्दा बढी भैसक्यो। उनीहरू सबैसँग उतैको ग्रीनकार्ड छ।
नेपाल फर्कने कुनै अतोपत्तो छैन। बुढा भैसकेका बा-आमा एउटा छोरा आएर हाम्रो हेरचाह गरोस् भन्ने आश गरेर बसेका छन्। तर उनीहरू आउने कुनै छाँटकाट देखिँदैन। घरमा एउटी ११/१२ वर्षकी काम गर्ने केटीको भरमा बसेका छन्।
बेलाबेलामा बुढ्यौलीले होला बिरामी परेको बेला अस्पताल र नर्सिङ होम जचाउन जाने मान्छेसमेत पाउँदैनन् दिलबहादुर दम्पतीले। तिनै घरेलु कामदारको भरमा जान्छन्। बिरामी पर्यौँ भनेर कहिलेकाहीँ छोराहरूलाई फोन गर्यो, उठाउँदैनन्। कस्तो माया ममताबाट हुर्कायौँ! विगत सम्झेर दुवैजना भक्कानिन्छन्। पिलपिल आँसु झार्छन्। एकले अर्काको पुछिदिन्छन्।
दिलबहादुर दम्पतीको जेठो छोरा अजय आजभन्दा ३० वर्ष अगाडि कम्प्युटर ईन्जिनियर अध्ययन गर्न अमेरिकी सरकारको छात्रवृत्ति पाएर विदेशिएका हुन्। अहिले अमेरिकामै अजयको आफ्नै गाडी घर छ। विदेशिएको पहिलो पटक १० वर्षपछि विवाह गर्न स्वदेश आएका थिए। त्यसपछि ४ वर्षपछि अजय दम्पतीले छोरा पाएर ६ महिना नाती स्याहार गर्न बा-आमालाई त्यतै अमेरिका बोलाएका थिए।
आमा-बाबु करिब एक वर्ष अमेरिका बसेर फर्केका हुन्। अजय ३० वर्षको अमेरिका बसाइका दौरानमा मुस्किलले ३/४ पटकभन्दा नेपाल आएका छैनन्। ऊ नेपाल आउन मन गर्दैन। बाबु दिलबहादुरले नेपाल आइजो भनेर बोलाउँदा पनि के-के बहाना पारेर आउनै मान्दैन।
अजयको जेठो छोरा अग्रज नै १८-१९ वर्षको भैसक्यो। ऊ एकपटक मात्र नेपाल आएको छ। ऊ भने नेपाल आउन असाध्यै मन गर्दो रहेछ तर बाबु अजय के-के बहाना बनाएर टार्न खोज्छ। अमेरिकाबाट नेपालमा हजुर-बा र नातीको भिडिओ कल हुँदा नाती अग्रज म नेपाल छिट्टै आउँछु भनेर हजुरबासँग कैयौँ पटक प्रमिस गरेको रहेछ।
छोरा नआए पनि नाती नेपाल आउने कुरामा दिलबहादुर विश्वस्त थिए। तर बाबु अजय विभिन्न बहाना बनाएर पठाउन खोज्दैनन्। अग्रज हजुरबा, हजुरआमा बुढा भए हामीले हेरचाह गर्नुपर्छ भन्दा अजय छोरालाई निकै हप्काउँछ। काकाहरूले हेरिहाल्छन् भनेर टार्न खोज्ने। तर अग्रज बाबुको कुरामा विश्वस्त हुँदैन।
माइलो छोरा अमर पनि त्रिचन्द्र कलेरमा आइएस्सी पढिसकेर उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया गएको २२ वर्षभन्दा बढी भैसक्यो। अमर राम्रो सर्जन डाक्टर छ। उसको नाम अष्ट्रेलियामा ज्यादै चलेको छ। उसले उतैको नागरिकसँग विवाह गरेको छ।
आवासीय सुविधासहित उसले अष्ट्रेलियामा सरकारी कार्यलयको उच्च तहमै रहेर नोकरी गर्छ। अमर मुस्किलले त्यही ४/५ पटक नेपाल आयो। पहिलो पटक श्रीमती र छोराछोरीलाई नेपाल घुमाउन ल्याएको थियो। उसकी श्रीमतीलाई नेपाल साह्रै मन परेको हुँदा बिदा भएको बेला श्रीमतीको जिद्दीले २-४ पटक थप नेपाल आएका हुन्।
