'आज पनि माखा मारेर बसेछस् क्या हो?'
मोबाइलमा गेम खेलेर बसिरहेको मलाई उसले एक्कासी आएर सोधेको थियो। म उसको त्यो अप्रत्याशित आगमनले झसंग भएको थिएँ।
ऊ अर्थात् निर्दोष। ऊ मेरो अत्यन्तै मिल्ने साथी हो। अझ खुलाएर भन्नुपर्दा, ऊ मेरो प्लस-टु देखिको सहपाठी पनि हो। ऊसँगको मेरो पहिलो भेट कहिल्यै बिर्सन सक्दिनँ।
घटना खासै ठूलो त होइन, तर पनि मलाई त्यो दिन विशेष लाग्छ। हुन त जीवनमा घटित सबै घटनाहरू ठूला र सम्झन लायक हुँदैनन्। अनि सधैँ ठूला घटनाहरू मात्रै पनि त सम्झिँदैनन्। कहिलेकाहीँ स-साना घटनाहरु पनि जीवनको अन्त्यसम्म रहिरहने सम्झना बनेर बसिदिन्छन्। जस्तो कि ऊसँगको मेरो पहिलो भेट।
स्कुलमा टुटेफुटेको अङ्ग्रेजी बोल्न र लेख्न सक्ने भएकाले साथीहरु मेरो अङ्ग्रेजी राम्रो छ भनेर सधैँ उकेरा लाउने गर्थे। मलाई पढाउने शिक्षक-शिक्षिकाहरू पनि मलाई त्यसै भनेर हौसला दिने गर्थे। यिनै कारणहरू नै काफी थिए मलाई सबैले एसएलसीपछि अङ्ग्रेजी साहित्य पढ्नुपर्छ भनेर सुझाउनुमा।
म पनि लहलहैमा लागेर मानविकी संकायमा मेजर इङ्ग्लिस पढ्न भनेर कलेज भर्ना भएको थिएँ। तर एक महिनापछि अङ्ग्रेजी साहित्य मेरो रूचीको विषय होइन भन्ने लाग्न थाल्यो। त्यसरी एक महिना कथा, कविता र शब्दहरूसँग बिताएपछि अंकहरू र हिसाबसँग हात मिलाउन म फेरि व्यवस्थापन संकायतिर सरेको थिएँ।
सरूवा भएर गएको पहिलो दिन नै निर्दोषसँग मेरो भेट भएको थियो। म कक्षामा छिर्दा सर पढाउँदै हुनुहुन्थ्यो। सबै विद्यार्थीहरू ध्यानपूर्वक माछा कुरिरहेको बकुल्ला झैँ पढाइरहेका सरलाई एकोहोरो हेरिरहेका थिए। यसरी चलिरहेको कक्षाको बीचमा छिर्दा मलाई निकै अप्ठ्यारो महसुस भएको थियो। तर पनि बल्लतल्ल रातोपिरो भएर कक्षामा छिरेको थिएँ।
कक्षा लगभग भरिभराउ थियो। म झन् असहज महसुस गरिरहेको थिएँ। यस्तोमा उसले नै आफू कुनातिर सरेर मलाई बस्ने ठाँउ बनाइदिएको थियो। मलाई त्यो अप्ठ्यारो परिस्थितीबाट पार लगाउने ऊ नै थियो। त्यसपछिका दिनमा उसले मेरो जीवनमा आइपरेका कैयौँ अप्ठ्यारा परिस्थितीहरूमा साथ दिएको छ। हौसला दिएको छ। कति त सँगै पनि झेलेका छौँ। त्यसैले त त्यस दिनदेखि आजसम्म पनि हामी सँगै छौँ। उस्तै छौँ।
हामी दुवैले प्लस-टु, ब्याचलर र मास्टर्स पनि सँगै पढेका थियौँ। मास्टर्स सकिएलगत्तै म दुबई गएको थिएँ। ऊ पोखरा फर्केर एउटा एनजिओमा काम गर्न थालेको थियो। म दुई वर्ष दुबई बसेर आएपछि चश्मा पसल खोलेर बसेको थिएँ। ऊ अझै त्यही एनजिओमा काम गर्दै थियो।
'त्यही त यार, हेर्न मान्छे नै आउँदैनन् अनि माखा नमारेर के गर्नु? अनि तँ चाहिँ अफिसको बाइक लिएर कता भौतारिरा'छस् त?,' मैले सोधेको थिएँ।
'कता हुनु नि, अफिसकै कामले निस्केको थिएँ। तँलाई नभेटेको नि धेरै भ'को थियो। अनि तँलाई एउटा कुरा पनि देखाउनु थियो, त्यही भएर छिरेको नि।'
'के हो र त्यस्तो?,' मैले उत्सुक्तावश सोधेको थिएँ।
त्यसपछि उसले आफूले बोकिरहेको झोलाबाट कालो रंगको केही झिकेर शोकेसको सिसामा राख्दै भनेको थियो- 'ल ,यो हेर् त!'
