मेरो मायाले तिमीलाई सताउँछ भने
मदेखि तिमी लुक्ने गर
मेरो मायाले तिमीलाई लखेट्छ भने
मदेखि तिमी भाग्ने गर
मेरो मायाले तिमीलाई बिझाउँछ भने
अरुकै कलेजीमा फूल बरु
मेरो मायाले तिमीलाई रुझाउँछ भने
अरुकै आकाशमुनि ओत परु
नाउ तिम्रो मेरो सागरमा डुबेछ भने
किनारा तिमी अरुकै लेऊ
तस्वीरले मेरो तिमीलाई गिज्याउँछ भने
सिसाको दिवार फुटालिदेऊ
मेरो नजरमा तिमी नाँगिएछौ भने
बादलको आँचलले कायालाई छोप
मेरो अधरमा तिमी असुर भेटछौ भने
देवगणहरुको थलो छातीमा रोप
मेरो माया बरफ झैँ चिसो भए
अरुबाटै तिमी आगो ताप
पत्थरको माया जडित मसित
मायाको कहिले भिक नमाग
मेरा प्रेमपत्रहरुमा तिमी असुरक्षित छौ भने
निर्धक्क भई आगोमा फाल
मेरो जीवन तिमीलाई रुखो लाग्छ भने
नयाँ प्रेमीसित नूतन घर बसाल
मेरा पयरहरुले तिमीलाई लखेट्छ भने
तिमी भिडहरुको समुदायमा हराउने गर
विपनाले धोका दिए नि के नै भयो
सपनीमा कैले मलाई चियाउने गर
मेरो माया तिमीलाई बिझाउने भए
आँखाबाट सदालाई बढारिदेऊ
अँध्यारोमा कहिले एक्ली भए बखत
मेरो नाउँमा एक चिता जलाइदेऊ
पछयौरीमा कहिले दोष अल्झे
मेरो प्रीतको गंगामा धुने गर
दुःखमै पहिले दिन ढले
बटुली हाँसो, आँसु थाम्ने गर
सम्झनामा पछि अश्रुवर्षात् भए
ओठमा हाँसो साँच्ने गर
हाम्रो संसार र टुङ्गो बेग्लै भए
बिर्सी अतीत बाँच्ने गर
तिम्रो खुसीको बाधक मेरो यो तन भए
नश्वर शरीरको यहीँ म माया मार्छु
तिमी हिँडने बाटाभरि बसन्त छाऊन्
भगवानसँग प्यार यही म माग्छु।