सन्त नेता कृष्णप्रसाद भट्टराईको आत्मकथा ‘मेरो म’ मा निष्ठाको राजनीति, समावेशी नेपालको सपना र संघर्षका कथा झल्किएको छ। किसुनजीको जीवनलाई बुझ्ने आँखीझ्याल बनेको छ उनको पुस्तक।
धेरै पुस्तकहरू अध्ययन गरिन्छ तर सबै पुस्तकले मन कहाँ छुन्छ र! मैले सन्त नेता कृष्णप्रसाद भट्टराईको आत्मकथा ‘मेरो म’ पढिरहँदा मनमा भावनाका छालहरू तरंगित भइरहे। जीवन वास्तवमा आँखाले देखेर मस्तिष्कले तय गरेर बनेका श्रव्यदृश्य नै संसार हो भन्ने लाग्छ हामीलाई।
वास्तविक कुरा–मस्तिष्कले गर्ने निर्देशन र मनले गर्ने ब्यवहारले नै जीवनको कठिन यात्रा पनि सहज र सामाजिक बन्न जान्छ र जीवनको मुख्य पाटो मध्ये एउटा पाटो प्रतिबद्धता पनि हो। प्रतिबद्धता बिना जीवन एउटा भरिया मात्र बन्छ। मानिसले विज्ञान र प्रबिधिसँग रमाएर कृत्रिम खुसीमा गर्व गर्न थालेको अनुभूत गर्छु म। पहिले जस्तो प्राकृतिक खुसी हराउँदै गए झै लाग्छ मलाई।
‘मेरो म’ लाई पाठकीय दृष्टिले हेर्दा सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिबद्धताका प्रतिमूर्ति हुन् भन्ने प्रस्ट हुन्छ।
विद्यार्थीकालमा राजनीतिक जिम्मेवारी बोकेका भट्टराईले आफ्ना अनुभवमा रचना र सृजनाले समाजमा ल्याउने तरंग र परिवर्तन उल्लेख गर्दै भनेका छन्, ‘दार्जिलिङ अंग्रेजी सरकारी स्कुलका दुई प्रतिष्ठित अध्यापक धरणीधर शर्मा र सूर्यबिक्रम ज्ञवालीको समस्त नेपालभित्र वा बाहिरका नेपालीमा राजनीतिक चेतना जगाउनमा महत्वपूर्ण योगदान रहेको छ। धरणीधर शर्मा कोइराला उपाध्याय ब्राह्मण थिए र यिनको ‘नैवेद्य’ नामक कविताको एक पुस्तकले दोस्रो महायुद्धपछिको हाम्रो पुस्ताको पचास वर्षको कालखण्डको पूर्वार्धको सम्पूर्ण आधा शताब्दीमा नेपालीहरूमा राजनीतिक र सामाजिक चेतना जगाउन प्रशंसनीय काम गरेको थियो।’
एउटा लेखकले के लेख्छ र त्यो लेख समाजसम्म पुगेर पोखिँदा त्यसले कति महत्व राख्छ भन्ने कुराको दृष्टान्त हो ‘नैवेद्य’ को उल्लेख पनि ।
किसुनजीले पटकपटक जेल जीवन बिताए। एक पटक दस वर्ष जेल जीवन बिताउँदाका घटना उनले उल्लेख गरेका छन्, ‘मानिसहरू जे देख्छन् दैनिकी जस्तो भोग्छन् त्यो नै सत्य ठान्न बाध्य हुँदा रहेछन्।’
उनले भनेका छन्-कति कैदीहरू त आफ्नो नाम ठेगाना र बाहिरी संसार नै बिर्संदा रहेछन्। जेलमा कैदीहरूलाई नम्बरले बोलाउने चलन हुन्छ उनीहरू आफ्नो नाम नै त्यही नम्बर भन्ठान्छन्। कतिले त १५/१६ वर्षको जेल जीवनमा त्यहीँ भित्र नै इष्ट मित्र नाताहरू गाँसिसकेका हुन्छन्। बाहिरका सबै बिराना भैसक्छन्।
यहाँनेर एउटा कथा उल्लेख गर्न मन लाग्यो। दर्शनशास्त्रको प्रख्यात कथा पनि हो यो। ‘एउटा ठूलो गुफा थियो। त्यो गुफा भित्र हल्का मधुरो उज्यालोमा बन्दीहरूलाई बाँधेर राखिएको हुन्छ। त्यस गुफामा बन्दीहरूलाई हलचल गर्न नमिल्ने गरि लहरै बांँधेर उनहिरूको पछाडीबाट हल्का ज्वाला लिएर पालेहरू हिँड्थे र उनीहरूले विभिन्न आवाज निकालेर सुनाउँथे। ती बन्दीहरूले बाहिरी संसार कस्तो हुन्छ देखेकै थिएनन्। त्यसैले उनीहरूले त्यो मधुरो उज्यालोमा देखेका प्रतिबिम्ब र सुनेका विभिन्न आवाज नै संसार हो। समाज हो भन्ने सोच्थे। एकपटक ती मध्येको एउटा कैदी भाग्न सफल भयो र बाहिरको संसार देख्यो। ऊ फेरि फर्किएर अरू कैदी भए ठाउँ आएर बाहिरको संसारबारे बताउन थाल्यो। तर त्यहाँ भएका कैदीहरूले बाहिरी संसार देखेका थिएनन् र पत्याउन नसकी बाहिरी संसार देखेर आएको कैदीलाई कुट्न थालेछन्।’