'के ल्याइस् फेरि यो?,' त्यो कालो चश्माको बट्टाजस्तो जिनिस हातमा लिँदै मैले सोधेको थिएँ।
'खोलेर त हेर् पहिले,' उसले खुलाउन चाहेन।
मैले चेन लगाएको त्यो बट्टा खोलेँ। भित्र रे-वानको चश्मा थियो। चश्मालाई म ओल्टाइ-पोल्टाइ गरेर नियाल्दै थिएँ, उसले केही समयअघि मैले नै भनेको कुरा सम्झाउँदै भन्यो- 'तैँले नै भनेको होइनस्, ठूला कुरा गर्नेको चित्त निकै सानो हुन्छ!'
उसले भन्न खोजेको मैले केही बुझिरहेको थिइनँ। त्यसैले मैले सोधेको थिएँ- 'के भन्छ यो? कहाँ भेट्टा'र ल्याइस् यो?'
'कहाँ भेट्टाइस् रे? मुला, जर्मनबाट आउँदा हाकिमले फ्र्यांकफर्टबाट ल्याइदेको चश्मा हो यो! चानचुने सोचिस् क्या?' निकै आत्मविश्वासका साथ उसले भनेको थियो।
मैले चश्मा पसल खोलेको ६ महिना भैसकेको थियो। त्यसैले व्यापार उम्दा नभए पनि यो बीचमा म चश्मा र चश्माको गुणस्तर सजिलै चिन्न सक्ने भएको थिएँ। त्यो चश्मा पनि हातमा लिनासाथ चिनिहालेको थिएँ। तर उसको उत्साह र खुसीलाई पलभरमै नमेटिदिऊँ भन्ने लाग्यो। त्यसैले म चुप लागेको थिएँ। केही प्रतिक्रिया दिएको थिइनँ।
चश्मालाई देख्नासाथै मेरो मनमा आएको कुरा उसलाई भन्नुअघि म पनि आफू विश्वस्त हुन चाहन्थेँ। त्यसैले पनि फ्याट्ट केही भनिहाल्न सकिरहेको थिइनँ।
बरू उसैले जिस्क्याउँदै भन्यो, 'के हो, बोल्ती नै बन्द भयो त तेरो?'
'चिया पिउँछस्?' यसबारे आफू पक्का भएपछि मात्र कुरा गर्ने सोचेर मैले कुरा मोडिदिएँ।
'होइन यार! अफिसको कामले यस्सो निस्केको थिएँ, तँलाई यो चश्मा देखाऊँ, र तँ मेरो हाकिमबारे कति गलत छस् भनेर प्रमाणित पनि गरिदिऊँ भनेर मात्र यस्सो छिरेको थिएँ।'
उसको मुहारको चमक र उसको हाकिम प्रतिको विश्वास देख्दा मलाई निकै डर लागिरहेको थियो। यसै त मलाई भ्रममा परेर खुसी हुने मान्छेको खुसीदेखि निकै डर लाग्छ, ऊ त झन् मेरो नजिकको साथी थियो।
यत्तिकैमा निकै दुर्लभ ग्राहक पसलमा छिरे। उसलाई हतार थियो या ग्राहक आएपछि अल्मल्याइदिनु हुँदैन भन्ने लागेर हो, केही पनि नभनी शोकेसबाट हेल्मेट उठाएर टाउकोमा लगाउँदै ऊ पसलबाट निस्कियो। म पनि ग्राहकतिर लागेँ।
ग्राहक गएपछि उसलाई बेलुका कतै बसौँ भनेर म्यासेज गरेँ। उसले 'हुन्छ!' भनेर रिप्लाई गर्यो।
मैले हामी सधैँ गइरहने ताल छेउको रेस्टुरेन्ट है भनेर म्यासेज गरेँ। उसले बस् 'डन्' लेखेर पठायो।
म पसल बन्द गरेर ६ बजेतिर निस्किएँ। हाम्रो सधैँ बस्ने रेस्टुरेन्टमा गएर उसलाई कुर्न थालेँ। बेलुका ऊ ढिला आइपुग्यो। आएर म छेउको बेतको कुर्सी तानेर बस्यो। दिउँसो मलाई देखाउन ल्याएको चश्मा त्यतिबेला उसको सर्टमा कुनै टाई जसरी शानसँग झुन्डिएको थियो।
