मित्रता एक विचार भएछ
यसलाई व्यक्तिसँग नजोडौं
आज छ, भोलि छैन,
विचार बदली रहन्छ
समय सापेक्ष भई
परिस्थिति पनि बदली रहन्छ
एक आपसमा जुट्ने, फुट्ने
विचारको नै उपज भएछ
यसको आकारमा हैन
यसको प्रकारमा ध्यान दिनुपर्छ
मानिसहरू बिचको कटु अनुभवले,
मित्रतारुपी सुविचारमा तिक्तता नभरौं
विगतमा मनका मित भन्ने गर्थे
मनको शान्ति दिन्छ भन्थे
त्यो कुरा अब हराउने पो हो कि?
पहिले एकका पाँच मित्र
अब मात्र एक
हेर्दाहेर्दै शब्दकोषमा नै
मित्रताको मतलब बदलिएछ
मनको चोखो भावलाई
त्यतिकै उड्न नदेऊ
सुविचार र सतसंग नै
मानव व्यक्तित्वका हुन् मानक
मित्रता त्यहीँ अनमोल निधि हो
बुढेसकालसम्म खर्च गर्ने
मन शान्तिको बुटि हो
मित्रताको चोखो सम्बन्ध
विचारले बाँध्ने त्यो डोरी
कहिले चुड्न नदेऊ
आफ्नो निहित स्वार्थमा
वर्षौको सम्बन्ध त्यतिकै लड्न नदेऊ ।