माथिको कथाले भन्छ कि, हामी जे देखिरहेका छौँ र जस्तो भोगिरहेका छौं त्यसैलाई सत्य मान्छौं। जस्तो कि कैदी बन्दीहरूले जेलमा आफ्नो नाम पनि नम्बरबाट बोलाउने कुरा नै उनीहरूलाई सत्य लाग्न थाल्छ। बिस्तारै बिस्तारै उनीहरूले बाहिरी संसार बिर्संदै गएका हुन्छन्।
वास्तवमा जीवन जे भोगिन्छ त्यही नै सत्य लागे पनि कहिलेकाहिँ भ्रमपूर्ण रहन्छ। त्यो भ्रमबाट बाहिर निस्कन सक्नुपर्छ। धेरै कुराहरू अध्ययन र ज्ञानको खोजीबाट प्राप्त हुन्छ, त्यसलाई पहिल्याउन जरुरी छ।
राजनीति र आस्था सबैको आ–आफ्नै हुन्छन्। राजनीति गरेर समाजका लागि कति योग्य काम गर्न सकियो भनेर आफूले आफैंलाई फर्केर हेर्न सक्नुपर्छ। किसुनजीले आफ्नो सम्पूर्ण जीवन मोह रहित राजनीतिमा बिताए। उनको आस्था र विचार उनको आफ्नै ठाउँमा छ त्यसमा सबै लाग्नुपर्छ भन्ने होइन, ‘मेरो म’ पढेपछि लाग्यो उनको योगदानको सही र न्यायपूर्ण मूल्यांकन हुनै बाँकी छ।
किसुनजी भन्छन्- २०४६ सालमा जेल जीवनबाट फर्कंदा मेरो उमेर ६५ वर्षको भैसकेको थियो। ९० वर्षकी मेरी ठूलीआमाले विवाह गर भन्न छोड्नु भएको थियो। उसो त ब्राह्मणमा उमेर पुगेकी महिला पनि अविवाहित थिए उनीहरूले योग्य वर नपाएर अर्थात योग्यको अर्थ ‘खान लाउन घर जागिर भएको’ केटो चाहन्थे। मेरो आफ्नो नामको घर नभए पनि एमपीको ३०/३५ हजार तलब थियो तर वास्तविक कुरा म स्वतन्त्र जीवन विताउन चाहन्थेँ त्यसैले पनि विवाह बन्धनमा पर्न चाहिनँ। त्यसपछि त मलाई विवाह गर भन्न नै छोड्नुभयो।
स्पष्टवादी कृष्णप्रसाद भट्टराईको ‘मेरो म’ छपाईको लागि कसैले लगेको र लामो समयसम्म पनि प्रकाशित नभए पछि हराएको जवाफ आएको कुरा युवराज घिमिरेले उल्लेख गर्नु भएको छ। यस्ता खेँलाचीले कहिलेकाही मुलुक नै अप्ठ्यारोमा पर्ने स्थिति आउन सक्छ यो गम्भीर कुरा हो। यदि त्यो पान्डुलिपीबाट नै यो पुस्तक तयार हुन सकेको भए निक्कै गहकिलो पुस्तक पाठकहरूले ग्रहण गर्न पाउने थिए। पछि खोजखन्तर गरेर भए पनि कृष्ण प्रसाद भट्टराईको जीवनकथा पाठकसामू पुर्याएर हामी पाठकहरूले सादगी नेताका बारेमा अध्ययन गर्न पायौं यो राम्रो पक्ष हो।
एक ठाउँ कृष्ण प्रसाद भट्टराईले भनेका छन्, ‘हामी ब्राह्मण जाति जजमानी गरेर पेट पाल्नुपर्ने एकाबिहानै एक महिला जाडोले थरथर काप्दै हाम्रो घर आइपुगिन् र भन्न लागिन् पूजा लगाएर मेरो व्रत टुङ्याईदिनुपर्यो अनि बल्ल म अन्न ग्रहण गर्छु। म खासै जान्दिन्थें तै पनि मैले पूजा लगाएर केही पैसा कमाएँ यो ईश्वरकृपा हो।’
थप उनी भन्छन्, ‘विसं २००७ को क्रान्तिभन्दा ठीक पहिले वीरगन्जका बडाहाकिम सोमशमशेर राणाले कलैयाबाट उनी हुन् भन्ने भ्रममा दाइ वटुकप्रसाद उपाध्यायलाई गिरफ्तार गर्नेले दिदीसँग भनेका थिए- 'बज्यै! भाइलाई प्रधानमन्त्री बनाउँछु भन्ने ठान्नुभएको थियो होला, मैले पो बिथोलिदिएँ कि!'
यसलाई पनि उनले ईश्वर कृपा दाबी गर्दै भनेका छन्, ‘ईश्वरले नै सोमशमशेरका मुखबाट म प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका हुन्।'
किसुनजीको आत्मकथामा यस्ता धेरै सन्दर्भहरू छन् जसले तत्कालीन समय, राजनीति र उनको जीवनदर्शन झल्काउँछ। किसुनजीलाई मैले जीवनमा प्रत्यक्ष भेट हुने अवसर पाएकी त थिइनँ। उनको आत्मकथा ‘मेरो म’ बाट धेरै कुरा पर्गेल्ने अवसर पाएँ।
लेखक कृष्ण प्रसाद भट्टराई र किसुनजीको आत्मकथालाई पुस्तकमा ढाल्ने पत्रकार युवराज घिमिरेसहित प्रकाशक ‘सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान’ लाई पनि धन्यवाद।
‘मेरो म’ मा कमि कमजोरी नभएका होइनन् तर पनि समग्रमा पाठक हृदयमा घर गर्न सफल पुस्तक हो।