जाडो महिना थियो। शीत पर्न थालिसकेको थियो। ऊ आउँदा म अलकत्राको ड्रम काटेर बनाइएको भाँडोमा आगो ताप्दै थिएँ।
'शुक्रबार पनि ढिला गरिस् त?,' ऊ आएर बसेपछि सोधेँ।
'अँ यार, हेर्न, हाकिमको सानो काम सकेर आउँदा यसबेला भयो। घर पसेर कपडा फेर्न पनि भ्याएको होइन। त्यही भएर यसै आएँ।'
'भोलि बिदा छ के भयो र! बरू के खान्छस्? के मगाइदिऊँ?'
'तैँले के खाइस?'
'म त तँलाई कुर्दा-कुर्दा भोक लागेर दुई प्लेट म:म दाबेर बसेको। अनि यो बियर नि भर्खरै मात्र फोरेको थिएँ,' मेरो छेउमा राखेको बियर उचालेर देखाउँदै मैले भनेँ।
'म पनि म:म नै खानुपर्ला! तँ अरू केही खाने हो?,' ऊ अर्डर गर्न जाँदै गर्दा सोधेको थियो।
'एक प्लेट चिकेन चिल्ली र साँदेको बदाम पनि भन् न त।'
केहीबेरमा मुखसुख धोइवरी हातमा बियर बोकेर ऊ आइपुग्यो र अघि बसिरहेकै ठाँउमा बस्यो। त्यसपछि लामो सुस्केरा हाल्दै भन्यो- 'लास्ट थाकियो यार आज। जे होस् हाकिमले माया चाहिँ गर्छ के, बुझिस् केटा! त्यही भएर पनि उसले केही काम अह्राउँदा हुन्न, सक्दिनँ भन्नै आउँदैन, यार।'
म फेरि उसले कतिबेला कुरा कोट्याउँछ भनेरै बसिरहेको थिएँ। उसले सम्झाउने बित्तिकै मेरो ज्याकेटको खल्तीमा राखेको बिलको कपी झिकेर उसलाई दिएँ।
'के हो यो फेरि?,' उसले झर्केर सोध्यो।
'बिल,' मैले यतिमात्र भनेँ।
'आउन पाको छैन बिल?,' उसले निधार खुम्च्याएर सोध्यो।
'खोलेर त हेर्,' मैले विस्तारै भनेँ।
हामी बसेको ठाँउमा चार वटा बाँस गाडेर माथि खरले छाएको छानो थियो। छानोमुनि बाँसको कप्टेरोमा एउटा मधुरो बत्ती झुन्डिएको थियो। उसले कार्बनले छापेको अक्षर बुझेन। त्यसैले आगो बलेतिर झुकेर आँखा सानो बनाएर पढ्यो। तर पनि केही बुझेन। एकैछिन घोरिएपछि ऊ झर्कियो। भन्यो, 'मुला, यो त तेरो पसलको बिल हो! तेरो पसलको बिल मलाई किन देखाइराछस् बे?'
'फेरि एकपटक राम्रोसँग पढ् न,' मैले भनेँ।
'कस्तो मुला रै'छ! आफ्नो पसलको बिल ल्याएर मलाई पढ् भन्छ! झ्याप भइस् क्या?,' उसले कुरो बुझेको थिएन। बुझ्ने कुरा पनि थिएन।
म फेरि ऊ आफैंले थाहा पाओस् भन्ने सोचेर बसिरहेको थिएँ। म मुखै फोरेर भन्ने पक्षमा पनि थिइनँ। मैले धेरै पटक भनिसकेको छु, तर उसले मेरो कुरा पत्याउँदैन। कतिपटक हामीबीच यही कुरामा विवाद नै भैसकेको छ।
'बिलको सिरानमा लेखेको नाम पढिस्?,' मैले उसलाई सजिलो बनाइदिएँ।
उसले बल्ल नाम पढ्यो र छक्क परेर सोध्यो, 'मेरो हाकिमको नामको बिल पो छ त? के हो?'