दिलबहादुरका कान्छो छोरा अंगत आफ्ना दाजुहरूको विदेश यात्रा, बसाइ, सुविधा, स्रोत र साधनको मानवीय प्रयोगको सहजताले विदेश जान मनमनै हुटहुटी लागिसकेको थियो। कहिलेकाहीँ दाजुहरूको काम, आम्दानी, खानपिन, घुमफिर र ऐस आरामको नालीबेली सुनेर अंगतलाई पनि विदेशिन मन पहिल्यैदेखि लागेको थियो।
तर बाबु दिलबहादुर र आमा मन भने कान्छो छोरालाई कुनै हालतमा पनि विदेश पठाउने पक्षमा थिएनन्। तर उसलाई विदेश नपठाई धरै पाएनन्। कारण थियो ऊ स्कुल पढ्दादेखि नै लागुपदार्थको कुलतमा फस्यो। दुवै दाजुहरूले आवश्यकताभन्दा बढी खर्च पठाउने गर्थे। त्यही कारण ऊ १० कक्षा पढ्दापढ्दै कुलतमा लाग्यो।
बडो मुस्किलले एसएलसीसम्म पास गर्यो। कलेज पनि भर्ना भयो। ४ वर्ष लगाएर आइकम सम्मको पढाइ सक्यो। बाबु दिलबहादुरले कान्छो छोराको विवाहको कुरा चलाए। नजिकैको नाता पर्ने क्यानडा पढ्दै गरेको एकजना पिआर पाएकी केटीसँग विवाहको कुरा चल्यो। छोरा यहाँ बसेर झन् कुलतमा लागेर बिग्रनुभन्दा विवाह गरेर विदेशमै गए राम्रो भन्ने ठहर भयो।
छिट्टै विवाह गरेर अंगत आफू पनि विदेशिन पाउने भएर विवाह गर्न राजी भयो। विवाह भएको ६ महिनाभित्रै दुलही आरतीसँगै अंगत क्यानडा हानियो। बाबुआमाले सन्तोषको सास फेरे। कान्छो छोरा अंगत लागु पदार्थको कुलतबाट नराम्रोसँग गाँजिसकेको थियो।
अंगतको बानी-व्यवहारले दिलबहादुर दम्पती दिक्क भइसकेका थिए। २-४ पटक दुवै छोरा अजय र अमरलाई अंगतलाई पनि विदेश लैजान भनेकै हुन्। त्यती साह्रो वास्ता गरेजस्तो लागेन आमाबाबुलाई। त्यसै कारण विवाह गरेर विदेश पठाउन पाए हुन्थ्यो भन्ने सोचाइमा थिए दिलबहादुर दम्पती। नभन्दै ढुंगा खोजे देवता मिले झैँ भयो। पिआर पाएकी केटीसँग विवाह भयो। केही दिनको बसाइपछि कान्छा छोराबुहारी विदेशिए।
अंगत विदेश गएको पनि १५ वर्षभन्दा बढी भैसकेको छ। ऊ त क्यानडा गएदेखि एक पटक पनि नेपाल आएकै छैन। किन हो कुन्नी अंगत नेपाल आउनै मन गर्दैन। अंगतले डिपार्टमेन्ट स्टोरमा राम्रो काम पाएको छ। कमाइ राम्रै छ। विवाह गरेर क्यानडा गएपछि अंगतको आनीबानी निकै फेरिएको छ।
उसकी पत्नी सज्जा क्यानडाको प्रतिष्ठित अस्पतालमा स्टाफ नर्स छिन्। दुई केटाकेटी भैसकेका छन्। १० वर्षका छोरा र ७ वर्षकी छोरी। अंगतको साह्रै रमाइलो परिवार छ।
दिलबहादुर र पत्नी मनको शरीर दिनदिनै जीर्ण बन्दै गइरहेको थियो। उमेर बढ्दै जाँदा शरीरमा कुनै न कुनै रोगले गाँजिरहेको थियो। कहिले सुगर, कहिले प्रेसर, कहिले ज्वरो कहिले के, कहिले के। यस्तो बेला दुवैले विदेशमा भएका छोराहरूलाई झन् सम्झन्थे। बिरामी हुँदाकै अवस्थामा फोन गर्दा रिसिभ नहुँदा असिनपसिन हुन्थे।
उमेर ढल्केर होला दिलबहादुर दम्पती माया, साहराको अपेक्षा गर्थे। तर छोराहरूको व्यहोरा दिन प्रतिदिन फरक-फरक हुँदै गइरहेको आभाष भएको छ।
