आत्माको पर्याय तिमी
भावनाको साक्षत रुप तिमी
पलपलको सम्झना तिमी अनि
मनको पुलकित झन्कार तिमी
हिमाल हौ तिमी
पहाड हौ तिमी
कलकल बग्ने नदी हौ तिमी
छङछङ झर्ने झर्ना हौ तिमी
उदाउँदो सूर्यको स्वर्णीम चमक हौ तिमी
रातकी रानी चन्द्र र ताराको
अनुपम बिम्ब होउ तिमी
समग्रतालाई समेट्ने सुन्दर हरियाली
वनपाखा अनि
त्यहाँ रम्ने पंक्षीको रुप हौ तिमी
तिमी आकाशबाट झर्यौ
वर्षातको कण बनी
म बलेनीमा हेरिरहेँ
छतबाट झरेको पानीको थोपा सम्झेर
तप तप खसेको पानीको थोपाले
माटोलाई भिजाएर जब त्यसको गन्ध नाकमा पुर्याीयो
त्यहाँ मैले तिम्रो स्पर्श पाएँ।
तिमी पहाडको शिखरमा गएर
अडियौ एउटा अद्वितिय चमक बनेर
त्यसलाई मैले सूर्यको पहिलो किरणले
सुन्दर हिमालको स्वर्णीम चमकलाई
अंगाल्दै बस्त्र धारण गराएको आभास गरेँ
त्यहाँ पनि तिमीले गर्ने एउटा
श्रृंगारिकताको
बिम्ब झल्केको पाएँ।
तिमी जमिनको भूगोललाई अंगालोमा
बेर्दै रम्न थाल्यौ
जहाँ मैले तिमीलाई कलकल बगिरहने
नदीको बहाबको रुपमा देखेँ
जसको किनारमा बसि मैले
त्यो बहाबको सुसाहटमा रमाउँदै
सुवासीन क्षणहरूलाई
भरपुर लुट्न पुगेँ
अन्नपूर्णलाई आफ्नो काखमा राख्ने
बेगनसको रुपमा देखेँ
आफ्नो पहिचानलाई उच्च राख्ने
सगरमाथाको चमकदार टलकको रुपमा देखेँ
हिमाल, पहाड र तराईको अनुपम
आत्मीयताको रुपमा देखेँ
अनि सबै जातजाती, भाषा, धर्म र संस्कृति
समेट्ने एउटा सिङ्गो समान
भूगोलको रुपमा देखेँ
यति मात्र कहाँ हो र? तिमीलाई त मैले
समग्र अस्मितालाई समेट्ने विशाल
सागरको रुपमा देखेँ।
मनको अट्टहासले कैद गरेको त्यो तिमी
आत्माको पर्याय बनेको त्यो तिमी
सार्थक ज्वलन्तताको उदाहरण
बनेको त्यो तिमी
यो जमिन, यो माटो, यो रुख
यो हिमाल, यो नदी, यो जङ्गल
यो तालसँगै यो समग्र सजीव अनि निर्जीव
सबैको एउटा बिम्ब बनेको तिमी
साँच्चै मनभित्र बसिसकेकी छौ
अटल बनेर, अमिट छाप बनेर
मलाई थाहा छ प्रिय
तिमी फेरि त्यो महासागरबाट उडी
वर्षातको स्वागतमा
बादलको कण बनी झुमिरहेकी छौ
मेरो समीपमा, मेरो घरको हरेक कुनामा
अझ भनौँ मेरो मनको आँचलमा
सधैँ यसरी नै घुमिरहनू
स्वागतको लागि म तम्सिरहनेछु
प्रतीक्षाको एउटा घडी बोकेर।
हो, म फेरि पनि प्रतीक्षारत छु
तिमीलाई बादलको कणको रुपमा देख्न
प्रकृतिको अनुपमताको रुपमा देख्न
इन्द्रेणी रंगको त्यो सजावटको
रुपमा देख्न अनि
यो भूगोलको, यो माटोको
एउटा न्यानो काखको रुपमा देख्न
हो, म प्रतिक्षारत छु
तिमीलाई छतको बलेसीबाट झरेको हेर्न
झर्दै गर्दा पानीको तपतप
थोपाले दिने त्यो आवाज सुन्न
अनि जमिनमा परेको त्यो थोपाले
माटो सँगको समाहितामा छर्दै गरेको
अनुपम गन्ध सुँघ्दै
पुलकित भावमा शरीरमाथि बर्साउन
अनि एउटा स्वर्णीम बिम्ब बनाई
मनमा बसाउन
अनि तनमा सजाउन
मनको मझेरी, तनको संघार।