'अब तेरो चश्माको फ्रेममा भएको मोडल नम्बर र त्यो बिलको नम्बर जुधाएर हेर् त,' मैले भनेँ।
उसले मेरो कुरा सुनेपछि ठूला आँखा पारेर सोध्यो, 'के भन्छ?'
'हेर् न हेर्!'
उसले सर्टमा झुन्ड्याएको चश्मा निकाल्यो र मैले भने झैँ गर्यो। मोडल नम्बर उसले मोबाइलको फ्लाश-लाइट बालेर पढ्यो। कति पटक रुजु गर्यो, त्यो त उही जानोस् तर ऊ केहीबेर घोरिएको थियो।
'यो कसरी हुन सक्छ!,' ऊ अझै पत्याउन तयार थिएन।
अब फलाम तातो थियो, मैले अब घन हानिनँ भने उसले उसको हाकिमको असली अनुहार थाहा पाउँदैन भन्ने सोचेर मैले भनेँ, 'हेर्, मेरो तेरो हाकिमसँग कुनै दुश्मनी छैन। हिजो मेरो पसलमा जम्मा तीन जना ग्राहक आएका थिए। यो चश्मा किन्ने तेरो हाकिम हो भन्ने मलाई थाहासम्म पनि थिएन। मैले सुरुमा दुई हजार भनेको चश्मा अन्तिममा १५०० मा बेचेको थिएँ। १५०० तिरे पनि बिलमा २००० लेख्न भनेको थियो, त्यसकारण पनि मलाई त्यो मान्छे याद छ।'
ऊ अझै बिलखबन्दमा परेको थियो। चश्मा र बिल आफू अगाडिको सानो टी-टेबलमा राख्दै भन्यो- 'मलाई त पत्यार नै लागिरहेको छैन यार! कसैको आँखामा हेरेर कसरी कोही झुट बोल्न सक्छन्? मेरो आँखामा हेरेरै फ्र्यांकफर्टबाट ल्याइदेको भनेको थियो यार!'
'कसैको झुट बोल्ने आदत हुन्छ। उनीहरू साँचोभन्दा झुटो बढी आत्मविश्वासका साथ बोल्न सक्छन्। उनीहरू झुट बोल्नमा पारंगत हुन्छन्। सायद तेरो हाकिम पनि तिनीहरू मध्येकै एक हुनुपर्छ।'
'बरु नल्याइदेको भए केही हुन्थेन, यार। यस्तो पनि गर्ने हो? छि: उताबाट ल्याउने मेसो मिलेन, यतै किनेको, भनेको भए पनि म खुसी नै हुन्थेँ। कस्तो घटिया मान्छे रहेछ, यार!'
'भैगो छाड्दे! मान्छे चिनिस् नि अब त?'
'कसरी छोड्नु! मैले के गरिनँ यार, त्यसको लागि! अफिसमा अफिसियलभन्दा उसको व्यक्तिगत काम बढी गर्नुपर्थ्यो। त्यती मात्रैले नपुगेर बुढाबुढी दुवैको थेसिस पनि मलाई नै लेख्न लगाएको थियो। अरूको सामु तारिफ गरेझैँ गरेर काम लगाएको पनि नबुझेको त कहाँ हो र! तर पनि एकपटक मुखै फोरेर कुनै दिन आफू जानुपर्ने कुनै टुरमा मलाई पठाइदिउँला भनेको भएर नै म सब सहेर बसेको थिएँ। आज आएर थाहा भयो, एउटा जाबो चश्मा त पन्ध्र सयमा किनेर फ्रयांकफर्टबाट ल्याइदेको भन्न भ्याउने मान्छेले मलाई आफू नगएर विदेश पठाउला भनेर मैले कसरी विश्वास गरेर बसेँ हुँला!'