दिलबहादुर सरकारी सेवाको उपसचिव पदबाट रिटायर्ड भएको पनि १०-१२ वर्ष भैसकेको छ। नोकरीको सिलसिलामा उनी विभिन्न कार्यलयमा कार्यरत थिए। ३० वर्षभन्दा बढी सरकारी सेवा गरे। देशका विभिन्न ठाउँको भ्रमण गरे। २-४ पटक विदेश भ्रमण पनि गरे।
दिलबहादुरका धर्मपत्नी मन भने गृहणी थिइन्। धरधन्दा र केटाकेटीको हेरविचारमा नै उनले आफ्नो जीवन व्यतित भयो। काठमाडौँको रैथाने, खान-लाउन केही समस्या थिएन। छोराहरूलाई राम्रै विद्यालयमा पढाएका थिए। तीनै जना छोराहरू पढाइमा राम्रै थिए। परिवार निकै खुसी र सम्पन्न थियो। कुनै पनि दुःखको अनुभूति नै थिएन।
जमाना पनि कस्तो भयो! आफ्ना आमाबाबुको धन-सम्पत्ति खर्चेर स्वदेशमा लेखपढ गरेर स्वदेशमा नै कामकाज गरेर बस्नु पर्ने छोराछोरीहरू, आमाबाबुले खाई-नखाई २-४ पैसा जम्मा गरेर, भएका जग्गा जमिन बेचेर उच्च शिक्षा हासिल गर्न पठाएका छोराछोरीहरू बुढेसकालका सहारा ठानेका छोराछोरीहरू, आफ्नो बाबुआमाप्रति गर्नु पर्ने कर्तव्य चटक्कै बिर्सेर विदेशमै रमाउँछन्।
जन्म दिने बाबुआमालाई नै बिर्सन्छन्। सीप हासिल गरेर स्वदेश फर्कनु पर्ने छोराछोरीहरू हामी त यतै बस्ने हो भन्छन्। स्वदेश फर्कने बुढा भएका बाबुआमाको हेरचाह गर्ने कुरै गर्दैनन्। कति स्वार्थी भएका छन् यी पछिल्ला पुस्ता!
बाजे (बुढा) पुस्ता जीवनको उत्तरार्धतर्फ विदेशिएका छोराहरू राम्रो कमाइ गरुन्, पछि नेपाल फर्केर आफूहरूलाई हेरचाह गरुन् भन्ने सपना पालेर बसेका छन्। तर यो छोराहरूको पुस्ता विदेशमै रमाउन थालेका छन्। विदेशमा पाएको सुख सुविधा सम्झेर नेपाल फर्कनै चाहँदैनन्। छोराछोरीहरू अझै उच्च शिक्षा लिनुपर्छ भन्ने बहानामा, वा विदेशको आकर्षणले उनीहरू नेपाल फर्कनै चाहँदैनन्।
अझ घरमाकाम गर्ने मानिस खोजेर राख्न सुझाव दिन्छन्। फोनबाटै छोराहरू जति पैसा लागे पनि हामी यतैबाट पढाउँछौँ भन्छन्। बाआमाहरू पनि छोराको माया-ममता तिनै काम गर्ने मानिसहरूबाट पाइन्छ भनेर सोध्दा फोन काटिदिन्छन्। पैसा तिमीहरूले पठाउनु पर्दैन हामीसँगै प्रशस्त धन सम्पत्ति छ। तिमीहरू आओ न मात्र सँगै बसौँ भन्दा वास्ता नै गर्दैनन्।
तिम्रो हातबाट तातो-पानी खाएर हुरुक्क प्राण त्याग्न पाए हुन्थ्यो भन्छन्। बाआमाहरू छोराहरूको अतीत र वर्तमान व्यवहार सम्झँदै भक्कानिएर आँसु झारिरहन्छन्। छोराहरूको रुखो जवाफ र माया नपाएपछि।
यो बाजे पुस्ता बुढ्यौली उमेरका छोराहरूको हातबाट समयमा खाना, खाजा, एक कप दूध, औषधि, तातोपानी माया-ममता पाऊँ भन्छन्। समयमा अस्पताल आउन जान र औषधि खान पाऊँ भन्छन्। बुढेसकालमा सहारा नपाएर छोराको अनुहार सम्झँदै मर्नुभन्दा पहिले छोरा कतै ढोकामा टुप्लुक्क आइपुग्छ कि भन्दै दिनदिनै औँला भाँच्दै जीवनको अन्तिम दिन गनेर रोइरहेको छन्।
त्यो छोरा पुस्ता विदेशी भूमिमा गाडी बंगाला ऐस आराम, भौतिक खुसीमा रमाइरहेको छ। यो छोरा पुस्ता स्वदेश फर्केर आफ्ना बृद्ध बाआमालाई खुसी र सुखी राख्न नै चाहँदैनन्?