'भैगो चित्त नदुखा! मैले त भनेकै हो नि, ठूलो कुरा गर्नेहरूको चित्त साह्रै सानो हुन्छ भनेर।'
उसको चित्त दुखेको थियो, त्यसैले ऊ त्यसै धुम्म परेर बसिरहेको थियो। यत्तिकैमा उसको फोन बज्यो। गोजीबाट फोन झिकेर हेर्यो र फोन उल्टो बनाएर आफू अगाडिको टी-टेबलमा राखिदियो र आगोतिर हेरेर टोलायो।
'कस्को फोन हो?'
उसले फोन पल्टाएर मलाई देखाइदियो। उसको हाकिमको फोन रहेछ।
'के काम अह्राउनु पर्यो अनि सम्झियो नि मुलाले,' उसले रिसाएर भन्यो।
उसले फोन नउठाएको केहीबेरमा फेरि मोबाइलमा म्यासेजको टोन बज्यो। उसले म्यासेज पहिले आफूले पढ्यो र मलाई देखायो। म्यासेज पनि हाकिमकै थियो। लेखेको थियो- ' के छ आजको प्लान, निर्दोष सर? फोन पनि उठाउनु भएन? के गर्दै हुनुहुन्छ?'
मलाई देखाएपछि मोबाइल टी-टेबलमा राख्यो। एकछिन घोरिएपछि उसले फेरि मोबाइल टिप्यो, रिप्लाई दिन केही टाइप गर्यो, र पठायो पनि।
'के लेखिस्?,' उत्सुकतावश मैले सोधेँ।
उसले फेरि मोबाइलको स्क्रीन म भएतिर तेर्स्याइदियो। लेखेको थियो- 'के गर्नु सर, पोखराको फ्र्यांकफर्ट चोकमा किनेको चश्माबाट संसार हेर्दै मान्छे चिन्ने कोसिस गरिरहेछु।'
म्यासेज पुग्यो। उता म्यासेज हेरियो भन्ने पनि थाहा भयो, तर कुनै जवाफ आएन।
धेरैपछि फेरि म्यासेजको टोन बज्यो। लेखेको थियो, 'मैले त कुरो बुझिनँ नि! झ्याप हुनुहुन्छ जस्तो छ? भोलि फ्रेसमा कुरा गरौँला है त? गूड नाइट!'
'मुला, बुझेर नि बुझ पचाउँछ! अझ् झ्याप हुनुहुन्छ जस्तो छ रे!' उसले कसैको नक्कल उतार्दै भनेको थियो। सायद उसैको हाकिमको नक्कल उतारेको हुनुपर्छ। मैले अड्कल काटेँ।
चश्माको असली कथा थाहा पाएपछि उसले बियर घट्घटी पिउन थालेको थियो। थोरै खाएपनि मातिने मान्छे थियो ऊ। कुरैकुराको बीचमा अर्डर गरेको सितन पनि आइसकेको थियो। सितन ल्याउने बेला उसले आफ्नो मालिकको असलियत थाहा पाइसकेको थियो, त्यसैले उसले बियरको संख्या पनि बढाइसकेको थियो।
म आगोमा दाउरा मिलाउँदै थिएँ। ऊ एक हातमा बियर र अर्को हातमा चश्मा खेलाइरहेको थियो। यत्तिकैमा उसले छेउमा राखेको झोलाबाट दिउँसो मलाई देखाएको चश्माको बट्टा निकाल्यो। चश्मा बट्टाभित्र हाल्यो। चेन लगायो। एकछिन फेरि ओल्टाइपोल्टाइ गरेर हेर्यो र हेर्दाहेर्दै 'साला फ्र्यांकर्टको चश्मा! हुँ..!' भनेर बट्टा सहितको चश्मा बलिरहेको आगोमा हुर्याइदियो। निमेषभरमै चश्मा परेको ठाँउको आगो अलिकति दन्कियो। त्यो दन्किएको आगोको चमक उसको अनुहारमा पर्दा ऊ मुसुक्क मुस्कुराइरहेको थियो।
'मान्छे भ्रममा बाँच्दा जति खुसी हुन्छ, त्योभन्दा बढी खुसी ऊ भ्रममुक्त हुँदा हुन्छ,' त्यतिबेला उसको अनुहारको भावले यही प्रतीत गरिरहेको थियो।